19th November | 2018 | Monday | 2:09:42 AM

लुक्लाका पर्यटकले मन्थलीका होटल भरिभराउ

वद्री नयाँघरे   POSTED ON : Tuesday, 30 October, 2018 (2:09:46 PM)

लुक्लाका पर्यटकले मन्थलीका होटल भरिभराउ

रामेछाप  । पछिल्लोसमय मन्थलीमा बाहृय पर्यटकको चाप बढेको छ । पर्यटकको चापसँगै केही महिना अघिसम्म सुनसान रहेका मन्थलीका होटल यतिखेर खचाखच रहेका छन् । आकाशे विमानस्थलका ती होटललाई अहिले भ्याइनभ्याइ छ । 

पर्यटकीय सिजन सुरुसँगै मन्थलीको विमानस्थल प्रयोग गर्दै सोलु लुक्का जाने विदेशी पर्यटक बढेपछि सदरमुकाम मन्थलीको होटल व्यवसाय फस्टाएको हो । काठमाडौंबाट सवारी साधनमा रामेछाप आउने पर्यटक तीन विमान कम्पनी तारा एयर, समिट एयर र सीता एयरबाट सगरमाथा आधार शिविरतर्फ पर्यटक ओसार्न थालेपछि विमानस्थल ब्यस्त रहेको र होटल तथा पसलको व्यवसाय ६० प्रतिशतले वृद्धि भएको स्थानीय राजकुमार श्रेष्ठले बताए । लुक्ला विमानस्थलमा छिनछिनमै मौसमा खराबी आउँदा पर्यटक सदरमुकाम मन्थलीमै रोकिनुपर्दा मन्थलीका होटलमा पर्यटक भरिभराउ हुने गरेका छन् ।  मन्थली विमानस्थलबाट दैनिक ५ देखि २४ वटासम्म उडान हुने गरेका छन् । यति धेरै उडान यसअघि हुने गरेको थिएन । नियमित धेरै उडान हुँदा मन्थली विमानस्थलबाट दैनिक करिब चार सयको हाराहारीमा पर्यटक उड्ने गरेको नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख केदारप्रसाद सत्यालले जानकारी दिए । 

उनले भने– पर्यटकको सिजनसँगै रामेछापमा आउने जहाजको संख्यामा वृद्धि भएको छ । कुनै दिन ५ देखि ७ फ्लाइटमात्र हुन्छ भने मौसम सफा हुँदा दैनिक २४ उडान हुने गरेका छन् । यतिधेरै उडान हुँदा बिहानको खाना खानेसमेत फुर्सद नहुने उनले गुनासो गरे । मन्थलीबाट तीन वायुसेवा कम्पनीले उडान गरेपनि सीता र समिट एयरको सम्पर्क कार्यालय नहुँदा पर्यटकलाई समस्या पर्ने गरेको छ । तीन वायुसेवा कम्पनीले केही कर्मचारी र लोडर काठमाडौंबाट झिकाइ  अस्थायीरूपमा काम गर्दै आएका छन् । लुक्ला जाने पर्यटकले रामेछाप आउनुअघि नै काठमाडौंबाटै लुक्कालाका लागि हवाई टिकट लिएर ट्राभल एजेन्सीमार्फत् माइक्रोबसमा बिहान काठमाडौंबाट हिँड्ने पर्यटक बिहान ९ बजेअघि नै लुक्ला पुगिसक्ने गरेका छन् । 

रामेछापमा उडान र अवतरण गर्दा जहाजलाई आकाशमा उडाएर पालो कुर्नु नपर्ने भएकाले चाँडोचाँडो उडान भर्न सहज भएको हो । काठमाडौं विमानस्थल ब्यस्त भएकाले चाहेजति उडान गर्न नसक्दा विमान कम्पनीले मन्थलीबाट उडान भर्र्न थालेका हुन् । काठमाडौं विमानस्थलबाट एक उडान गर्दा रामेछापबाट तीनपटकसम्म उडान हुने तारा एयर रामेछापका स्टेशन प्रमुख प्रवीण सुवेदीले जानकारी दिए ।  नेपाल आयल निगमले मन्थलीमा हवाई इन्धनको डिपो सञ्चालन गर्दा उडान र अवतरणका लागि सहज भएपनि निगमका कर्मचारीको बेवास्थाका कारण बारम्बार डिपोमा इन्धन नहुँदा हवाई कम्पनीले चाहेजति उडान भर्न नसकेको गुनासो स्थानीय युवराज श्रेष्ठको छ ।


Views: 83