17th October | 2018 | Wednesday | 5:59:32 PM

प्रणय दिवसमा पनि भारतकै भर

लेखनाथ पोखरेल   POSTED ON : Sunday, 11 February, 2018 (3:18:30 PM)

प्रणय दिवसमा पनि भारतकै भर

 एक करोडको गुलाफ आयात

काठमाडौं । दैनिक उपभोग्य वस्तु तरकारी, फलफूल र खाद्यन्नमात्रै नभइ गुलाफमा समेत नेपाल भारतसँगै परनिर्भर रहँदै आएको छ । प्रेम साटासाटको माध्यमका रूपमा प्रयोग हुँदै आएको रातो गुलाफको प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मा अत्याधिक माग हुने गरेको छ । 

मागअनुसार नेपालमा रातो गुलाफको उत्पादन हुन नसकेकाले अधिकांश गुलाफ भारतबाटै आयात हुने गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार भ्यालेन्टाइनलाई लक्षित गरेर एक करोड रुपैयाँबराबरको गुलाफ भारतबाट आयात हुनेछ । फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस वर्ष भ्यालेन्टाइनका लागि आवश्यक करिब २ लाख २० हजार गुलाफ स्टिकमध्ये १ लाख ७० हजार स्टिक भारतबाट आयात हुने जानकारी दिए । 

भ्यालेन्टाइनका लागि गुलाफको आयात सुरु भइसकेको र फेबु्रअरी १३ सम्ममा भारतबाट आवश्यक सबै गुलाफ भित्रिसक्ने कसजु श्रेष्ठले बताएका छन् । उनका अनुसार गत वर्षभन्दा यस वर्ष भ्यालेन्टाइनका लागि गुलाफकोे माग १६ प्रतिशतले बढेको छ । गत १ लाख ९० हजार स्टिक गुलाफको कारोबार भएको थियो । फ्यानका पूर्वअध्यक्ष लोकनाथ गैरेका अनुसार भ्यालेन्टाइनमा यस वर्ष प्रतिस्टिक गुलाफ ७० देखि एक सय रुपैयाँसम्ममा उपलब्ध हुनेछ । आयातित गुलाफको उपभोक्ता मूल्य गत वर्ष पनि सोही हाराहारीमा रहेको थियो । त्यसोत भ्यालेन्टाइनवाहेकको समयमा गुलाफको बजार आन्तरिक उत्पादनले नै धान्ने गरेको छ । 

फ्यानका अनुसार सामान्य दिनमा दैनिक ५ देखि ७ हजार स्टिक गुलाफको माग हुने गरेकोले स्वदेशी उत्पादनले नै धान्ने गरेको हो । भ्यालेन्टाइन डे जाडोको समयमा भएकाले चिसोका कारण नेपालमा गुलाफ उत्पादन घट्ने फ्यानका अध्यक्ष श्रेष्ठले बताए । सो अवधिमा उत्पादन घटेर १५ प्रतिशत झर्ने उनले बताए । त्यसो त अन्य समयमा पनि नेपालका ग्रीनहाउसले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । 

नेपालमा कुलिङ प्रविधिका मात्रै ग्रीन हाउस सञ्चालनमा रहेकोले उत्पादन बढ्न नसकेको हो । हिटिङ प्रविधियुक्त ग्रीनहाउसका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले हिटिङ प्रविधिका ग्रीनहाउस सञ्चालन गर्न समस्या रहेको पूर्वअध्यक्ष गैरेको भनाइ छ । उत्पादन बढाउन सके गुलाफको बजारको समस्या नहुने उनले बताएका छन् । उत्पादित गुलाफ आन्तरिक बजारमा खपत हुन नसके पनि विदेशमा राम्रो बजार रहेको छ । 

केही वर्षअघि एभरेष्ट फलोरिकल्चरले गुलाफ जापानमा निर्यात गर्दै आएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण उक्त कम्पनी बन्द भएको थियो ।

फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठ भने गुलाफमा आत्मनिर्भरका लागि प्रयास भइरहेको बताएका छन् । त्यसलाई मध्यनजर गर्दै उन्न बिउ आयात, हाइटेक ग्रीनहाउस विस्तारको क्रममा रहेको उनले बताए । हाल ५ हजार हेक्टरमा गुलाफको खेती हुँदै आएकोमा चालु आर्थिक वर्ष थप २ हजार हेक्टरमा विस्तार गर्ने लक्ष्य रहेको श्रेष्ठले बताएका छन् । आगामी ५ देखि ७ वर्षभित्रमा गुलाफमा आत्मनिर्भर हुने लक्ष्यका साथ सरकारसँगको सहकार्यमा फ्यानले गुलाफखेती विस्तारमा जोड दिँदै आएको श्रेष्ठले बताए । 

व्यवसायीका अनुसार छिमेकी मुलुक भारतले पुष्प व्यवसायको प्रवद्र्धनका लागि पर्याप्त अनुदानको व्यवस्था गरेकाले नेपालको उत्पादनले भारतीय उत्पादनसँग मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन । तथापी आन्तरिक र अन्तर्राष्ट्रिय बजारमा पनि फूलको माग बढ्दै गएकाले व्यवसायीले पनि यसमा लगानी बढाउँदै लगेका छन् । 

भ्यालेन्टाइन डे को सुरुवात

प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुवरीका दिन मनाइने गरिन्छ । यस दिनलाई युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिनका रूपमा आफूले मनपराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने गर्दछन् । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट सुरु भएको ‘भ्यालेन्टाइन डे’ ले नेपालमा पनि व्यापकता पाउँदै गएको छ । यो पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन भने सम्राटको निर्णयलाई धर्मविरुद्ध भन्थे । उनले सम्राटको उर्दीविपरीत लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । 

एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्म पुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा हालियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनुअघि उनले लभ फ्रम योर भ्यालेन्टाइन भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई इसा पूर्व २७० को फब्रुवरी १४ दिन झुण्ड्याइयो । उनलाई मृत्युदण्ड दिएको दिनलाई नै भ्यालेन्टाइन्स डे रूपमा मनाउन थालिएको हो ।

भ्यालेन्टाइन डे को दिन विश्वमा झण्डै २ लाख २० हजार जना मानिसले आफनो पार्टनरलाई बिहेको प्रस्ताव गर्ने गरेको बताइन्छ । त्यस्तै १ अब कार्ड आदानप्रदान हुने गरेको छ ।


Views: 8