18th October | 2018 | Thursday | 7:03:47 AM

जागिर विज्ञापन गर्दै ठगी धन्दा

रमेश भारती   POSTED ON : Thursday, 17 May, 2018 (3:23:38 PM)

जागिर विज्ञापन गर्दै ठगी धन्दा

काठमाडौं । वेरोजगार युवाको पहिलो प्रथामिकतामा रोजगारी पर्छ । प्रायः अध्यायन पूरा गरेर बसेका र रोजगारी नभएका युवाले कतै राम्रो जागिरको माग आएको छ कि भनेर दैनिक पत्रपत्रिका र नेटमार्फत खोजी गरिरहेका हुन्छन् । कतिपय शिक्षित युवाहरू विज्ञापनकै आधारमा कामको खोजी गर्दै विभिन्न कार्यालय धाउने गर्छन् । 

वेरोजगार युवाहरूको यस्तै बाध्यताबाट फाइदा लिने तŒवहरूले जवको विज्ञापन गर्दै ठग्ने गरेको पाइएको छ । शहरमा बेरोजगार युवालाई लक्षित गर्दै धेरै रोजगार सेन्टर खोलिएका छन् । यस्ता जब सेन्टरले बेरोजगार युवालाई आकर्षित गर्न फरक फरक शैली अपनाएर रोजगारीका लागि भन्दै विज्ञापन गर्ने र पर्चा वितरण गर्ने गरेका छन् । तु कर्मचारी आवश्यकता, विनाअन्तर्वाता कामको ग्यारेन्टी भन्दै देशका मुख्य शहरमा जागिरसहितको विज्ञापनको पर्चा बाँडिरहेको देखिन्छ । 

कामको प्रकार र संख्या विभाजन गरी पर्चामा तबल सुविधासमेत तोकिएको हुन्छ । पार्टटाइम, फुलटाइम अथवा अफिसभित्र तथा घरैबाट २० हजारदेखि ५० हजारसम्म सजिलै गरी कमाउन सकिने त्यस्त पर्चा पम्पलेट राजधानीमा छयाप्छयाप्ती भेटिन्छन् । 

पुतलीसडक, सुन्धारा, चावहिल, कोटेश्वर, बागबजार, कंलकी, नयाँ बसपार्क, महाञ्जग, लगनखेललगायतको सडक भएर हिँड्ने पैदलयात्रीका हातहातमा यस्तो थमाइन्छ । सडकका भित्ता र बिजुलीका पोलमासमेत पर्चा पम्पलेट टाँसिएको छ । एउटै पर्चामा करिब ५० देखि २ सय जनासम्मलाई रोजगारीको अवसर उल्लेख गरिएको हुन्छ । यस्तै पर्चा र विज्ञापनका आधारमा रोजगारीको खोजीमा विभिन्न ठाउँमा भौतारिरहेका शंकरदेव क्याम्पसमा एमविएस अध्ययरत सुनसरीका महेन्द्र शाह धेरै जब सेन्टरमा गएपनि जागिर नपाएको बताउँछन् । 

पर्चामा भएको फोनबाट जानकारी लिएर काठमाडौं पुरानो बानेश्वरस्थित एक जब सेन्टरमा कामको खोजीमा गएको शाहले बताए । उनले भने, ‘त्यहाँ गएर विज्ञापन हेरेर काम पाइन्छ कि भनेर आएको मात्र भनेको थिए । रिसेप्सनमा बसेकी एक युवाती एउटा आवेदन भर्न लगाइन् । आवेदन भरेरपछि ३ सय रुपैयाँको रसिद काटेर दिइन् । त्यसपछि सम्र्पक गर्छु जानुुहोस् भनेर पठाइन् ।’ पर्चामा भनेजस्तो जागिर तत्काल पाइएन, अर्कोको काम छ, गर्ने ? भन्दै केही दिनपछि फोन आयो तर काम र तलब सुविधा फरक भएको बताएपछि उनले ठगिएको चाल पाएको बताए । रत्नपार्कको पुलमा एकजना महिलाले बाँडेको विज्ञापन हेरेर काठमाडौं आरआर क्यापसबाट बिए तेस्रो बर्षको परीक्षा सकेर कामको खोजिमा भौतारिइरहेका राजु गौतम तीनकुनेस्थित जब सेन्टर पुगे । 

गौतमसँग अरू ७ जना साथी पनि जागिरका लागि सँगै गएका थिए । गौतम र उनका साथीले सेन्टरको रिसेप्सनले दिएको आवेदन भरेर ५ सयका दर बुझाए । आवेदन भरेपछि रिसेप्सनिष्टले केही दिनपछि अन्तवार्ताका लागि अफिसबाट फोन भन्दै पठाइन तर फोन आयो विज्ञापनमा भनिए जस्तो होइन । पछि कामको डिमान्डविनै विज्ञापन गरिएको थापाले चाल पाए । यस्तै पत्र–पत्रिकामा दैनिक रोजगारीको विज्ञापन हेरेर काम पाइन्छ कि भने आशमा जब सेन्टर जाने गरेकी धरानकी सुनिता सुनुवारले बताइन् । त्यस्ता जब सेन्टर पुगेपछि आवेदन भर्न लगाएर लुट्ने काम मात्र हुने गरेको उनले अनुभव सुनाइन् । काम खोज्न गएका युवासँग उल्टै पैसा ठगेर कार्यालय र कर्मचारी पाल्ने काम गर्ने गरेको उनको भनाइ छ । जागिरको खोजीमा रहेका शाह, गौतम र सुनुवारजस्ता सयांै युवा युवतीहरू दैनिक ठगिरहेका छन् । 

रोजगारीको अवसर भन्दै छापिएका पर्चा पम्प्लेट र विज्ञापनलाई आधार मान्दै काम खोज्न जाने अधिकांश बेरोजगार युवा ठगिने गरेका छन् । विज्ञापन हेरर जब सेन्टर धाउने प्रत्येक आवेदकसँग २ देखि ५ सयसम्म उठाएर कार्यालय चलाउने गरेको पाइन्छ । जागिर पाउने आशमा दैनिक उपत्यकाभित्रै खुलेआम ठगिभइरहेको भएपनि सम्बन्धित निकाय वेखवर जस्तै देखिएको छ । पत्रपत्रिकामा आएका विज्ञापन, बाटो र सडकका पोलमा टाँसिएका पर्चाका आधारमा दैनिक २ सयभन्दा बढी युवा ठगिने गरेका छन् । उपत्याकाभित्र यस्ता जव सेन्टर १ सयभन्दा बढी रहेको बताइन्छ । 

प्रहरीमा उजुरी नै आउँदैन 

जागिर दिने नाममा ठगीमा परेका पीडित प्रहरीमा उजुरी गर्नै जाँदैनन् । हालसम्म प्रहरीमा उजुरी नआएको महानगरीय प्रहरी प्रभागले जनाएको छ । यसरी पीडितले उजुरी नगर्दा ठगको मनोबल बढ्ने गरेको पाइन्छ । सानो रकम भएकाले पनि प्रहरीसम्म उजुरी लिएर पीडित नजाने गरेको देखिएको छ । प्रहरीमा उजुरी नपर्दा जब सेन्टरका नाममा ठगि गर्नेहरूको धन्धा फस्टाउँदै गएको छ । 


Views: 7