11th December | 2018 | Tuesday | 8:18:49 PM

भूमिगत प्रसारणलाइन दुई महिनाभित्र सक्न निर्देशन

हिमालय टाइम्स   POSTED ON : Monday, 06 August, 2018 (4:35:50 PM)

भूमिगत प्रसारणलाइन दुई महिनाभित्र सक्न निर्देशन

काठमाडौं । सरकारले नेपालमै पहिलोपटक निर्माण सुरु गरिएको जलविद्युत्को भूमिगत प्रसारणलाईको निर्माण कार्य आगामी दुई महिनाभित्र सक्न निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारणलाइनको स्थलगत निरीक्षण पनि यस्तो निर्देशन दिएका हुन् । मन्त्री पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । 

त्रिशूली कोरिडोरमा उत्पादित विद्युत् प्रवाह गर्ने मुख्य तथा महŒवपूर्ण लाइन भएकाले निर्धारित समयभित्रै पूरा गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । उक्त भूमिगत प्रसारणलाइन त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनको एउटा खण्ड पर्छ । १ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये हालेसम्म करिब ६ सय ३० मिटर पूरा भएको छ । निर्माणस्थलमा वन र स्थानीयको समस्या रहेकाले निर्माणलाई गति दिन नसकिएको आयोजनाले जनाएको छ ।

उत्पादित विद्युत् खेर जान नदिन समयमै प्रसारण लाइन पूरा हुनुपर्ने मन्त्री पुनले बताए । उनले भने, ‘वन, स्थानीयवासी र सुरक्षा सबैको व्यवस्था गर्ने जिम्मा सरकारले लिन्छ, सुरक्षाबारे गृह मन्त्रीसँग पनि कुरा भइसकेको छ तर काम समयमै सकिनुपर्छ ।’ उनले वनको समस्या समाधान गरिदिन वनमन्त्री शक्तिबहादुर बस्नेतसँग फोनमै कुराकानीसमेत गरेका छन् । वनको समस्या समाधान भए २ महिनाभित्र काम पूरा गर्ने चिनियाँ ठेकेदार सिडब्लुईले प्रतिबद्धता जनाएको छ ।

सिभिल निर्माण दुई महिनाभित्र पूरा भए तार केही समयपछि तान्न सकिने आयोजनाका अधिकारीले बताएका छन् । यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो । त्रिशूली–काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ वटाको निर्माण पूरा भएको छ भने भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ । 

त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन निर्माण हुनुपर्छ । हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरूपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ । निर्माणका लागि हाल २ सय ७० श्रमिक परिचालित छन् । 

मन्त्रिपरिषद्ले महालक्ष्मी मातातीर्थ सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत पर्ने ६ सय ८२ वटा रूख काट्न स्वीकृति दिएको थियो । तर हाल प्रसारण लाइनको रुट केही परिर्तन हुँदा काट्नुपर्ने रुखको संख्या घटेर ३ सय ३६ मा झरेको छ । कटानका स्वीकृतिका लागि फाइन वन विभागका पुगेको छ । 

भूमिगत लाइनका लागि सडक खनिएकाले वर्षायाममा हिलो भएको भन्दै स्थानीयले काममा अवरोध गर्दै आएका छन् । मन्त्री पुनले हिलो बाटोमा ढुंटागिट्टी हाल्दा समस्या समाधान हुने देखिएकाले सोहीअनुसार गर्न निर्देशन दिएका छन् । ५ किलोमिटर प्रसारण लाइनको १ सय ४० वटा टावरमध्ये १ सय २७ को जग हालिसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । प्रसारण लाइन नेपाल सरकार तथा प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । 


Views: 16