18th October | 2018 | Thursday | 12:44:30 PM

रोजगारीमा जाने कामदारको पारिश्रमिक तोकिने

रमेश भारती   POSTED ON : Monday, 09 April, 2018 (6:02:31 PM)

रोजगारीमा जाने कामदारको पारिश्रमिक तोकिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको परिश्रमिक तोक्ने भएको छ । नेपाली कामदार जाने रोजगारदाता मुलुकका सरकारसँग परामर्श गरी परिश्रमिक नेपालबाटै तोकेरमात्र श्रम अनुमति वितरण गर्ने गरी अध्ययन र छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले जानकारी दिएका छन् । आइतबार वैदेशिक रोजगार पत्रकार समाजद्वारा आयोजित गन्तव्य मुलुकका कामदारको अवस्था विषयक अन्तत्र्रिmयामा उनले वैदेशिक रोजगारीको बाध्यता नहटेसम्म यस क्षेत्रलाई रोजगारीमैत्री र कामदारमैत्री वातावरण बनाएर मन्त्रालय अघि बढ्ने बताए । हाल रोजगारीमा जाने कामदारको पारिश्रमिक भिसा जारी गर्ने देशले तोक्ने गरेको भन्दै अब रोजगारी दिने देशका प्रतिनिधिसँग पारिश्रमिकको ग्यारेन्टी गरेपछि मात्र श्रम स्वीकृति जारी गरिने उनले बताए । कामदार आपूर्ति गर्ने सबै देशसँग दोहोरो श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारीमा पठाउने गरी मन्त्रालय गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए ।

सरकारले रोजगारीको खोजीमा विश्वका जुनसुकै कुनामा पुगेका नेपाली कामदारको समस्या सम्बोधनका लागि अनलाइन प्रणालीको विकास गर्न लागेको छ । मन्त्री विष्टले भने, ‘वैदेशिक रोजगारीका क्षेत्रमा विकृति फैलाउन जोसुकै भएपनि अब छुट हुँदैन । सरकारले यो क्षेत्रलाई कडा ऐन बनाएर नियमन गर्छ । निकट भविष्यमै सुधार देखिनेछ । सबै नेपाली कामदारको सुरक्षा अब मन्त्रालयले गर्छ ।’ कामदारको भविष्यमाथि खेलवाड गर्ने म्यानपावर व्यवसायीलाई सामाजिक कीराको सज्ञा दिँदै त्यस्तालाई सरकारले कुनै हालत नको सज्ञा दिँदै त्यस्तालाई सरकारले कुनै हालत नछाड्ने चेतावनीसमेत दिए ।

मन्त्री विष्टले वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई विदेशमा रहेका नेपालीले नै सताउने, फसाउने, ठग्ने र फाइदाका लागि प्रयोग गर्नेलगायतका धेरै घटना हुने गरेको भन्दै आगामी दिनमा सरकारले त्यस्तालाई खोजी खोजी कारवाही गर्ने बताए । फ्रि भिसा र फ्रि टिकट, रोजगारदाता मुलुकले लगाएको सिन्डिकेट र रोजगारीमा जाने कामदारले विधि विषयमा भोगिरहेका अप्ठयारा केही समयभित्रै अन्त्य हुने उनको भनाइ थियो । अब सरकारले उधारो अश्वासन दिनेभन्दा काम गरेर देखाउने पनि उनले बताए । साथै उनले अवैध बाटो हुँदै विदेसिने कामदारको विवरण पनि संकलनको तयारी भइरहेको जानकारी दिए ।  

सरकारले तत्काल विभिन्न देशमा रहेका कामदारको अवस्था र उनीहरूले गरिरहेका कार्य क्षेत्रको विवरण संकलन गर्नुपर्ने गैरआवसीय नेपाली संघ एनआरएनका महासचिव डिवी कार्कीले बताए । रोजगारीमा गएका कामदारको पारिश्रमिकका विषय र भविष्यमा उनीहरूलाई दिने सेवा सुविधालगायतका विषयलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । नेपालबाट जाने कामदारलाई अति जोखिमपूर्ण क्षेत्रमा मात्र रोजगारदाता मुलुकले लिने गरेका छन् । जसका कारण विभिन्न देश पुगेका नेपाली कामदार मृत्यु, अंगभंग र दुर्घटनामा पर्ने गरेको भन्दै उनले ध्यानाकर्षण गराएका थिए । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको विवरण सम्बन्धित मुलुककै कूटनीतिक नियोगबाट पनि संकलन गर्नसक्ने पनि उनले बताएका छन् । रोजगारीमा जाने कामदारका लागि श्रम बैंक, सामाजिक सुरक्षा कोष, स्थानीय तहमा लगानी गर्ने वातावरण र पेन्सनको समेत व्यवस्था गरिनुपर्ने उनले बताए । 


Views: 6