19th October | 2018 | Friday | 4:25:39 AM

विवादको भुमरीमा निजगढ विमानस्थल

हिमालय टाइम्स   POSTED ON : Wednesday, 03 October, 2018 (2:23:05 PM)

विवादको भुमरीमा निजगढ विमानस्थल

काठमाडौ । सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत सतहमा आएका छन् । 

वातावरणपविद्ले लाखौं रूख कटान हुने भनेर चिन्ता व्यक्त गरेका छन् भने विकासवादीले मुलुक समृद्धिका लागि यो आयोजना अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् । आयोजना निर्माण प्रक्रिया अघि बढाउन वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच गम्भीर छलफल भइरहेको दुवै मन्त्रालयले जनाएका छन् । वन मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगाना आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको जानकारी गराउँदै इआइए स्वीकृतिपछि तत्काल आवश्यक रूख काट्न पर्यटन मन्त्रालयले अनुमति मागेको र त्यस बारेमा छलफल भइरहेको जानकारी दिए । 

रूख कटानअघि क्षतिपूर्तिका लागि वृक्षरोपण गर्ने स्थान र योजनाका बारेमा निश्चित गर्न दुवै मन्त्रालयबीच सहमति भइसकेको छ । कुनै पनि आयोजनाका लागि कटान हुने रूखको क्षतिपूर्ति गर्न प्रत्येक एक रूख बराबर २५ नयाँ रूख रोप्नुपर्ने कानुनी प्रावधान छ । वृक्षरोपणको सुनिश्चिततासँगै तत्काल आवश्यक रूख कटान हुने उनले बताए । प्रवक्ता ढुंगानाले भने, ‘विकास गर्दा विवादरहित तरिकाले गर्नुपर्छ, तत्कालको आवश्यकता अनुसारमात्र रूख काट्नु उपयुक्त हुन्छ, हाम्रो चिन्ता वातावरणीय विषयमा मात्रै हो ।’ 

नेपाललाई अन्तर्राष्ट्रियरुपमा सिधा हवाई सम्पर्कमा जोड्ने हाल एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छ । हाल हवाई चाप बढेर हवाइजहाज धेरै समयसम्म हावामै चक्कर लगाउनुपर्दा समस्या परेको छ । तसर्थ सरकारले अर्काे अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तदारुकता देखाएको हो । 

आयोजनाले ओगट्ने कूल क्षेत्रफलका सबै रूख कटान हुने भन्ने चासोका सम्बन्धमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले विमानस्थलले आगट्ने सबै क्षेत्रका रूख कटान नहुने स्पष्ट पारे । दीर्घकालीन सोचअनुसार हालको क्षेत्रफल निर्धारण गरिएको हो । उडान र अवतरणका साथै हवाई सुरक्षाका लागि त्यो क्षेत्रफल आवश्यक पर्छ । 

विमान प्रवेश विन्दुको स्वीकृतिका लागि परामर्श आयोजना स्थलमा रहेको वस्ती व्यवस्थापनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको बताउँदै उनले दुवै मन्त्रालयबीचका संयन्त्रले छलफल गरी काम अघि बढाइरहेको जानकारी दिए । विमानस्थलका लागि आवश्यक पर्ने विमान प्रवेश विन्दुका सम्बन्धमा पनि भारतसँग आवश्यक परामर्श भइरहेको बताउँदै सहसचिव आचार्यले विमानस्थल निर्माण लगानीका लागि भने सार्वजनिक निजी साझेदारी (बुट) मोडलमा छलफल अघि बढेको अवगत गराए ।

प्रस्तावित विमानस्थलले ओगटेको जम्मा क्षेत्रफल आठ हजार ४५ हेक्टर छ । प्रस्तावित क्षेत्रलाई सरकारले विमानस्थल निर्माणस्थल भनी घोषणा गरिसकेको छ । विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकनअनुसार एक हजार ९ सय हेक्टरमा मात्र आधारभूत संरचना निर्माण हुनेछ । यो आयोजना औसत उचाइ समुद्री सतहबाट ७० देखि ३ सय मिटरमा रहेको तराईको भू–भागमा पर्दछ । विमानस्थल निर्माण क्षेत्रमा अवस्थित जंगल सालको वन, कडा काठको वन र खयर सिसौको वनमा वर्गीकरण गरिएको छ । 

आयोजना क्षेत्रमा तथा त्यसको वरपर जम्मा २३ विभिन्न प्रजातिका स्तनधारी प्राणी र करीब ५ सय प्रजातिका चरा पाइन्छन् । आयोजना क्षेत्रमा पर्ने टांगिया, मतियानी र काठघाट बस्तीमा जम्मा एक हजार ६१० घरधुरीको बसोबास छ । आयोजना क्षेत्रमा पाँच लाख ८५ हजार ४९९ वटा रूख र १८ लाख ६४ हजार ८२० वटा पोल आकारका वनस्पति छन् । यस विमानस्थलको पूर्वसम्भाव्यता अध्ययन सन् १९९५ मा गरिएको थियो । धेरै सम्भाव्यस्थानको अध्ययन गरिएकामा बारामा अवस्थित यो क्षेत्र सबैभन्दा उपयुक्त पाइएको हो । 


Views: 45