24th April | 2018 | Tuesday | 5:15:59 PM

रोजगारीमा जाने ४० प्रतिशतभन्दा बढी अवैध

रमेश भारती   POSTED ON : Sunday, 08 April, 2018 (7:12:04 PM)

रोजगारीमा जाने ४० प्रतिशतभन्दा बढी अवैध

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका ४० प्रतिशतभन्दा बढी नेपाली कामदार अवैधरूपमा बसेर काम गरिरहेका छन् । रोजगारीमा जाँदा सरकारले जारी गरेको श्रम अवधि सकिए पनि पुनः श्रम स्वीकृतिका लागि स्वदेश नफर्की सम्बन्धित मुलुककै रोजगारदाता कम्पनीमा शरण लिएर अवैधरूपमा काम गर्ने गरिरहेका हुनसक्ने वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको अनुमान रहेको छ । 

सरकारले कामदारकै हकहितका लागि भनेर स्थापना गरेका कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृति वितरण गर्न नसक्दा धेरै नेपाली कामदार अवैधरूपमा काम गर्न बाध्य हुनुपरेको बोर्डका कार्यकारी प्रमुख रघुराज काफलेले बताएका छन् । उनले भने, ‘रोजगारी गन्तव्य मुलुक पुगेका नेपाली युवा विभिन्न कारणले अवैध हुने गरेका छन् तर कसरी अवैध हुन्छन् ? भनेर सरकारीस्तरबाट खासै अध्ययन हुनसकेको छैन । जसका कारण कामदार अवैध हुने क्रम अझ बढ्दो छ । आगामी दिनमा सरकारले गंभीर भएर काम नगरे समस्या जटिल हुँदै जान्छ ।’ सरकारले रोजगारीमा गएका कामदारलाई पुनः श्रम स्वीकृतिसम्बन्धित मुलुकस्थित राजदूतवासबाट वितरण सुरु गरे कामदार अवैध हुने क्रम घट्दै जाने काफ्लेको भनाइ छ । रोजगारदाता मुलुकले दिने भिसा र डिमान्डको पहिचान गरेरमात्र श्रम स्वीकृति जारी गरे समस्या समाधान हुने उनी बताउँछन् । हाल मलेसिया, खाडी र युरोपमा गरी २७ देखि ३० लाख नेपाली कामदार कार्यरत रहेको सरकारी अनुमान छ ।

विगत ५ वर्षमा अवैधरूपमा काम गरिरहेका ४२ हजारभन्दा बढी नेपाली कामदार साउदी सरकारले दिएको आममाफी प्रक्रियामा सहभागी भएर नेपाल फर्किएका साउदीस्थित नेपाली दूतावासले जनाएको छ । यस्तै, दुई महिनाअघि कुवेतले पनि आप्रवासी कामदारलाई दिएको आममाफी प्रक्रियामा ३० हजारभन्दा बढी नेपाली संलग्न भएका कुवेतस्थित नेपाली राजदूतवासले जानकारी दिएको छ । युएईले सन् २०१५ देखि हालसम्म ४ पटक आप्रवासी कामदारलाई आममाफीमार्फत् स्वदेश फर्कन अथवा भिसा प्रमाणिकरण गरेर काम गर्ने भनेर मौका दिएको थियो । युएईले ४ पटक दिएको आममाफी प्रक्रियामा सहभागी भएर ५० हजारभन्दा बढी नेपाली फर्किएका युएईस्थित नेपाली दूतावासले गत जनवरीमा सार्वजनिक गरेको तंथ्याकमा उल्लेख छ । यस्तै मलेसियाबाट पनि पटकपटक गरेर धेरै नेपाली आममाफी प्रक्रियामा सहभागी भई फर्किएका छन् । रोजगारदाता मुलुकले दिएको आममाफी प्रक्रियामा थोरै कामदार मात्र सहभागी हुने गरेका बोर्डले जनाएको छ । विभिन्न देशमा ८ देखि ११ लाखसम्म नेपाली कामदार अवैध भएर काम गरिरहेका हुनसक्ने बोर्डको अनुमान छ । जसमा एक लाखभन्दा बढी महिला रहेका बताइएको छ । धेरै कामदार मलेसिया र साउदीमा अवैध भएर काम गर्ने गरेको बोर्डको अनुमान छ । सरकारले विदेशमा कामदार अवैध हुनबाट रोक्न कामदारलाई वितरण गर्ने श्रम स्वीकृतिको अवधि ५ वर्षको हुनुपर्ने वैदेशिक रोजगार विभागका पूर्वमहानिर्देशक पुर्णचन्द्र भट्टराई बताउँछन् । उनले भने, ‘रोजगारीमा गएका धेरै कामदार श्रम स्वीकृतिको अवधि कम हुँदा पनि अवैध हुन्छन् । 

सरकारले एउटा मापदण्ड बनाएर पुनः श्रम स्वीकृति राजदूतवासमार्फत् वितरण गर्ने हो भने कामदार अवैध समस्या क्रमश समाधान हँुदै जान्छ ।’ धेरै कामदार म्यानपावर कम्पनी अथवा एजेन्टकै कारण अवैध हुन बाध्य हुने गरेको भट्टराई बताउँछन् । एउटा कामका लागि श्रम स्वीकृति लिएर अर्कै काममा परेपछि अवैध भएर कमाउन बाटो रोज्दा, विभिन्न देशमा भिसा र डिमान्डको कारोबार गर्ने नेपाली, एनआरएन र विदेशी विचौलियाका लैहलैहमा लागि राम्रो कमाइ हुने आसमा रोजगारदाता कम्पनी परिवर्तन गर्दा, रोजगारीका लागि गएका कामदारको श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने समस्या, श्रम अवधि सकिएपनि रोजगारदाता कम्पनीले बिदा नदिँदा, भिजिट भिसामा गएका, तेस्रो मुलुक हुँदै गएका र श्रम अवधि सकिएपछि भागेर काम गर्नेलगायतका कारण पनि धेरै नेपाली अवैध हुने गरेको बताइन्छ ।