17th December | 2018 | Monday | 2:30:58 AM

चिनीको मूल्य ६३ रुपैयाँ तोक्न निर्देशन

हिमालय टाइम्स   POSTED ON : Friday, 05 October, 2018 (3:22:57 PM)

चिनीको मूल्य ६३ रुपैयाँ तोक्न निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ नै निर्धारण गर्न र १५ दिनभित्र उखु किसानलाई बक्यौता भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । चिनीको मूल्य र किसानको बक्यौता भुक्तानी सम्बन्धमा प्रधानमन्त्रीसमेतको उपस्थितिमा विभागीय मन्त्री, चिनी उद्योगी, उखु किसानबीचको भेलाले चिनीको कारखाना मूल्य प्रतिकेजी ५३ रुपैयाँ र खुद्रा मूल्य ६३ रुपैयाँ कायम हुने निर्णय गरेकोले सोहीअनुसार चिनी बिक्रीको प्रबन्ध मिलाउन समितिले निर्देशन दिएको हो ।

बैठकले चिनीलगायत दैनिक उपभोग्य वस्तुहरूमा भएको अस्वाभाविक मूल्यवृद्धिका सम्बन्धमा छानबिन गर्न उपसमितिसमेत गठन गरेको छ । सांसद लेखराज भट्टको संयोजकत्वमा सांसदहरू प्रदीप यादव, पार्वती डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी सदस्य रहेको उपसमिति गठन गरिएको हो । उपसमितिलाई उक्त विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समयसीमा दिइएको छ ।

बैठकले चाडपर्वको मुखमा चिनीलगायत दाल, तेल, तरकारी एवं पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै बजारमा हस्तक्षेप गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । सांसदहरूले चिनीको बजार मूल्य प्रतिकिलो ६३ रुपैयाँभन्दा माथि नजाने सरकारले बताउँदै आएको भएपनि ८० रुपैयाँभन्दा माथि पुगेको बताएका थिए । त्यस्तै, खाने तेल लिटरमा २५, दाल एवं गेडागुडी केजीमा १५ रुपैयाँभन्दा माथि मूल्यवृद्धि भएको भन्दै उनीहरूले बजार अनुगमनमा जोड दिएका थिए । 

समितिका सभापति भरतकुमार शाहले चिनीको अस्वाभाविकरूपमा मूल्यवृद्धि भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद भट्टले दैनिक उपभोग्यका वस्तुको मूल्यवृद्धि हुँदा जनतालाई समस्या परेको भन्दै बजारलाई सरकारले हस्तक्षेप गर्नुपर्ने बताए भने सांसद चन्दा चौधरीले अहिले बजारका पसलपिच्छे चिनीको मूल्य फरकफरक हुँदा पनि नियमनकारी निकाय मौन बसेको आरोप लगाइन् ।

त्यस्तै, सांसद प्रदीप यादवले चिनी आयातमा प्रतिबन्ध लगाउन नहुने बताए । सांसद राजेन्द्र केसीले एक हप्ताको बीचमा चिनीमा मात्र प्रतिकेजी १५ रुपैयाँसम्म मूल्यवृद्धि भएको बताए । सांसद हृदयेश त्रिपाठी र विरोध खतिवडाले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुन नदिन सरकारले बजारलाई हस्तक्षेप गर्नुपर्ने बताए ।


Views: 62