19th October | 2018 | Friday | 3:32:30 AM

बाग्मतीमा नयाँ मोटरसाइकल दर्ता रोकियो

हिमालय टाइम्स   POSTED ON : Thursday, 04 October, 2018 (2:19:37 PM)

बाग्मतीमा नयाँ मोटरसाइकल दर्ता रोकियो

काठमाडौं । दशैं–तिहारजस्ता चाडपर्वमा सवारी साधनको बिक्री बढ्ने गरेको भए पनि सरकारी अदूरदर्शिता र लापरबाहीका कारण दशैंको मुखमै बाग्मती अञ्चलमा नयाँ मोटरसाइकल दर्ता बन्द भएको छ । बाग्मतीमा मोटरसाइकलका लागि ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेकाले नयाँ मोटरसाइकल दर्ता गर्न प्राविधिक कठिनाइ देखिएपछि दर्ता नै रोकिएको हो ।

यातायात व्यवस्था विभागका अनुसार नियमावलीमा सवारी साधनको लट नम्बर २ डिजिटसम्ममात्रै राख्न पाइने उल्लेख छ । ९९ लटको अन्तिम नम्बरसम्म दर्ता भइसकेका कारण अब नयाँ मोटरसाइकलका लागि कसरी नम्बर दिने भन्ने अन्योल देखिएको हो । सरकारले ९९ लटसम्म पुग्दा नै नियमावलीमा रहेको प्रावधान ख्याल गरेर आवश्यक निर्णय लिएको भए आज यो अवस्था नआउने विभागकै कर्मचारी बताउँछन् ।

दशैं–तिहारको समयलाई मोटरसाइकल बिक्रीका लागि आधिकारिक विक्रेताहरूले ‘मुख्य सिजन’ मान्ने गर्दछन् । मुख्य सिजनमै नयाँ मोटरसाइकल दर्तामा रोक लागेपछि विक्रेताहरू मर्कामा परेका छन् भने दशैंमा विभिन्न छुटको मौका छोप्दै नयाँ मोटरसाइकल चढ्ने योजना बनाएका उपभोक्ता पनि निराश बन्नुपरेको छ ।

एउटा लटमा ९ हजार ९९९ मोटरसाइकल दर्ता हुन्छ । ९९ लट सकिँदासम्म बाग्मती अञ्चलमा ९ लाख ८९ हजार ९०१ मोटरसाइकल दर्ता भइसकेको छ । ९९ लटका सबै नम्बर सकिएपछि अब तीन डिजिट अर्थात १०० को लटमा जानुपर्ने भएकाले नयाँ मोटरसाइकल दर्ता गर्न कानुनी अड्चन उत्पन्न भएको हो । यसका लागि नियमावली संशोधन गरी सवारी साधनको नम्बर दुई डिजिटबाट तीन डिजिटमा जाने बाटो खुलाउनु पर्दछ ।

यातायात कार्यालय (मोटरसाइकल) का प्रमुख गणेश अर्यालका अनुसार मन्त्रिपरिषद्बाट नियमावली संशोधन भएपछि नयाँ मोटरसाइकल दर्ता सुरु गरिने छ । उनले दशैंअघि नै दर्ता खुलाउन प्रयास भइरहेको जानकारी दिए । ‘मन्त्रिपरिषद्बाट नियमावली संशोधनको निर्णय हुनासाथ दर्ता सुरु हुन्छ,’ हिमालय टाइम्ससँग उनले भने, ‘हामी चाँडोभन्दा चाँडो दर्ता खुलाउन प्रयासरत छौं ।’

नयाँ मोटरसाइकल दर्तामा देखिएको प्राविधिक कठिनाइ खुलाउन मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेको विभाग स्रोतले जनाएको छ । नियमावली संशोधनबारे विभागले समयमै पहल नगर्दा मोटरसाइकल बढी बिक्री हुने चाडबाडको सिजनमा दर्ता रोकिएको भन्दै व्यवसायी तथा डिलरहरू आक्रोशित भएका छन् ।


Views: 91