22nd September | 2018 | Saturday | 4:38:32 PM

औद्योगिक प्रतिष्ठान ९ लाखभन्दा बढी

लेखनाथ पोखरेल   POSTED ON : Friday, 14 September, 2018 (2:18:12 PM)

औद्योगिक प्रतिष्ठान ९ लाखभन्दा बढी

काठमाडौं । मुलुकभर कुल ९ लाखभन्दा बढी औद्योगिक प्रतिष्ठान रहेको तथ्य सार्वजनिक भएको छ । यी प्रतिष्ठानमा ३४ लाख आठ हजार ७ सय ४६ जनाले रोजगारी पाइरहेका छन् । 

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार देशभर कुल ९ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान छन् । रोजगारी पाउनेका २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला छन् । सरदर एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत छन् । दर्ता भएका व्यावसायिक प्रतिष्ठानमात्र गणनामा समावेश गरिएको छ । 

सबैभन्दा बढी प्रदेश ३ मा ३०.०६ र सबैभन्दा कम कर्णाली प्रदेशमा ६.० प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । जिल्लातर्फ तराईमा बढी र पहाडमा कम छन् । सबैभन्दा धेरै काठमाडौंमा १४ प्रतिशत रहेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ८.०६ प्रतिशत छन् । सबैभन्दा कम मनाङमा ४ सय ८७ प्रतिष्ठान छन् । काठमाडौंपछि झापा, रूपन्देही, मोरङ, सुनसरी, कास्की र चितवनमा तुलनात्मकरूपमा बढी औद्योगिक प्रतिष्ठान छन् । 

गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापीरूपमा गणना गरिएको थियो । सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाइ अर्थात वस्तु तथा उत्पादन विवरण गणनामा समावेश छ । अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलापमध्ये प्रत्यक्ष देखिने १८ क्रियाकलाप अन्तर्गत कृषि, वन, माछापालन, व्यवसायदेखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्यास, वाफ, आपूर्ति, पानी, ढल, फोहोर व्यवस्थापन, बिमा, थोक तथा खुद्रा व्यापार, शिक्षा, सूचना तथा सञ्चार, घरजग्गा कारोबारलगायतलाई गणनामा समावेश गरिएको छ । 

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नतिजा सार्वजनिक गर्दै विवरणले देशको आर्थिक तथ्यांकको आधार खडा गर्ने भएकाले विकासका लागि नयाँ खुड्किलो प्राप्त भएको बताए । प्राप्त सूचकलाई दीर्घकालीन सोचसहितको तथ्यपरक योजना तयार गरी मुलुकको उत्पादकत्व बढाई बेरोजगारी घटाउने रणनीतिमा सरकार र सबैलाई लाभ दिने उनको भनाइ थियो । 

समाजवादउन्मुख अर्थतन्त्रको विकास लक्ष्यसहित आगामी १५औं आवधिक योजनामा आर्थिक गणनाका विवरण उपयोग गरिने आयोगले जनाएको छ । फुयाँलले आर्थिक नीति, निर्माण र विश्लेषणका लागि विवरण सहयोगी हुने बताए । नेपाल आर्थिक गणना गर्ने देशको सूचीमा पहिलोपटक पर्न सफल भएको उनको भनाइ थियो । दक्षिण एसियामा आर्थिक गणना गर्ने मुलुकमा भारत, श्रीलंकापछि नेपाल रहेको उनको भनाइ थियो । 

गणना जापान सहयोग नियोग (जाइका) को सहयोगमा तथ्यांक विभागले गरेको हो ।


Views: 3