22nd September | 2018 | Saturday | 5:11:41 PM

काठमाडौं–पटना–बोधगया बस सेवा

हिमालय टाइम्स   POSTED ON : Friday, 14 September, 2018 (3:06:19 PM)

काठमाडौं–पटना–बोधगया बस सेवा

काठमाडौं । काठमाडौंदेखि भारतको विहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा बससेवा सञ्चालनमा आएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रालिको सहकार्यमा बोधगयासम्म सेवा सञ्चालनमा आएको हो । 

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्तरूपमा हरियो झण्डा फहराइ बससेवाको शुभारम्भ गरेका थिए । त्यस्तै जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बससेवा सञ्चालनमा आउने भएको छ । प्रदशे २ का मुख्यमन्त्री लालबाबु राउतले बस सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । 

स्वयम्भू मञ्जुश्री यातायात प्रालिले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालनसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवासमेत सुरूवात गरेको छ । बससेवाको वेभसाइट बससेवाको मोबाइल एप्स, इसेवाको वेभसाइट तथा मोबाइल एप्लिकेशनबाटसमेत टिकट काट्न सकिनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले दुई देशबीच प्राचीनकालदेखि नै सुमधुरसम्बन्ध रहिआएकोमा पछिल्लो समय दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको बताए । 

सिधा बससेवाले दुवै मुलुकका जनतालाई आवतजावतमा सहजता हुने बताए । नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले पटना, बोधगयालगायत क्षेत्रमा पनि सिधा यातायात सुचारु हुनुले दुई देशबीच यातायात सुविधा अझ सहज हुनुका साथै सम्बन्धलाई अझै उचाइमा पुरयाउने बताए । स्वयम्भू मञ्जुश्री यातायात प्रालिका अध्यक्ष अनिल चालिसेले आगामी दिनमा पनि भारतका अन्य राज्य तथा पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सिधा बससेवा सञ्चालनमा ल्याउने बताए । 

२०५६ देखि काठमाडौं–दिल्ली यात्रु बस सञ्चालन गर्र्दै आएकोमा २०१४ देखि विधिवतरूपमा सरकारीस्तरवाट समेत नेपाल भारत नियमित मैत्री बससेवामा परिणत भएको छ । हाल काठमाडौं–दिल्ली–काठमाडौं, काठमाडौं–वनारस–काठमाडौंका लागि नेपाल भारत नियमित मैत्री बससेवा सञ्चालन हुँदै आएको छ । 


Views: 20