25th June | 2018 | Monday | 9:40:46 PM

शेयरमा पुँजीगत लाभकरको निर्णय फिर्ता

हिमालय टाइम्स   POSTED ON : Thursday, 07 June, 2018 (12:55:12 PM)

शेयरमा पुँजीगत लाभकरको निर्णय फिर्ता

काठमाडौं । आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरमा वृद्धि गरिएको पुँजीगत लाभकरसम्बन्धी विषय अर्को व्यवस्था नभएसम्मका पूर्वव्यवस्था अनुसारै गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । शेयर बजारको प्रणालीगत सुधारका लागि आवश्यकता अनुसार सुझाव दिन अर्थमन्त्रालयका सहसचिव उत्तरकुकमार खत्रीको संयोजकत्वमा कार्यदल बनेकाले कार्यदलको प्रतिवेदन प्राप्त नभएसम्म पुँजी बजार पूर्ववतरूपमा सञ्चालन गर्न गराउन पत्राचार गरेको हो । 

अघिल्लो दिन सरकारले बोनस शेयर र हकप्रद शेयरको आधार मूल्यमा लगाएको लाभकरसम्बन्धी निर्णय फिर्ता लिएको थियो । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । अर्थ मन्त्रालयले आइतबारदेखि लगाएको नयाँ लाभकर फिर्ता लिन आन्तरिक राजस्व कार्यालयलाई पत्राचार गरेको थियो । यसअघि नेपाल इन्भेष्टर्स फोरमले लाभकरको विरोध गर्दै शेयर बजारको कारोबार ठप्प पारेको थियो । 

आइबारदेखि आन्दोलनमा उत्रिएका उनीहरू मन्त्रालयले कर फिर्ता लिएसँगै आन्दोलन स्थगित गरेका हुन् । लगानीकर्तालाई नोक्सानीमा कर भुक्तानी गर्न निर्देश गर्नु करको सर्वमान्य सिद्धान्तविपरीत रहेको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको थियो । पुँजी बजारलाई प्रविधि, पूर्वाधार तथा ऐन नियममैत्री बनाउनुपर्नेमा एएकतर्फी रूपमा लगानीकर्तालाई तर्साउने काम गरेको भन्दै लगानीकर्ताको खरिद मूल्यमा हकप्रद र बोनस शेयरको मूल्यलाई जोडी औसत मूल्य कायम गरी सो रकममा ७.५ प्रतिशत अन्तिम कर निर्धाण गर्नसमेत माग गरेको थियो । 

यसैबीच पुँजीगतल लाभकरको निर्णय फिर्तासँगै बुधबार नेपाल स्टक एक्स्चेन्जको नेप्से सूचक १३.९१ अंकले सुधार देखिएको छ । मंगलबार कारोबार बहिष्कार गरेका लगानीकर्ताले बुधबार दिउँसोदेखि कारोबार गरेका थिए । सूचकमा केही सुधार देखिए पनि २३ करोड ८९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । सबैभन्दा धेरै लघुवित्त समूहतर्फ २.०९ प्रतिशतको सुधार देखिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयर तीन करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । 

महासंघद्वारा स्वागत

पु“जीगत लाभकर गणनाका विषयमा सरकारको निर्णयबाट आन्दोलित शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच सम्पन्न वार्ता सफल भर्ई शेयर बजार खुला भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुनै पनि निर्णय, सरोकारवालास“ग पर्याप्त छलफल गरेरमात्र ल्याउन सके त्यो बढी प्रभावकारी हुने भन्दै अत्यन्त कमजोर र प्रारम्भिक चरणबाट विस्तारै एउटा स्थायी प्रणालीतर्फ अघि बढिरहेको नेपाली शेयर बजारलाई व्यवस्थित र मुलुकभरबाट कारोबार गर्नसक्ने एउटा वैज्ञानिक प्रणालीमा लैजान सरकारबाट विशेष सुधारको आशा गरेको जनाएको छ । आगामी दिनमा सरोकारवालास“ग समेत पर्याप्त छलफल गरी पु“जी बजारलाई निर्वाध रूपमा अघि बढाउन र प्रविधिमैत्री बनाई एउटा स्थायी खालको समाधानको बाटो निकाल्नसमेत आग्रह गरेको छ ।