21st September | 2018 | Friday | 12:38:37 PM

वैद्यखानामा डेढ करोडका उपकरण प्रयोगविहीन

लेखनाथ पोखरेल   POSTED ON : Sunday, 15 April, 2018 (5:53:24 PM)

वैद्यखानामा डेढ करोडका उपकरण प्रयोगविहीन

काठमाडौं । सरकारी अस्पतालमात्र होइन, सिंहदरबार वैद्यखाना विकास समितिमासमेत लाखौं मूल्यका मेसिनरी उपकरण प्रयोगविहीन अवस्थामा पाइएको छ । त्यसै पनि धरासयी भन्दै गएको वैद्यखानाले सञ्चालन गर्न सकिने अवस्थाका ९० लाख ५३ हजार मूल्यका १३ तथा मर्मत गरी सञ्चालन गर्न सकिने ५६ लाख ३९ हजार मूल्यका १५ मेसिन उपयोग नगरी भण्डारण महालेखापरीक्षक कार्यालयको प्रतिवदेनमा उल्लेख छ । उपयोग नहुने मेसिन खरिद गरी सरकारी सम्पत्तिको दुरूपयोग गर्ने माथि आवश्यक कारबाही गरी जथाभावी खरिद कार्यमा नियन्त्रण गर्न महालेखापरीक्षको कार्यालयले सचेतसमेत गराएको छ । त्यसो त सरकारी पदमा बसेर निजी क्षेत्रबाट हण्डी खाने र उसैको पक्ष पक्षपोषण गरेर सरकारी संस्थालाई डुबाउने प्रवृत्तिको वैद्यखाना पनि शिकार भएको स्वयं वैद्यखानाकै कर्मचारीले नै बताउने गरेका छन् ।

झण्डै ४ सय वर्षको इतिहास बोकेको नेपाल र नेपाली जनातको धरोहर यो उद्योगमा विगतमा १ सय ५० भन्दा बढी प्रकारका औषधि उत्पादन हुने गरेकामा अहिले करिब १५ प्रकारका औषधि उत्पादनमा सीमित भएको छ । प्राकृतिक स्रोतहरूको अधिकतम प्रयोग गर्दै प्रभावकारी र गुणस्तरयुक्त तथा सुरक्षित शास्त्रीय विधिबाट औषधि निर्माण गर्ने, उचित मूल्यमा गुणस्तरयुक्त आयुर्वेदिक औषधिको उत्पादन गरी राष्ट्रिय एंव अन्तर्राष्ट्रिय स्तरमा बिक्री वितरण र प्रचार प्रसार गर्ने उद्देश्यका साथ स्थापना भएको समिति धरासयी बन्दै गएको हो । आर्थिक वर्ष २०७२÷ ०७३ मा ३३ हजार ५ सय ९५ केजी औषधि उत्पादनको लक्ष्य रहेकामा ८ हजार २ सय २४ केजीमात्रै उत्पादन गरेको छ । त्यस्तै २०७३÷०७४ मा ५५ हजार ५ सय ८३ केजी उत्पादनको लक्ष्य रहेकामा २८ हजार ४ सय ७६ केजीमात्रै औषधि उत्पादन गरेको छ । समितिले १५ किसिमका औषधिको बिक्री लक्ष्यको तुलनामा २०७२÷०७३ मा ३३.३४ तथा २०७३÷०७४ मा ४७.३३ प्रतिशतमात्रै गरेको छ । समितिबाट उत्पादित केही औषधिको बढ्दो बजार मागलाई ध्यान दिइ उत्पादन र बिक्रीको उचित व्यवस्थापनमा जोड दिनुपर्ने महालेखाले सुझाव दिएको छ । 

राजनीतिकरण, व्यवस्थापकीय कमजोरी, समयै कच्चा पदार्थ र प्याकेजिङ सामग्री आपूर्ति हुन नसक्नु, आर्थिक तथा नीतिगत समस्यालगायतका कारण वैद्यखान निरन्तर ओरालो लागेको हो । यसको विकास र विस्तारका लागि सरकारले २०५१ सालमा वैद्यखाना विकास समितिमार्फत् सञ्चालनमा ल्याएको भएपनि समितिमार्फत् सञ्चालनपछि झन वैद्यखाना खस्किँदै गएको छ । समितिले वैद्यखानाको विविधिकरण र विस्तार गर्दै दश वर्षमा २५ करोड रूपैयाँ बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, व्यवस्थापन पक्षले लक्ष्यअनुसारको योजना बनाउन नसक्दा लक्ष्य कागजमामात्रै सीमित हुन पुगेको छ । प्रताप मल्लको पालादेखि नै सञ्चालनमा रहेको वैद्यखाना तत्कालीन सयममा औषधोपचारको एकमात्र विकल्पका रूपमा रहेको थियो । 

वैद्यखानाले बजारमा अत्याधिक माग हुँदाहुँदै पनि उत्पादन घटाएको हो । भौतिक पूर्वाधारले सम्पन्न उद्योग बन्द हुने अवस्थामा पुग्न लागेको भन्दै वैद्यखानाका कर्मचारीसमेत चिन्तामा रहेका छन् । निजी क्षेत्रबाट सञ्चालित यस्तै आयुर्वेद उद्योगहरूले उत्पादनमा विविधीकरण गर्दै स्वदेश र विदेशमा बजार विस्तारमा सफल रहेपनि सरकारी लगानीको वैद्यखाना बन्द हुने अवस्थामा पुग्नुमा व्यवस्थापनकै कमजोरी रहेको कर्मचारीहरूको ठहर छ । किनभने यसमा अन्य सरकारी सार्वजनिक संस्थानमा जस्तो कर्मचारी युनियनको अवरोधसमेत छैन ।

वैद्यखाना विकास समितिका अनुसार विगतमा उत्पादन र कारोबार राम्रो रहेकामा चार वर्षयता उत्पादनमा उल्लेख्य कमी आएको हो । २०६५ सालमा तत्कालीन कार्यकारी निर्देशक सन्तोषकान्त ठाकुरका पालामा उत्पादनको विविधीकरणअन्र्तगत विभिन्न १२ प्रकारका थप नयाँ औषधिको उत्पादन सुरु भएको थियो । उल्लेखित औषधिको बजारमा अत्यधिक माग बढेको भएपनि पछि आउने व्यवस्थापनले उत्पादन निरन्तरतामा चासो दिएन । वैद्यखानाले युवायुवती लक्षित यौनवद्र्धक जडिबुटी समिश्रण गरिएको स्पेशल च्यवनप्राश, बालबालिका लक्षित जुनियर च्यवनप्रास र मधुमेह बिरामीका लागि चिनीरहित च्यवनप्राश उत्पादन गरेको थियो । त्यस्तै लिभकेयर सिरप, एब्डोजाइम सिरप, डाइबी केयर ट्याबलेट, मेमोरी प्लस ट्याबलेट, रिभाइटर सुगर फ्री सिरप, कफेण्ड सिरप, लिभकेयर पिडी सिरप, बेबी टोन सिरप, डर्मा केयर ट्याबलेट र रिभाइटल सिरस पनि उत्पादन गरेको थियो । 


Views: 0