18th August | 2018 | Saturday | 11:33:49 PM

अब उद्योग पनि लोडसेडिङमुक्त

हिमालय टाइम्स   POSTED ON : Monday, 14 May, 2018 (1:26:49 PM)

अब उद्योग पनि लोडसेडिङमुक्त

काठमाडौं । उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हटेको छ । उद्योग क्षेत्रमा दैनिक ४ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङमुक्त गरेको हो । यसअघि प्राधिकरणले औद्योगिक क्षेत्रमा निश्चित समय विद्युत कटौती गरेर घरायसी प्रयोजनमा उपलब्ध गराउँदै आएको थियो ।

जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोहीअनुरूप वैशाखको अन्त्यमा उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाइएको प्राधिकरणले जनाएको छ । खोला तथा नदीमा वृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताएका छन् । 

अहिले औद्योगिक ग्राहकको माग ३०० मेगावाटको हाराहारीमा रहेको पनि उनले जानकारी दिए । प्राधिकरणले २०७३ को लक्ष्मी पूजाका दिनदेखि परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷वितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार एवं विकास निर्माणका कारण  समय समयमा हुनसक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभन्न आग्रह गरेका छन् । उनले भने, ‘बिहान र बेलुकाको पिक समयमा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरिदिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझैं सहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु ।’