18th October | 2018 | Thursday | 12:22:01 PM

पाइपलाइन शिलान्याससँगै चिनियाँ इन्धन अन्यौलमा

लेखनाथ पोखरेल   POSTED ON : Sunday, 08 April, 2018 (7:08:29 PM)

पाइपलाइन शिलान्याससँगै चिनियाँ इन्धन अन्यौलमा

काठमाडौं । व्यापक चर्चामा रहे पनि अन्यौलपूर्ण अवस्थाबाट गुजिँ्रदै आएको नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजना निर्माण हुने निश्चित भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीबाटै सयुक्तमा पाइलाइनको शिलान्यास गरेका छन् । 

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले हैदरावाद हाउसबाट भिडियो कन्फरेन्सको स्विच थिचेर पाइपलाइनको शुभारम्भ गरेका थिए । नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव र भारतस्थित पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा पाइपलाइनको शिलान्यास गरिएको हो । 

भारतको मोतिहारीदेखि नेपालको अमलेखगंजसम्म निर्माण हुने पाइपलाइनका लागि मोदी र ओलीले दिल्लीमा शिलान्यास गर्नासाथ मोतिहारीमा पनि शिलालेख गाडेर शिलान्यास गरिएको थियो । पाइपलाइन आयोजना सिमराका मेकानिकल इन्जिनियर शरद पौडेल र पटनास्थित पाइपलाइनका जेनरल म्यानेजर बी श्री गणेशको नेतृत्वमा मुम्बईस्थित इण्डियन आयल कर्पोरेशन (आइओसी) को पाइपलाइन, मोतिहारी पाइपलाइन र पटना पाइपलाइनको प्राविधिक टोली शिलान्यासकै लागि मोतिहारीमा पुगेको थियो ।

इन्जिनियर पौडेलका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले स्विच थिच्नासाथ मोतिहारीमा तयारी अवस्थामा रहेको खाल्डोमा शिलान्याससम्बन्धी शिलालेख गाडिएको थियो । नेपालतर्फ यसै सातादेखि पाइपलाइन बिछ्याउने काम सुरु हुने पौडेलले बताएका छन् । 

भारततर्फको मोतिहारीदेखि रक्सौलसम्मको ३२.७ किलोमिटरमा पाइपलाइन बिछ्याउने काम सुरु भएपनि रक्सौलदेखि अमलेखगञ्जसम्मको ३६.२ किलोमिटरमा पाइप बिछ्याउने काम सुरु हुन सकेको थिएन । पाइपलाइनका लागि आवश्यक पर्ने करिब तीनवटा क्रेन आएपछि नेपालतर्फ पथलैयादेखि सिमरा र जितपुरदेखि परवानीपुरको केही खण्डमा पाइप बिछ्याउने काम सुरु हुने बताइएको छ । मोतिहारीको पाइपलाइन बरौंनी–कानपुर पाइपलाइनसँग जोडिनेछ ।

इण्डियन आयल कर्पोरेसन (आइओसी) का तर्फबाट ठेक्का पाएको कम्पनीले पौने ११ इन्च ब्यास भएको माइल्ड स्टोन स्टिलको पाइप नेपालतर्फ ल्याइसकेको छ भने थप पाइप र हेभी इक्विपमेन्ट भित्रिने क्रम जारी छ । पौडेलका अनुसार पाइपलाइन सुरु भएको १५ महिनामा बिछ्याइ सकिनेछ । त्यसो त नेपालतर्फ अझै पनि केही अवरोध बाँकी नै रहेको छ । अमलेखगञ्जमा करिब आठ किलोमिटर क्षेत्रफल वन क्षेत्र कटानी र पथलैया–अमलेखगञ्ज, परवानीपुर र जितपुर सडक खण्डको शहरी रुट अझै क्लियर हुन सकेको छैन । 

पाइपलाइनबाट प्रतिघण्टामा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य छ । इन्धन भण्डारण गर्न अमलेखगञ्जको डिपोस्थित तीन हजार नौसय किलोलिटरको दुई र चार हजार एक सय किलोलिटरको दुई वटा ट्याँकी मर्मत गरी तयारी अवस्थामा राखिएको छ । पाइपलाइनमार्फत् सुरुमा डिजेल, त्यसपछि मट्टितेल र अन्तिममा पेट्रोल भिœयाउने व्यवस्था गरिएको छ । तत्कालका लागि पाइपलाइनबाट डिजेलमात्रै ल्याइने र दोस्रो चरणमा भण्डारण गृह निर्माणपछि मट्टितेल र पेट्रोल ल्याइने पौडेलले बताएका छन् । अमलेखगन्जको डिपोसँगै रहेको वन क्षेत्रले ढाकिएको जग्गा अधिग्रहण गरी ३३.६ हेक्टरमा अर्को भण्डारण गृह निर्माणको योजना रहेको छ । डिपो विस्तार भएपछि दैनिकरूपमा उक्त स्थानबाट चार सयको संख्यामा ट्यांकरमा इन्धन लोड दिन सकिने नेपाल आयल निगमले जनाएको छ । नेपालमा कुल खपतको ७० प्रतिशत इन्धन रक्सौल नाकाबाट आयात हुन्छ । पाइपलाइन निर्माणपछि ढुवानी र जनशक्तिमा खर्च हुने करिब वार्षिक एक अर्ब रुपैयाँ बचत हुने बताइएको छ ।

पाइपलाइनका लागि २०७२ भदौ ७ गते तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतका तर्फबाट पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइनका लागि कुल लागत दुई अर्ब भारतीय रुपैयाँ अर्थात् तीन अर्ब २० करोड लाग्ने अनुमान गरिएको थियो भने ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, अब पाइपलाइन रक्सौल नभई मोतिहारीबाट जोडिने भएकाले लागत खर्च र समय दुवै बढ्ने भएको छ । त्यसो त खर्च बढेपनि सबै आइओसीले नै व्यहोर्ने सहमति रहेको निगमले जनाएको छ । 

उता भारतसँगको पेट्रोलियम पाइपलाइन शिलान्याससँगै चीनसँगको पेट्रोलियम सझौता अन्यौलमा परेको छ । यसअघि नाकाबन्दीका बेला प्रधानमन्त्री ओलीले नै चीनबाट कुल खपतको ३३ प्रतिशत इन्धन आयात गर्ने सझौता गरेका थिए । भारतसँगको परनिर्भरता घटाउन पनि चीनबाट इन्धन आयातको विकल्प नभएको नेपाली अधिकारीहरूले बताउँदै आएका थिए । तर नाकाबन्दी खुला भएसँगै चीनको इन्धनको चर्चा एकाएक मत्थर भएको थियो । 

चीनबाट पनि इन्धन आयात गर्ने भनिएपनि अहिलेसम्म त्यसका लागि सडकलगायतका अत्यावश्यक पूर्वाधारको काम अघि बढ्न सकेको छैन । मुलुकलाई आत्मनिर्भर बनाउने भाषण गर्दै आएका प्रधानमन्त्री केपी ओलीले १५ वर्षसम्म नेपालको पेट्रोलियम बजारमा भारतीय एकाधिकार स्वीकार गरेका छन् । भारत सोही शर्तमा नेपालसम्म आफौ पाइपलाइन निर्माणका लागि तयार भएको बताइएको थियो तर नेपाली अधिकारीहरूले पाइपलाइन निर्माणले चीनबाट ३३ प्रतिशत इन्धन खरिदमा बाधा नपर्ने जिकिर गर्दै आएका छन् । हालसम्म पेट्रोलियम इन्धनमा भारतसँग पूर्णरूपमा परनिर्भर रहेको नेपालले वार्षिक रूपमा एक खर्ब आठ अर्ब ९५ करोड मूल्य बराबरको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात गर्ने गरेको छ ।


Views: 5