17th October | 2018 | Wednesday | 10:38:14 PM

चिनीको मूल्य विवाद समाधानका लागि समिति

हिमालय टाइम्स   POSTED ON : Monday, 08 October, 2018 (3:51:07 PM)

चिनीको मूल्य विवाद समाधानका लागि समिति

काठमाडौं । चिनीको मूल्य विवाद चर्किँदै गएपछि सरकारले विवाद सामाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सरकारले चिनीको मूल्य विवाद समाधानका लागि रणनीतिक अध्ययन गर्ने गरी राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका कृषि हेर्ने सदस्य गुरुङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो । समितिमा उखु उत्पादक, चिनी उद्योगी, उपभोक्ताअधिकारकर्मी तथा उद्योग मन्त्रालय र कृषि मन्त्रालयका सहसचिव सदस्य रहने बताइएको छ । 

सरकारले चिनी आयातमा कोटा प्रणाली लागू गरेपछि चिनी उद्योगीले चिनीमा कालोबजारी गरेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । संसदको सार्वजनिक लेखा समितिमा चिनीको मूल्यलाई लिएर चर्को विवाद भएको थियो । केही सांसदहरूले चिनीको मूल्य निर्धारणमा एक अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको आरोपसमेत लगाएका छन् । 

सांसदहरूको उक्त आरोपपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव आक्रोशित बनेका छन् । उनले समिति र संसादमाथि कारबाहीको मागसमेत गरेका छन् । उनले शुक्रबार सभामुख कृष्णबहादुर महरालाई पत्र लेख्दै सार्वजनिक लेखा समिति र समितिका सदस्यमाथि छानविन गरी कारबाही गर्न माग गरेका हुन् । 

लेखा समितिको बिहीबार बसेको बैठकमा चिनीको मूल्य बढाउन एक अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको आरोप लगाउँदै सासदहरूले छानविनको माग गरेका थिए । तर, मन्त्री यादवले मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर लेखा समितिले विना कुनै प्रमाण आरोप लगाएको भन्दै गम्भीर आपत्ति जनाएका थिए । समितिको आरोप तथ्यहीन र कपोकल्पित रहेकाले छानविन गरी दोषीमाथि कडा कारबाही गर्न सभामुखसँग आग्रह गरेका हुन् ।

सभामुखलाई लेखिएको पत्रमा भनिएको छ, ‘संघीय संसद्को सार्वजनिक लेखा समितिले गतअसोज १५का दिन यस मन्त्रालयका दुवै सविच तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई बोलाई छलफल गर्दा एक अर्ब ६९ करोडको चिनीको बजार भाउ बढाउनमा चलखेल भएकोमा हामीमाथि आरोप लगाइएको र पत्रपत्रिकामासमेत सार्वजनिक भएकोले तथ्यहीन आरोप लगाइएकोप्रति खेद व्यक्त गर्दै यथाशीघ्र छानविन गरी दोषीमाथि कडा कारबाहीका लागि हार्दिक अनुरोध गर्छु ।

साथै मन्त्री यादवले चिनीको मूल्य घटाउन नसकिने स्पष्ट पारेका थिए । सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएकामा उनले चिनीको मूल्यको विषय आफ्नो पहुँचभन्दा माथिको विषय भएकाले घटाउन नसकिने स्पष्ट पारेका हुन् । मन्त्री यादवले चिनीको मूल्य घटाउने वा बढाउने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको बताएका छन्् । 

प्रधानमन्त्रीको निर्देशनअनुसारै चिनी आयातको कोटा निर्धारण गरिएको र प्रधानमन्त्रीको निर्देशनअनुसारमात्रै चिनीको मूल्य घटाउन सकिने उनले बताएका थिए । सरकारले स्वदेशी चिनी बिक्री हुन नसकी गोदाममै थन्किने अवस्था आएपछि चिनी आयातको कोटा वार्षिक एक लाख मेट्रिकटन कायम गरेको थियो ।

कोटा निर्धारणपछि चिनी उद्योगीले चिनीको मूल्यवृद्धि गरेका थिए । तथापि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी ७० रुपैयाँभन्दा बढीमा बिक्री नगर्न सचेत गराएको थियो ।


Views: 52