27th May | 2018 | Sunday | 6:23:14 AM

भिसा प्रक्रिया एउटै भए पनि मलेसियाको लागत बढी

रमेश भारती   POSTED ON : Thursday, 10 May, 2018 (4:01:40 PM)

भिसा प्रक्रिया एउटै भए पनि मलेसियाको लागत बढी

काठमाडौं । मलेसिया र खाडीका देश वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भिसापछिको प्रक्रिया एउटै भएपनि मलेसिया जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरेको छ । मलेसिया जाने कामदारले भिसा प्रक्रियादेखि उड्ने समयसम्म प्रतिव्यक्ति २० हजार रुपैयाँ विभिन्न तीनवटा संस्थालाई बुझाउनुपर्ने बाध्यता रहेको छ । 

मलेसियाका विभिन्न संस्थाले स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाकै लागि भनेर प्रतिव्यक्ति १८ हजार ६ सय ८० रुपैयाँ लिने गरेका छन् । ती संस्थाले धेरै अनेक शीर्षकमा व्यक्ति र संस्थाको नाम खडा गरेर बिलमा देखिने गरी यस्तो रकम लिने गरेका छन् । यस्तै, मलेसियाबाहेकका मुलुकमा गर्ने जाने कामदारको हकमा भिसा एउटै भएपनि खच कम लाग्ने गरेको छ । 

साउदी, ओमन, बहराइन, कुवेत, जोर्डन र युएई जाने कामदारले स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका लागि ७ हजारसम्म तिर्नुपर्छ । मलेसिया जाने कामदारलाई पहिलोपटक माइग्राम्स नामक संस्थाले ३ हजार ५ सय नेपाली रुपैयाँ लिने गरेको छ । मलेसिया जाने कामदारको डाटा संकलन, संरक्षण अथवा रेकर्ड राख्ने सिस्टम नै माइग्रान्ट म्यानेज्मेन्ट सिस्टम हो । 

माइग्राम्स मलेसिया जाने कामदारको फिगंर प्रिन्टसहितको डाटा राख्न तयार गरिएको एउटा अनलाइन सिस्टम हो । २०७२ सालको साउनदेखि बायोमेट्रिक प्रणाली अनिवार्य गरेर २ हजार ६ सय लिँदै आएको मेडिकल जाँचलाई बायोमेट्रिक प्रणाली लागू भएपछि प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ पु¥याइएको थियो । भिएलएन र वान स्टप सेन्टरले पनि मलेसिया जाने कामदारसँग रकम असुल्ने गरेको छ । पहिले भिएलएनका नाममा प्रतिव्यक्ति ३० रुपैयाँ अमेरिकी डलर अर्थात् ३ हजार २ सय लिँदै आएमा भीएलएन नेपाल नामक संस्थाल यसमा वान स्टप सेन्टर थप गरी प्रतिव्यक्ति थप २ हजार ८ सय रुपैयाँ असुल्दै आएको छ । दुईवटा संस्था खडा गरेर भीएलएन र वान स्टप सेन्टरले हाल प्रतिव्यक्ति ६ हजार ५ रुपैयाँ असुल्ने गरेको छ । 

मलेसियाको दूतावासलाई भिसा प्रक्रियामा सघाउ पु¥याउन भन्दै खोलिएको भिएलएन नेपाल खडा गरिएको थियो । हाल भिएलएन र वान स्टप सेण्टरले भिसा प्रक्रियाका लागि लिने शुल्क ६ हजार ५ मा थप १३ प्रतिशत भ्याट रहेको छ । नेपालमा गरेको फिगंर प्रिन्ट, फोटो आदि सबै काम मलेसिया पुगेपछि पुन गर्नुपर्ने व्यवस्था छ । तर यही प्रक्रियाका लागि भन्दै बेस्टिनेट कम्पनीमार्फत् नेपालका ३८ वटा स्वास्थ्य संस्थाले बायोमेट्रिकका नाममा प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ असुल्दै आएका छन् । जिएसजी कम्पनीले मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लिरेन्स सर्टिफिकेटका नाममा कामदारबाट अर्को ३ हजार २ सय रुपैयाँ लिने गरेको छ । नेपालको जिएसजी कम्पनी तीन व्यक्तिका नाममा दर्ता छ । पहिलो जी अर्थात् गोविन्द थपलिया, बीचको एस अर्थात् सुरेश र अन्तिमको जी अर्थात् गोपाल गुरुङका नाममा रहेको छ । यी तीन व्यक्तिको नाममा दर्ता भएको जीएसजी कम्पनीले मलेसिया सरकारको एक अंग भएको दाबी गर्दै आएका छन् । 

उनीहरूले नेपालमा आईएससी अर्थात् इगिम्रेसन सेक्युरिटी क्लिरेन्स’ सर्टिफिकेट दिने काममात्र गर्छन् । त्यसबाहेक यही वान स्टप सेन्टरलाई मलेसियामा जाने नेपाली कामदारका लागि ७ सय रुपैयाँ भिसा शुल्क तिर्नुपर्छ । यो शुल्क कामदारसँग विनाकारण लिइरहेको वैदेशिक रोजगार व्यवसायीको आरोप छ । उनीहरूले यस्ता संस्था बन्द पटकपटक सरकारसँग माग गर्दै आएका छन् ।

सरकारले त्यहाँ जाने कामदारको हकमा १० हजार सेवा शुल्क अथवा ४ हजार ५ सय मेडिकल चेकजाँच गरी जम्मा १४ हजार ५ सयमात्र तोकेको छ । र परेको छ । पछिल्लो समय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीमा जाने कामदारमाथि विभिन्न नाममा लगाइँदै आएको आर्थिकभार अन्त्य गर्ने घोषणा गरेको छ । 

कामदारबाट असुलेको आधा रकम मलेसिया 

वार्षिक करिब १ लाख ५० हजार नेपाली युवा कामको खोजीमा मलेसिया पुग्ने गरेको सरकारी तथ्यांक छ । उनीहरूसँग प्रतिव्यक्ति १ लाख २० हजारका दरले म्यानपावर व्यवसायीले उठाउँदा पनि वार्षिक १२ अर्बभन्दा बढी रकम संकलन हुन आउँछ । कामदारबाट असुल गरिएको अनुमानित आधा रकम मलेसिया नै पुग्ने गरेको म्यानपावर व्यवसायीको बताएका छन् । भिसा प्रक्रियाकै लागि लाग्ने प्रतिव्यक्ति १८ हजार ६ सय ८० रुपैयाँमध्ये आधा रकम मलेसिया नै जाने गरेको उनीहरूको भनाइ छ । भिसा प्रक्रियाका नाममा कामदारबाट वार्षिक करिब ८० करोड संकलन हुने गरेको छ ।