17th October | 2018 | Wednesday | 9:42:34 PM

दशैँमा फलफूलको भाउ नबढ्ने

लेखनाथ पोखरेल   POSTED ON : Tuesday, 09 October, 2018 (2:40:03 PM)

दशैँमा फलफूलको भाउ नबढ्ने

दशैँमा अत्यधिकमात्रमा खपत हुने फलफूलको भाउ स्थिर रहने भएको छ । दशैँमा केरा र स्याउ अत्यधिक खपत हुने गर्दछ । सामान्य अवस्थामा दैनिक ३ देखि ४ सय मेट्रिकटनसम्म फलफूलको खपत हुने गरेकोमा दशैँको समयमा दैनिक एक हजार मेट्रिकटनसम्म खपत हुने व्यापारीहरू बताउँछन् । दशैँको एक हप्तासम्म फलफूलको माग बढ्ने गरेको पाइन्छ । गत वर्षको तुलनामा यस वर्ष फलफूलको मूल्य सस्तो रहेको व्यापारीहरूको भनाइ छ ।

नेपाल तरकारी तथा फलफूल व्यवासयी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले दशैँका फलफूलको भाउ नबढ्ने बताए । दशैँमा बढी माग हुने फलफूल पर्याप्तमात्रामा आयात हुने भएकाले मूल्य बढ्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो । उनका अनुसार हाल केराको थोक मूल्य प्रतिसय कोसाको ४ सयदेखि ५ सय रुपैयाँ छ भने स्याउको थोक मूल्य १२० देखि २५० रुपैयाँसम्म छ । सबैभन्दा महँगो फूजी स्याउको मूल्य २५० रुपैयाँ, झोले स्याउ २०० रुपैयाँ र सानो स्याउको मूल्य १२० रुपैयाँ छ । त्यस्तै अनार प्रतिकेजी १५० देखि १८० रूपैयासम्म छ । अधिकांश फलफूल भारतबाट आउने गरेको छ । मागको ३० स्वदेशी केराले धान्ने गरेको भए पनि बाँकी केरा, स्याउ र अनार भने भारत र चीनबाट आयात हुने गरेको घिमिरेले हिमालय टाइम्सलाई बताए । 

फलफूलमात्र होइन, तरकारीको मूल्य पनि स्थिर रहने उनले बताए । केही दिनदेखि गोलभेंडाको भाउ बढेको भए पनि अन्य तरकारीको मूल्य सामान्य रहेकोले दशैँकै कारण तरकारीको मूल्य बढ्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार बन्दा र काउलीको मूल्य घटेको छ भने अन्य हरियो तरकारीको मूल्य भने केही बढेको छ ।

दशैँ केन्द्रित अनुगमनको तयारी

सरकारले दशैँ केन्द्रित बजार अनुगमनको तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैँलाई लक्षित गरी राजमार्गका होटल तथा रेष्टुरेन्टहरूमा अनुगमन गर्ने भएको छ । साथै दशैँको बिदामा पनि आवश्यकता हेरी अनुगमनको व्यवस्था गरिएको विभागले जनाएको छ । राजमार्गका होटल खानालगायत अधिकांश वस्तुमा उपभोक्तासँग चर्को मूल्य असुल्ने र बासी तथा गुणस्तरहीन खाना खुवाउने गरेको अधिकांश यात्रुको गुनासो छ । सोही गुनासोलाई मध्यनजगर गर्दै विभागले राजमार्गका होटलमा अनुगमनसहित होटलको वर्गीकरण गरी स्टिकर वितरण गरेको छ । तर पनि मूल्यबारेमा अनुगमन हुन सकेको छैन । 

विभागले खाद्य स्वच्छता तथा गुणस्तर अभियान २०७५ अन्तर्गत अनुगमनलाई निरन्तरता दिँदै आएको भए पनि दशैँमा राजधानीबाहिर जाने यात्रुलाई ध्यानमा राखी राजमार्गका होटल तथा रेष्टुरेन्टमा यसै हप्ताभित्र अनुगमन सुरु गरिने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए । विभागले विराटनगरस्थित गोल्छा डेरी घ्यू उद्योग, काठमाडौंको गौशालास्थित अन्नपूर्ण स्वीट्स, व्यन्जन मिष्ठान्न भण्डार, नयाँबानेश्वरस्थित संगम स्वीट्स, धनगढी बजारस्थित वेल्स परिकार, डिलाइट क्याफे, जय बजरंग वली टे«डर्स, भुपेश जेनेरलस्टोर, धनबहादुर बोहोरा किराना पसल र महावीर मिष्ठान्न भण्डारमा अनुगमन गरेको थियो । त्यस्तै वाणिज्य, आपूर्ति र उपभोक्ता हित संरक्षण विभागले दशैँमा दैनिक उपभोग्य वस्तुको अनुगमनलाई तीव्रता दिइने जनाएको छ ।

४२ स्थानमा सहुलियत मूल्य पसल

सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । काठमाडौं उपत्यका र बाहिर गरी करिब ४२ स्थानमा सहुलियत पसल सञ्चालित छन् । उपत्यकावासीलार्ई सहुलियतमा उपभोग्य सामग्री उपलब्ध गराउन काठमाडांैको रामशाहस्थित नेशनल टे«डिङ परिसरमा एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा नेशनल ट्रेडिङ, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानलगायतको संलग्नतामा सञ्चालित सहुलियत पसलमा नून, चिनी, दुग्धजन्य पदार्थ र चामललगायतमा छुट प्रदान गरिएको छ । साल्ट टे«डिङ कर्पोरेसनले विभिन्न बिक्री केन्द्रका साथै मोबाइल भ्यानमार्फत पनि सहुलियत दरमा उपभोग्य सामग्री उपलब्ध गराएको छ । साल्ट टे«डिङले प्रतिकेजी नूनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिएको छ । त्यस्तै खाद्य संस्थानले आफ्ना प्रमुख व्यापारिक वस्तुहरूमा ५ देखि १० रुपैयाँसम्म छुट दिएको छ ।

दुग्ध विकास संस्थानले प्रतिलिटर घ्यूमा ५० रुपैयाँ छुट गरी ८५० रुपैयाँमा उपलब्ध गराउने भएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट दिने गरी ६१० रुपैयाँमा उपलब्ध गराएको छ । संस्थानले काठमाडौंमा सञ्चालित संयुक्त एकीकृत सहुलियत पसलबाहेक काठमाडौंको लैनचौर, न्यूरोड र ललितपुरको खुमलटारमा गरी थप तीन स्थानबाट आफ्ना उत्पादन छुटमा उपलब्ध गराएको छ । काठमाडौंबाहिर हेटौंडा औद्योगिक क्षेत्र र सालिक चोक गरी २ स्थान, विराटनगरमा कञ्चनवारी र महेन्द्रचोक गरी २ स्थान, जनकपुरमा ढल्केवर र भानुचोक गरी २ स्थान, बुटवलमा एक, बाँकेको कोहलपुरमा एक र धनगढीको अत्तरियामा एक गरी कुल करिब एकदर्जन स्थानबाट संस्थानले आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।

२७ हजार रुपैयाँसम्म नयाँ नोट

नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट सहटीको व्यवस्था सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंक लिमिट्रेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालहरूबाट नयाँ नोट सटहीको व्यवस्था गरेको छ । काठमाडौं उपत्यकामा नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालय, टेकू, नयाँबानेश्वर, सानोठिमी, बिशालबजार, नक्साल, कलंकी र बालाजु शाखाबाट सटही गर्न सकिनेछ । त्यसैगरी कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट सटही गर्न सकिनेछ ।

साथै राष्ट्र बैंकले अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थालाई समेत नयाँ नोट सहटीका लागि नोट उपलब्ध गराइएको जनाएको छ । त्यस्तै उपत्यकाबाहिर भने राष्ट्र बैंकका शाखा कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका साथै राष्ट्र बैंकको नोटकोष रहेका वाणिज्य बैंकहरू, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमार्फत सहटीको व्यवस्था मिलाइएको छ । आगामी असोज २९ गतेसम्म सहटी सुविधा लिन सकिनेछ भने सेवाग्राहीले ५, १०, २०, ५० र दरका दुई÷दुई प्याकेट र १०० दरका एक प्याकेट गरी अधिकतमा २७ हजार रुपैयाँ सटही गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ । 


Views: 51