17th July | 2018 | Tuesday | 1:28:54 PM

६० प्रतिशत फर्निचर सामग्री आयात

लेखनाथ पोखरेल   POSTED ON : Monday, 09 July, 2018 (3:36:14 PM)

६० प्रतिशत फर्निचर सामग्री आयात

काठमाडौं । हरियो वन नेपालको धन भन्ने गरिएको भए पनि काष्ठजन्य उद्योगमा समेत नेपाल आत्मनिर्भर बन्न सकेको छैन । स्वदेशी कच्चा पदार्थमा आधारित फर्निचरमा परनिर्भरता कायमै छ । फर्निचर उद्योगहरूले सहजरूपमा काठ पाउन नसकेका कारण नेपालमा ४० प्रतिशतमात्र फर्निचरका सामग्री उत्पादन हुने र ६० प्रतिशत बाहिरबाटै गर्नुपर्ने बाध्यता रहेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । 

संघका अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार नेपालमा स्वेदशी काठको आपूर्ति सहज छैन, फर्निचर उद्योगहरूले आवश्यक काठ वन पैदावार व्यवसायीसँग खरिद गर्नुपर्ने बाध्यता छ, जसका कारण काठको मूल्य महँगो पर्ने गरेको छ । सोही कारण फर्निचर उद्योगहरूले ५० प्रतिशत आयातित काठ नै प्रयोग गर्दै आएका छन् । अग्रवालका अनुसार फर्निचरका लागि आवश्यक काठहरू वर्मा, भारत, थाइल्याण्ड, चीन र इन्डोनेसियालगायत मुलुकबाट आयात भइरहेको छ । 

आयातित काठ नेपाली काठजस्तो गुणस्तरीय नभए पनि नेपाली काठ सहजरूपमा उपब्ध हुन नसक्दा आयातीत काठ नै उपयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् । त्यस्तै यस क्षेत्रमा दक्ष कामदारको समेत अभाव छ । करिब ५० प्रतिशत कामदारको हिस्सा छिमेकी मुलुक भारतका कामदारले ओगटेका छन् । सरकार र फर्निचर व्यवसायीले पनि नेपाली कामदारलाई तामिल दिँदै आएका छन् तर तालिमपछि अधिकांश कामदार वैदेशिक रोजगारीमा जाने गरेकोले कामदार पनि बाहिरैबाट ल्याउनुपर्ने बाध्यता रहेको अग्रवालले बताए । 

तथापि काठको सहज उपलव्धता, नीतिगत सुधार, आधुनिक प्रविधिको पहुँच र दक्ष कामदारको आपूर्ति हुन सकेमा भने फर्निचरमा नेपाल पूर्णरूपमा आत्मनिर्भर हुनसक्ने सम्भावना रहेको उनले बताएका छन् । काठको सहज उपलब्धताका लागि फर्निचर उद्योगले सोझै काठको टेण्डरमा भाग लिन पाउने व्यवस्था हुनपर्ने संघको माग छ । 

यस्तो व्यवस्था भएमा स्वदेशी फर्निचरको हालको उत्पादन ४० प्रतिशतबाट बढेर ८० प्रतिशतसम्म पुग्ने उनको भनाइ छ । फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ का संयोज सुभेन्द्र जोशीका नेपालमा वर्षेनी करिब ३० अर्ब रुपैयाँबराबरको फर्निचर तथा फर्निसिङको कारोबार हुने गरेको छ । त्यसो त फर्निसिङ क्षेत्रमा भने नेपाल आत्मनिर्भर भइसकेको छ । कार्पेट र म्याट्रेसमा आत्मनिर्भर भइसकेको छ भने फर्निसिङका अन्य विधामा पनि आत्मनिर्भर हुने क्रममा रहेको जोशीले बताएका छन् । 

भदौमा फर्निचर तथा फर्निसिङ एक्स्पो

अगामी भदौको दोस्रो साता फर्निचर तथा फर्निसिङ एक्स्पो अर्थात् फर्नेक्स एक्स्पो हुने भएको छ । भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको आयोजना हुने आयोजक संस्था नेपाल फर्निचर्स तथा फर्निसिङ संघले आइतबार पत्रकार सम्मेलन गरी जानकरी दिएको छ । 

एक्स्पोको छैटौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ । एक्स्पोको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गर्ने भएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । 

त्यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, इन्टेरियर डिजाइन, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रुपमा रहने संघका अध्यक्ष अग्रवालले जानकारी दिएका छन् । एक्स्पोको लक्ष्य खरिद बिक्रीभन्दा पनि ब्राण्डिङ रहेको उनले बताए । 

१ सयभन्दा बढी स्टल रहने एक्स्पोमा बंगलादेश, पाकिस्तान र भारतलगायत मुलुकको पनि सहभागिता रहने पनि उनले जानकारी दिए । एक्स्पोमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । भदौ १८ गतेसम्म सञ्चालन हुने एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ संघले सन् २००२ देखि नियामित रूपमा एक्स्पो आयोजना गर्दै आएको छ ।