16th December | 2018 | Sunday | 6:11:39 PM

युएई जाने कामदारलाई प्रहरी रिर्पोटका नाममा आर्थिक भार

रमेश भारती   POSTED ON : Monday, 12 February, 2018 (3:41:44 PM)

युएई जाने कामदारलाई प्रहरी रिर्पोटका नाममा आर्थिक भार

काठमाडौं । वैदेशिक रोजगारीमा युएई जाने कामदारलाई प्रहरी रिर्पोटका नाममा आर्थिक भार थपिएको छ । युएई जाने नेपाली कामदारले नयाँ नियम लागू भएपछि प्रहरी रिपोर्ट बनाउँदा ४३ सय रुपैयाँ (युएईको २ सय दिराम) तिर्नुपर्छ । 

रोजगारीको खोजीमा युएई जाने आप्रवासी कामदारलाई युएई सरकारले गत फेब्रुवरी ४ गतदेखि अनिवार्य चारित्रिक प्रहरी रिर्पोट बनाउनुुपर्ने नियम लागू गरेको छ । दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि युएई सरकारको नयाँ निर्णय भन्दै रोजगारीका लागि युएई जाने नेपाली कामदारले आफ्नो देशको प्रचलनअनुसारको (प्रहरी रिर्पोट) प्रमाणीकरण गरेरमात्र रोजगारीमा आउन आग्रह गरेको छ । 

यो नयाँ नियम दुबईमा कार्यरत नेपाली कामदार र नेपालबाट कामको खोजीमा त्यहाँ जाने नयाँ कामदारको हकमा लागू हुने दूतावासले सूचनामार्फत जानकारी गराएको छ । युएईको कानुन मन्त्रालयले आप्रवासी कामदारलाई अनिवार्य चारित्रिक प्रहरी रिर्पोटको नयाँ नियम फेब्रुवरी ४ देखि लागू गरिने विषयमा सम्बन्धित देशका कूटनीतिक नियोगमा पत्राचार गरेको थियो । युएईमा लागू भएको नयाँ नियमका विषयमा दूतवासले परराष्ट्र मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयमा जानकारी गराएको दूतावासले जनाएको छ । 

युएई सरकारको पछिल्लो नयाँ नियम लागू भएपछि नेपाली कामदारले प्रहरी रिपोर्टका लागि त्यहाँ जानुअघि पुलिस रिर्पोट बनाउँदा थप २ सय दिराम अनिवार्यरूपमा बुझाउनुुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद घन्तानाले बताए ।

पछिल्लो समय खाडीका मुुलुकले नयाँ नियम लागू गर्ने वाहानामा विदेशी कामदारलाई आर्थिक भार थप्ने काम गरिरहेको उनको भनाइ छ । यस विषयमा सरकारले रोजगारदाता मुलुकको सम्बन्धित निकायसँग तत्काल छलफल चलाउनुपर्ने उनी बताउँछन् । 

दुबईको नयाँ नियममा रोजगारका लागि युएई जाने आप्रवासी कामदारले पाँच वर्षभन्दा बढी समयदेखि जुन देशमा काम गरिरहेका छन्, त्यही देशको प्रहरी रिर्पोट बनाउनुपर्छ । जसको प्रमाणीकरण भने कामदार लिने र आपूर्ति गर्ने देशको कूटनीतिक नियोगबाट गरिने नयाँ नियममा छ । 

दूतावासले जारी गरेको सूचनामा रिपोर्ट बनाउँदा शुल्कको उल्लेख छैन तर रिर्पोटबापत प्रत्येक कामदारको ४ हजार ३ सय रुपैयाँ खर्च हुने व्यवसायीले बताएका छन् । युएईको नयाँ निर्णयले नयाँ रोजगारीका लागि दुबई जाने मासिक ५ हजारभन्दा बढी कामदारलाई झन्झटिलो बनाएको व्यवसायीको भनाइ छ । 

युएईमा कार्यरत ५ लाखभन्दा बढी नेपाली कामदार पनि नयाँ नियमबाट प्रभावित हुने प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्ता लिम्बूले बताएका छन् । पछिल्लो समय युएई नेपाली कामदारको तेस्रो गन्तव्य देशभित्र परेको छ । प्रहरी रिर्पोट प्रमाणपत्र प्रमाणित गर्ने कन्सुलकर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित युएईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायमासमेत पेश गर्नुपर्छ । 

रिपोर्ट बनाउन कामदारले नक्सालस्थित प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको चालचलन शाखामा सम्बन्धित काजजातसहित आवेदन दिनुपर्छ । 

मन्त्रालयसँग छलफल भएको छैन 

रोजगारदाता देशको कूटनीतिक नियोगले युएइको नयाँ नियम लागू हुने विषयमा नेपाल सरकारका सम्बन्धित प्रतिनिधिसँग कुनै छलफल नभएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । रोजगारीमा युएई जाने कामदारलाई प्रहरी रिर्पोटको नयाँ नियम लागू गर्ने विषयमा हालसम्म औपचारिकपत्र मन्त्रालयमा नआएको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले बताए ।

नेपालस्थित दूतावासले पनि यस विषममा जानकारी नगराएको प्रवक्ता आचार्यले बताए । नयाँ नियममा लागू गर्दा कामदार आपूर्ति गर्ने देशसँग एकपटक छलफल चलाउनुपर्ने मन्त्रालयको भनाइ छ । 

उता नेपाली कामदार सरकारले लागू गरेको फ्री भिसा र टिकटमा बढी रकम तिर्न बाध्य हुँदै आएका छन् । श्रम तथा रोजगार मन्त्रालयले २०७२ असारदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्री भिसा र टिकट लागू गरेको थियो । तर कामदारसँग सरकारले जानुअघि विभिन्न बहानामा प्रतिव्यक्ति १७ हजारसम्म लिइने गरेको छ । 

रोजगारीका लागि युएई जाने कामदारले स्वास्थ्य परीक्षण गरेबापत ४ हजार ६ सय खर्चगर्नुपर्छ भने उनीहरूले करिब प्रतिव्यक्ति एक लाखभन्दा बढी म्यानपावर कम्पनीलाई बुझाउपर्छ । यस्तै, अभिमुखीकरण तालिमका लागि ७ सय कल्याणकारी कोषमा १ हजार ५ सय, ३८ वर्षमुनिका युएई जाने कामदारले बीमाबापत ३ हजार ५ सय र ३९ वर्षमाथिका कामदारलाई बीमाबापत ५ हजार ३ सय तिर्नुपर्ने नियम छ । अब युएई जाने ३८ वर्षमुनिका कामदारले ४ हजार ३ थप गरी १५ हजार अर्थात् त्यसभन्दा माथि उमेर समूहकाले १६ हजार ५ सय तिर्नुपर्छ । 

मन्त्रालयले वैदेशिक रोजगारीमा कामदार पठाएबापत वैदेशिक रोजगार व्यवसायीलाई १० हजार रुपैयाँमात्र सेवा शुल्क तोकेको छ । तर कामदार भने खाडी र मलेसियामा १ देखि २ लाखसम्म तिरेर जान बाध्य छन् । 


Views: 17