16th December | 2018 | Sunday | 6:52:51 PM

सात महिनामा २३ करोडभन्दा बढी ठगीका उजुरी

रमेश भारती   POSTED ON : Friday, 09 March, 2018 (5:07:11 PM)

सात महिनामा २३ करोडभन्दा बढी ठगीका उजुरी

काठमाडौं । आर्थिक वर्षको सात महिनामा प्रहरीमा साढे २३ करोडभन्दा बढी ठगीका उजुरी दर्ता भएका छन् । वैदेशिक रोजगारीका नाममा पीडितले उक्त उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । सो अवधिमा वैदेशिक रोजगारीमा विभिन्न देशमा पु¥याइ राम्रो काममा लगाई दिने भन्दै दलालले २३ करोड ५५ लाख १९ हजार रुपैयाँ ठगी गरेको विगो दाबीसहितको उजुरी परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

विभिन्न व्यक्ति तथा कन्सल्टेसीका नाममा सात महिनामा १ सय ३१ वटा उजुरी दर्ता भएका छन् । राम्रो मुलुकमा धेरै कमाई हुने प्रलोभनमा पारी वैदेशिक रोजगारीमा जाने युवा ठग्ने समूह पछिल्लो समय सक्रिय हुँदै गएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले बताए । उनले भने, ‘ठूला र विकसित मुलुका रोजगारीमा जान पाउने भनेपछि केही नबुझिकन ठूलो रकम दलाललाई बुझाएर ठगीमा परिसकेपछिमात्रै पीडितहरू समस्या लिएर प्रहरीमा आउँछन् ।’ धन्दा चलाउने व्यक्ति एक ठाउँमा ठगी गरेर अर्कोतिर लागिसकेको हुन्छ । पछिल्लो समय यस क्षेत्रका तस्करीको सञ्जाल देश विदेशसम्म विस्तार भइरहेको र नेपालबाट रोजगारीमा लगाइदिने भन्दै विदेशका विभिन्न स्थानमा नेपाली महिलालाई अलपत्र पाने क्रम बढिरहेको प्रहरीको भनाइ छ । 

सात महिनामा ४० वटाभन्दा बढी ठगी मुद्दा अदालतमा पठाइएको पनि प्रवक्ता उप्रेतीले जानकारी दिए । सोही अवधिमा ३ करोड २६ लाख ३२ हजार पीडितलाई विगो भराइदिएको उनले बताए । जसमा प्रहरीले २६ वटा उजुरीलाई मिलापत्र गराएको जनाएको छ । प्रहरीमा गत आर्थिक वर्षमा विभिन्न देशमा रोजगारीमा पठाइदिने भन्दै ठगीका ५ सय २३ उजुरी परेका थिए । गत वर्ष ६१ करोड १४ लाख ५५ हजार विगो दाबीसहित उजुरी परेको महाशाखाको तथ्यांकमा उल्लेख छ । 

गत वर्ष प्रहरीले धेरै ठगीका ३२ वटा मुद्दा अदालत पठाएको र १ सय ७२ वटा मुद्दालाई मिलापत्र गराएको जनाएको छ । ठगी गर्न गिरोहले प्रत्येक युवालाई नक्कली कागजात बनाएर ठगी गर्ने गरेको पाइएको छ । पछिल्लो समय विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउन भनेर खोलिएका शैक्षिक परामर्श केन्द्रहरू धेरै ठगीमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ । 

यस्ता शैक्षिक संस्थाले विभिन्न देशका नाम चलेका विश्वविद्यालयको नक्कली भिसा तथा अवैध कागजपत्र बनाएर विद्यार्थी ठग्ने गरेका छन् । तस्करका निशानामा धेरैजसो बेरोजगार युवाती पर्ने गरेका छन् । अमेरिका, क्यानडा, नर्वे, ब्रुनाईलगायत मुलुकको नक्कली डिमान्ड पेपर बनाएर ५ देखि ४० लाखसम्म ठगी गरेको उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । 


Views: 23