27th May | 2018 | Sunday | 6:23:05 AM

९ महिनामा ८ खर्बभन्दा बढी व्यापारघाटा

हिमालय टाइम्स   POSTED ON : Saturday, 12 May, 2018 (1:59:44 PM)

९ महिनामा ८ खर्बभन्दा बढी व्यापारघाटा

काठमाडौं । नेपालको व्यापारघाटा २१.५ प्रतिशतले वृद्धि भई ८१५.२६ अर्ब पुगेको छ । नेपालको कुल निकासी ७.४ प्रतिशतलेमात्रै वृद्धि भई ५९.६२ अर्ब पुगेको छ भने पैठारी २०.४ प्रतिशतले वृद्धि भई ८७४.८८ अर्ब पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ को प्रथम नौ महिना अर्थात् साउनदेखि चैतसम्ममा आयात बढेर ८ खर्बभन्दा माथि पुगेको हो । 

कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भई ९३४.५० अर्ब पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.४ प्रतिशत र ९३.६ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा ७.४ प्रतिशतले वृद्धि भई ५९.६२ अर्ब तथा कुल पैठारीमा २०.४ प्रतिशतले वृद्धि भई ८७४.८८ अर्ब पुगेको छ । अघिल्लो आवमा निकासी—पैठारी व्यापारको अनुपात १ः१३.१ रहेको आव २०७४÷७५ को सोही अवधिमा यस्तो अनुपात १ः१४.७ रहेको छ । 

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्टका सामानहरू, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, हस्तकलाका सामानहरू, चाउचाऊ, टुथपेष्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी प्रमुख रहेका छन् । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १० प्रतिशतले प्रतिशतले ह्रासआई ५.०९ अर्व, तयारी पोशाकको निर्यातमा १०.२ प्रतिशतले वृद्धि भई ४.३८ अर्ब पुगेको छ । फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ४.४ प्रतिशतले ह्रास आई ४.०८ अर्ब, पोलिष्टर तथा अन्य धागोमा २२.५ प्रतिशतले वृद्धि भई ५.८९ अर्ब, मुसुरोको दालमा १३ प्रतिशतले वृद्धि भई ७३ करोड पुगेको छ । समीक्षा अवधिमा ६६ करोडको छाला, ३.८८ अर्वको अलैँची, २.३५ अर्बको चिया, ५१ करोडको अदुवा, ५४ करोडको चाऊचाऊ, ७८ करोडको जडिबुटी, ६२ करोडको टुथपेष्ट, २.३६ अर्बको टेक्सटाइल, १.६७ अर्वको पश्मिना सल, ४७ करोडको हस्तकलाका सामान,४१ करोडको नेपाली हातेकागज निकासी भएको छ । 

निकासी व्यापारमा भारत, अमेरिका, टर्की, जर्मनी, युके, चीन, इटाली, फ्रान्स, युएई, बंगलादेश, जापान, क्यानडा, भियतनाम र अष्ट्रेलिया आदि प्रमुख रहेका छन् । पैठारीतर्फ आव २०७४÷७५ को प्रथम नौ महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ३४.२ प्रतिशतले वृद्धि भई ११७.२९ अर्ब, फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा २६.४ प्रतिशतले वृद्धि भई ९७.२१ अर्ब, यातायातका साधन र तिनका पार्टपुर्जामा १.५ प्रतिशतले ह्रास आई ६२.३४ अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा ८.४ प्रतिशतले वृद्धि भई ३१.६२ अर्ब, औषधिमा १६.६ प्रतिशतले वृद्धि भई २०.३२ अर्ब, मेशिनरी तथा पार्ट्समा ५४.२ प्रतिशतले वृद्धि भई ९४.१८ अर्ब, पोलिथिन ग्रेन्युल्समा २०.४ प्रतिशतले वृद्धि भई १४.३२ अर्ब, कच्चा पाम आयलमा २.६ प्रतिशतले ह्रास आइ ३.४६ अर्ब, दूरसञ्चार सामग्रीमा ९.८ प्रतिशतले वृद्धि भई २५.४७ अर्ब पुगेको छ । सो अवधिमा २३.०५ अर्ब बराबरको सुन, ९.४३ अर्वको चाँदी, ११.५१ अर्ब बराबरको कच्चा भटमासको तेल आयात भएको छ । 

त्यस्तै सिमेन्ट क्लिंकर १९.७७ अर्बको, खाद्यान्न ३१.६१ अर्ब बराबरको आयात भएको छ । पैठारी व्यापारमा भारत, चीन, भियतनाम, इण्डोनेशिया, थाइलेण्ड, अर्जेन्टिना, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, मलेशिया, साउदी अरेविया, फ्रान्स, जर्मनी, जापान र युएई प्रमुख रहेका छन् । चालु आर्थिक वर्ष २०७४÷७५ को समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएपनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा २१.५ प्रतिशतले वृद्धि भई ८१५.२६ अर्ब पुगेको छ ।

नेपालका प्रमुख व्यापारिक साझेदार मुलुकहरूमध्ये निर्याततर्फका प्रमुख गन्तव्य भारततर्फ अलैँची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टिलका उत्पादनहरू, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवं पिना प्रमुख रूपमा निर्यात भएको भएको छ भने अमेरिकातर्फ उनी गलैँचा, तयारी पोशाक, काँचका सामान, पश्मिना सल, फेल्ट सामानहरू छुर्पी हस्तकलाका सामानहरू निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामानहरू, चिया टोपी सुतिका झोला, हस्तकलाका सामानहरू कागजका उत्पादनहरू र ट्रान्सफरमर निर्यात भएको छ । 

युकेतर्फ भने ऊनी गलैँचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामान, कागजका सामान, टोपी, हस्तकलामा सामान, सुती झोला र तयारी चाऊचाऊ उल्लेख्य मात्रमा निर्यात भएका छन् । टर्कीतर्फ भने धागो उल्लेख्य रूपमा निर्यात भएको छ । फेल्टका सामानहरू युरोपीयन युनियन तथा अमेरीकातर्पm निर्यात हुँदै आएको छ भने धागो टर्कीतर्फ, छुर्पी अमेरिका र मासु भियतनामतर्फ निर्यात भएको छ । 

नेपालको आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेशिनरी तथा पाटपूर्जा र खाद्यन्न अत्याधिक मात्रामा आयात भएको छ । दोश्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्रीहरू, विद्युतीय उपकरणहरू, मेशिनरी तथा पार्टपूर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेको छ ।