18th August | 2018 | Saturday | 11:33:56 PM

सरकारको निर्णयले वैदेशीक रोजगार व्यवसायी तनावमा

हिमालय टाइम्स   POSTED ON : Tuesday, 15 May, 2018 (1:54:25 PM)

सरकारको निर्णयले वैदेशीक रोजगार व्यवसायी तनावमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनिवार्य दूतावासबाट गर्नुपर्ने निर्णय गरेपछि वैदेशिक रोजगार व्यवसायी त्रसित बनेका छन् । मन्त्रालयले गत मंगलबारदेखि लागू हुने गरी ‘वैदेशिक रोजगारसम्बन्धी जाँचबुझ निर्देशिका, २०७५ ल्याएको थियो । उक्त निर्देशिकामा वैदेशिक रोजगारीमा कामदार पठाउनुअघि अनिवार्य सम्बन्धित देशको कूटनीतिक नियोगबाट डिमान्ड प्रमाणीकरणको सिफारिस पेश गर्नुपर्ने व्यवस्था रहेको छ । सोही विषयमा केन्द्रित रही नेपाली कांग्रेसनिकटको नेपाल वैदेशिक रोजगार व्यवसायी लोकतान्त्रिक फोरमले सोमबार बृहत् भेला आयोजन गरेको छ । कार्यक्रममा अधिकांश व्यवसायीले मन्त्रालयले व्यवसायीसँग परामर्श नै नगरी निर्णय गर्दा समस्या आएको बताएका थिए । सरकार जतिकै व्यवसायी पनि जिम्मेवार भएर काम गर्दै आएको फोरमका अध्यक्ष विष्णु गैरेले दाबी गरे । त्यसो त मन्त्रालयको निर्णयप्रति फोरमको कुनै आपत्ति नरहेको उनका भनाइ थियो । मन्त्रालयले निर्णय गर्दा प्रत्यक्ष संग्लन व्यवसायीसँग पनि राय सुझावको मौका नदिएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हंसराज वाग्लेले भने गुनासो गरेका थिए । संघका पदाधिकारीले मन्त्रालयसँग जटिल विषयमा छलफलको वातावरण बनाउन नसकेको भन्दै फोरमले राजीनामासमेत माग गरेको छ । 

व्यवसायी ताहाचल कार्यालयमा 

सरकारले नयाँ निदेशिकामार्फत नेपाली कामदारको मागपत्र अनिवार्यरूपमा विदेशस्थित नेपाली कूटनीतिक नियोगको सिफारिसको व्यवस्था लागू गरेपछि व्यवसायीहरू वैदेशिक रोजगार विभाग, ताहचल श्रम कार्यालयसँग हारगुहार गर्न थालेका छन् । तत्कालका लागि पुनर्विचार गर्न पनि उनीहरूले माग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा गएका व्यवसायीहरूले एक हप्तादेखि अकस्मात पूर्व स्वीकृति नै रोकिएको भन्दै कार्यालयका प्रमुखलाई जानकारी गराएका छन् । ताहचल कार्यालयका प्रमुख भविश्वर पाण्डेसँग व्यवसायीलाई मौका नदिई गरिएको निर्णयले पूर्व श्रम स्वीकृति निकाल्न र कामदार पठाउन समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । १० दिनभित्र मागपत्र कूटनीतिक नियोगबाट प्रमाणीकरण भएर आउने वा तत्काल समस्या समाधान गर्ने कुनै उपाय निकाल्न आग्रह गरेको संघका अध्यक्ष रोहन गुरुङले हिमालय टाइम्सलाई बताए । अध्यक्ष गुरुङले भने मंगलबार १ बजेसम्ममा निकास दिन आग्रह गरिएको बताए ।