13th December | 2018 | Thursday | 11:16:14 AM

प्रवद्र्धकहरू सौर्य विद्युतको पीपीएदर घटाउन तयार

लेखनाथ पोखरेल   POSTED ON : Tuesday, 10 April, 2018 (6:19:15 PM)

प्रवद्र्धकहरू सौर्य विद्युतको पीपीएदर घटाउन तयार

काठमाडौं । सौर्य विद्युत खरिद सम्झौता(पीपीए) मा पुनर्विचार गर्न प्रवद्र्धकहरू तयार देखिएका छन् । प्रतियुनिटको ९ रुपैयाँ ६१ रुपैयाँ तोकिएर सबै प्रक्रिया पूरा भएपनि विद्यमानदर महँगो भन्दै नेपाल विद्युत प्राधिकरणले पीपीए गर्न आनाकानी गर्दै आएकोमा प्रवद्र्धकहरूले पीपीएदरमा पुनर्विचार गर्न सकिने बताएका छन् । अपी पावर कम्पनीका सञ्चालक सञ्जिव न्यौपाने पीपीएदरमा पुनर्विचार गर्न सकिने बताएका हुन् । पीपीए विवादकै कारण प्राधिकरणले फाइल रोकेर राखेको भन्दै उनले पुनर्विचार गर्न आफूहरू तयार रहे पनि प्राधिकरणले कुनै पहल नगरेको गुनासो गरे । न्यौपानेले हिमालय टाइम्ससँग भने– पीपीएदर हामीले भनेकै हुनुपर्छ भन्ने अडान होइन, यसमा पुनर्विचार गर्न तयार छौं तर पनि प्राधिकरण संवादहीनताको अवस्थामा रहेको छ । 

छनौटमा परेका परियोजनालाई हालकै दररेट कायम गरेर अध्ययनबाट महँगो देखिएमा सरकारले घटाउन पनि सक्ने उनको भनाइ छ । सो सम्बन्धमा ऊर्जामन्त्री वर्षमान पुनको पनि ध्यानाकर्षण गराउने विषयमा पहल भइरहेको उनले जानकारी दिए । त्यस्तै टक्सन इनर्जीका सञ्चालक किरण गौतमले पनि पीपीएका लागि पहल भएपनि अझै टुंगो लाग्न नसकेको बताए । सम्बन्धित विषयमा नयाँ ऊर्जामन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराइएको र उनले अध्ययनपछिपमात्रै निर्णयमा पुग्न सकिने जानकारी गराएको गौतमले हिमालय टाइम्सलाई बताए ।

ऊर्जा मन्त्रालयले पछिल्लोपटक नयाँ कार्यविधि निर्माण गर्दै प्रतियुनिट सोलार विद्युतको मूल्य ७ रुपैयाँ ३० पैसा तोकेपछि अन्यौल सिर्जना भएको थियो । सौर्य विद्युतका लगानीकर्ताहरूको संस्था ग्रीड कनेक्टेड सौर्य फोटोभेल्टिक परियोजना निर्माताहरूले छिटो पीपीए गर्न माग गर्दै आएका छन् । सरकारले सौर्य विद्युत परियोजना निर्माणका लागि बोलपत्रमार्फत कम्पनीहरूको छनौट गरेपनि प्राधिकरणले पीपीए नगर्दा करोडौंको लगानी जोखिममा परेको भन्दै उनीहरूले प्रक्रिया अघि बढाउन प्राधिकरणलाई दवाव दिँदै आएका छन् । परियोजना निर्माणको प्रक्रियामा रहेका २१ वटा कम्पनीको फाइल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रोकेर राखेको उनीहरूको आरोप छ । उनीहरूले परियोजना निर्माणस्थलका लागि आवश्यक जग्गाका साथै तथा सौर्य प्यानलको मूल्य पनि बढेकोले सस्तोमा सौर्य विद्युत उत्पादन सम्भव नरहेको भन्दै उनीहरूले ऊर्जा मन्त्रालयको पीपीएदरमा निर्माण गर्न नसकिने बताउँदै आएका थिए ।

पछिल्लो समय चिनियाँ लगानीकर्ताले तुलनात्मकरूपमा सस्तोमा ५० मेगावाटका सौर्य विद्युत परियोजना निर्माण गर्न सकिने प्रस्ताव ल्याएपछि प्राधिकरण पीपीए गर्न हच्किएको बताइन्छ । तर स्वदेशी लगानीका आयोजना केही महँगो पर्न गएपनि स्वाधीन अर्थतन्त्रका लागि सरकारले प्रोत्साहित गर्नुपर्ने व्यवसायीको तर्क छ । विभिन्न २१ वटा कम्पनी कुल ६१ मेगावाट सौर्य विद्युत उत्पादनका लागि वोलपत्र मार्फत छनौटमा परेका थिए । उल्लिखित कम्पनीहरूले प्रतियुनिट विद्युत न्यूनतम ८ रुपैयाँ ३० पैसादेखि अधिकत ९ रुपैयाँ ४५ पैसासम्ममा प्राधिकरणलाई दिन सकिने प्रस्ताव गरेका थिए । पीपीए भएको ६ देखि १० महिनाभित्र विद्युत उत्पादन गरिसक्ने पनि उनीहरूले बताएका छन् । परियोजना निर्माताहरूले पीपीए नगरिए हालसम्म पूर्वाधारमा भएको खर्चको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने मागसमेत गरेका छन् । उनीहरूका अनुसार प्रतिमेगावाट सौर्य विद्युतका लागि ३ बिघा जग्गा आवश्यक पर्छ । बोलपत्रमार्फत रिडी हाइडोपावर डेभलपमेन्ट कम्पनी, अपी हाइड्रोमेकानिकल लिमिटेड, अपी पावर कम्पनी, कान्तिपुर इनर्जी इन्भेस्टमेन्ट एण्ड कन्ट्रक्सन, ग्लोवल इनर्जी एण्ड कन्ट्रक्सन, एसियन टेक कर्पोरेसन, सगरमाथा इनर्जी इन्भेस्टमेन्ट एण्ड कन्सल्टेन्ट, क्लिन कम्युनिकेसन प्रालि र गोर्खा कन्जिनियल इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालि छनौटमा परेका थिए । उल्लिखित कम्पनीहरूले ०.०५ मेगावाटदेखि ८.५ मेगावाटसम्म सौर्य विद्युत उत्पादनको प्रस्ताव गरेका थिए । 



Views: 19