16th December | 2018 | Sunday | 11:13:06 PM

दशैं नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

सविना कार्की   POSTED ON : Tuesday, 09 October, 2018 (6:59:58 PM)

दशैं नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । शहरका अधिकांश पसलमा व्यापारीलाई सामान बेच्न भ्याइनभ्याइ छ । वर्षभरि हुने व्यापारको झण्डै आधा हिस्सा दशैँमा व्यापार हुने व्यापारीको भनाइ छ । 

उपत्यकाको न्यूरोड, महाबौद्ध, भृकुटीमण्डप, चावहिल, जोरपाटीको सानोबजारमा सोमबार सपिङ गर्नेहरूको भीड देखिन्थ्यो । चार÷पाँचजनाको समूहमा भक्तपुरको कौशलटारदेखि किनमेलकै लागि भृकुटीमण्डपमा आएका महिला दशैँको मुखमा किनमेल गर्न निकै सचेत हुनुपर्ने बताउँछन् । अन्य स्थानको तुलनामा भृकुटीमण्डपमा केही सस्तो महसुस गरेर आफू किनमेलका लागि आएको एक महिलाले बताइन् । ‘व्यापारीले त बढाएर मूल्य भन्छन् तर आफूले घटाउन सकेमा सस्तोमा कपडा पाइन्छ’, ती महिलाले भनिन्, ‘तै पनि बजारका अन्य पसलमा तिर्नेभन्दा यहाँ कम मूल्यमा सामान पाइन्छ ।’

सिन्धुपाल्चोकका विष्णुकुमार खड्का परिवारका लागि कपडा किन्न न्यूरोड पुगे । दशैँमा घर जाँदा बालबच्चा र श्रीमतीलाई नयाँ कपडा लग्नैपर्ने बताउँदै उनी भन्छन्, ‘दशैँ भनेकै बालबच्चाका लागि हो, अभिभावकहरू त्यसमै खुशी हुनुपर्छ ।’ विष्णुको साथमा उनकी आठ वर्षीया छोरी थिइन् । बाबासँगै बजार गएर कपडा रोज्न पाउँदा उनी दंग छिन् । 

व्यापारीहरू पनि यो समय भ्याइनभ्याइ मै छन् । ‘व्यापार राम्रो हुने हुँदा जति समय खर्चिए पनि मतलब लाग्दैन’, महाबौद्धका एक कपडा व्यापारीले भने, ‘कोही मूल्य सोधेर जान्छन्, सकेसम्म ग्राहकलाई विश्वास दिलाएर उनीहरूको आर्थिक अवस्थाअनुसारको सामान दिन सक्नुपर्छ ।’ दशैँमा सबैले नयाँ कपडा लगाउने हुँदा अघिपछि भन्दा दशैँको समयमा कपडा पसलमा व्यापार बढ्ने गरेको उनको भनाइ छ ।

पर्यटकका लागि आर्कषक मानिने उपत्यकाको बौद्धमा दशैँका लागि आर्कषक परिहनले पसल रगिंन भएको छ । रकम बढी तिरेर सामान गुणस्तरीय खोज्ने मानिसहरू बौद्धमा सपिङ गर्न आउने बौद्धस्तुपाका स्थानीय व्यापारी रमेश तिवारी बताउँछन् । उनी भन्छन्, ‘नयाँ ग्राहक बनाउन अलि गाह्रो छ तर पुराना गाह्रक आइरहन्छन् ।’ तिवारीका अनुसार बौद्धका अधिकांश पसलमा ब्राण्डेड कपडा पाइने हुँदा मानिसहरू पैसा तिर्न गाह्रो मान्दैनन् । लेडिजका लागि कुर्था–सुरुवाल, साडी, गाउन र जेन्ट्सका लागि सर्ट, पाइन्ट, कोट, टिसर्ट, जिन्स पाइन्ट बिक्री भइरहेको उनी बताउँछन् ।

जोरपाटी ओरालो छेउमै रहेको सानोबजारमा पनि दशैँका लागि सपिङ गर्नेहरूको भीड उत्तिकै देखिन्थ्यो । अरू स्थानमा भन्दा कम मूल्यमा कपडा पाइने हुँदा मानिसहरू सानोबजार आउने एक व्यापारीले बताए । आफूले मासिकरूपमा तिर्नुपर्ने भाडा कम भएकै कारण अन्य ठाउँको तुलनामा यहाँ मूल्य कम रहने उनको दाबी छ । सस्तो मूल्यमा कपडा पाउने हुँदा सानोबजारमा साँखु, दक्षिणढोका, भद्रवास, थली, नारायणटार र जोरपाटीका स्थानीयहरू बढी आउने गरेको स्थानीय व्यापारीको भनाइ छ । 

दशैँमा राम्रो लगाउने र मीठो खाने चाहाना सबैको हुन्छ । ज्याला, मजदुरी गरेर कमाउनेहरू दशैँका लागि पैसा जोगाएर राख्छन् । रौतहटकी कल्पना शाह केही समयदेखि नयाँबस्तीस्थित घर बनाउने ठाउँमा इँट्टा बोक्ने, बालुवा चाल्ने काम गर्दै आएकी छन् । दशैँमा आफूलाई केही सपिङ नगरे पनि दुई छोरीलाई सपिङ गर्ने तयारीमा उनी छन् । कल्पना भन्छिन्, ‘दुःख गरेर कमाएको पैसाले दैनिक जोहो गर्न गाह्रो हुन्छ, तर साहुसँग ऋण मागेरै भए पनि छोरीलाई खुशी बनाउँछु ।’ बालबच्चालाई खुशी बनाउन पाए आफू त्यसमै सन्तुष्ट हुने उनले बताइन् ।


Views: 163