16th December | 2018 | Sunday | 11:10:32 PM

पाँच दिनभित्र उखुको भुक्तानी दिन निर्देशन

लेखनाथ पोखरेल   POSTED ON : Tuesday, 09 October, 2018 (2:20:32 PM)

पाँच दिनभित्र उखुको भुक्तानी दिन निर्देशन

काठमाडौं । सरकारले उखु उत्पादक किसानले पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न चिनी उद्योगीलाई निर्देशन दिएको छ । भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने चेतावनी पनि सरकारले दिएको छ । कारबाहीका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गर्ने भएको छ । 

दशैंको समयमा पनि कृषकको बक्यौता तिर्न उद्योगीले चासो नदेखाएपछि सरकारले यस्तो निर्देशन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको संयोजकत्वमा भएको सरोकारवाल मन्त्रालयको बैठकले उक्त निर्देशन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार सोमबार भएको बैठकमा अर्थमन्त्री, कृषि तथा पशुपक्षी विकासमन्त्री, उद्योग तथा आपूर्तिमन्त्री, वन तथा वातावरण मन्त्री, सामान्य प्रशासनमन्त्री र सचिवहरूको उपस्थितिमा थियो । 

उद्योगीले किसानको पैसा नतिरेपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समितिलगायतले संयुक्तरूपमा सडक आन्दोलनको चेतावनी दिएका थिए । उद्योगीले किसानलाई अपुरो भुक्तानी गरेको र सरकारले पनि अनुदानको रकम नदिएको उनीहरूको भनाइ छ । गत वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयको सिफारिसमा उखु किसानलाई उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदानबापत ६५ रुपैयाँ २८ पैसा गरी प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा दिने निर्णय भएको थियो । निर्णय भएको ६ महिनासम्म भुक्तानी नपाएकोले आन्दोलन गर्न बाध्य भएको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । उनका अनुसार उद्योगीले २ अर्ब र सरकारले अनुदानबापतको १ अर्ब २८ करोड भुक्तानी गर्न बाँकी छ ।  

यसैबीच निर्धारितभन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई सरकारले कडा कारबाही गर्ने भएको छ । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । दशैंको मुखमा व्यवसायीले मनपरी भाउ गर्न थालेपछि सरकार कडा भएको हो । गत बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकेजी ७० भन्दा बढ्न नदिने निर्णय गरेको थियो । 

सरकारले चालू आर्थिक वर्षमा एक लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा रोक लगाउने निर्णय गरेपछि व्यापारीहरूले चिनीको भाउ बढाएका हुन् । 

सोमबारको बैठकले खाद्यान्न, चिनीलगायतका उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्यको अनुगमन अभियानकै रूपमा अघि बढाउने र सबै प्रदेश र स्थानीय तहलाई पनि अनुगमनका लागि आग्रह गर्ने निर्णयसमेत गरेको छ । 


Views: 112