19th December | 2018 | Wednesday | 12:33:28 AM

चार महिनाको व्यापारघाटा साढे चार खर्ब

लेखनाथ पोखरेल   POSTED ON : Friday, 30 November, 2018 (2:13:00 PM)

चार महिनाको व्यापारघाटा साढे चार खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रथम चार महिनाको व्यापारघाटा साढे चार खर्ब नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि कातिकसम्ममा ५ खर्ब १३ अर्बभन्दा बढीको आयात भएको छ । जसका कारण व्यापारघाटा ४०.३ प्रतिशतले बृद्धि भई ४ खर्ब ५४ अर्ब पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.१ प्रतिशतले बढी हो । आव २०७४÷७५ को प्रथम चार महिनाको अवधिमा निर्यात–आयात अनुपात १ः१३.२ रहेकोमा आव २०७५÷७६ को सोही अवधिमा निर्यात–आयात अनुपात १ः१६.५ पुगेको छ । अघिल्लो वर्षको तुलनामा निर्यातमा सुधार आएपनि अत्यधिक आयातका कारण व्यापारघाटा चुलिएको केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले बताएका छन् । कुल व्यापारमा निर्यात तथा तथा आयातको योगदान क्रमशः ५.७ प्रतिशत र ९४.३ प्रतिशत रहेको छ । कुल निर्यात १०.७ प्रतिशतले वृद्धि भई २९ अर्ब २८ करोड तथा कुल आयात ३८.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ८३ अर्ब पुगेको छ । खासगरी पेट्रोलियम पदार्थ अत्यधिक आयातका कारण व्यापारघाटा चुलिएको केन्द्रको भनाइ छ । चालु आवको चार महिनामा ६९ अर्बभन्दा बढीको पेट्रोलियम आयात भएको छ, जुन कुल आयातको १४ प्रतिशत हो, त्यस्तै दोस्रोमा ५८ अर्ब बराबरका फलामका उत्पादहरू आयात भएका छन्, जुन कुल आयातको १२ प्रतिशत हो । त्यस्तै मेसिनरी तथा पार्टस् र यातायातका साधन तथा पार्टस् गरी ७४ अर्ब बराबरको आयात भएको छ, जुन कुल आयातको १५ प्रतिशतभन्दा बढी हो ।

त्यसैगरी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान १८ अर्ब, हवाई जहाज तथा पार्टस् १७ अर्ब, खाद्यान्न १४ अर्ब, तयारी पोसाक १३ अर्ब, सुन ११ अर्बभन्दा बढीको आयात भएको छ । त्यस्तै नेपालबाट सबैभन्दा बढी २ अर्ब ९३ करोड ३१ लाखको धागो निर्यात भएको छ भने ऊनीको गलैँचा २ अर्ब ७६ करोडको निर्यात भएको छ । तयारी पोसाक २ अर्ब ४० करोडको निर्यात भएको छ । कुल निर्यातमा धागोको योगदान १०, गलैंचाको ९.४, तयारी पोसाकको ८.२, फलाम तथा फलामका उत्पादनको योगदान ७.६ प्रतिशत रहेको छ । विगत वर्षहरू अलैंची निर्यात एक नम्बरमा रहेकोमा अहिले ३.३ प्रतिशतमा खुम्चिन पुगेको छ ।

नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा पोलिस्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोसाक, फलाम तथा स्टिल र तिनका उत्पादनहरू, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरू, फेल्टका सामान, मुसुरोको दाल, शिरपोस, तामाका सामान, टुथपेष्ट, चाउचाउ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकला, सुती झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि प्रमुख रहेका छन् । नेपालको निर्यात व्यापारमा भारत, अमेरिका, जर्मनी, वेलायत, टर्की, चीन, बंगलादेश, इटाली, जापान, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र डेनमार्क आदि प्रमुुख रहेका छन् । आयातमा भारत, चीन, फ्रान्स, युएई, थाइल्याण्ड, इण्डोनेसिया, स्वीट्जरल्याण्ड, मलेसिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, अमेरिका प्रमुुख रहेका छन् । 

यसैबीच आगामी डिसेम्बरको पहिलो हप्ता आयोजना हुने विश्व व्यापार संगठन (डव्लूटीओ) बैठकमा नेपालको व्यापार नीति पुनरावलोकनबारे छलफल हुने भएको छ । डिसेम्बर ३ र ५ तारिकमा नेपाललगायत डब्लुटीओ सदस्य मुलुकबीच नेपालको विद्यमान व्यापार नीतिका बारेमा छुट्टै छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खासगरी सन् २०१२ देखि २०१८ सम्म नेपालले अघि सारेका व्यापार नीतिका बारेमा सदस्य राष्ट्रहरूबीच छलफल र पुनरावलोकन हुने वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिएका छन् । नेपालले अवलम्बन गरेका व्यापार नीति र आगामी दिनमा गरिने नीतिगत सुधारबारेको विवरण सम्बन्धित सदस्य राष्ट्रमा यसअघि नै पठाइसकेको छ । सचिव घिमिरेका अनुसार विभिन्न सदस्य राष्ट्रहरूले नेपालको व्यापार तथा लगानी नीतिका बारेमा १११ वटा जिज्ञासा राखेकोमा सबै जिज्ञासाको जवाफसमेत पठाइसकिएको छ । सदस्य राष्ट्रहरूले खासगरी नेपालमा लगानी, सम्भाव्य क्षेत्र, जलविद्युत, पर्यटन, कृषिका साथै अन्य भौतिक पूर्वाधारका बारेमा बढी चासो व्यक्त गरेको मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवालीले जानकारी दिए । उक्त बैठकको नेतृत्व वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले गर्दैछन् । बैठकमा उनले नेपालको व्यापार तथा लगानी नीतिका साथै वैदेशिक लगानी आकर्षित गर्न नेपालले सुरु गरेका सुधारात्मक नीतिगत प्रयासकाबारेमा प्रस्तुति गर्ने कार्यक्रमसमेत रहेको छ । प्रतिनिधिमण्डलमा सहसचिव तोयनारायण ज्ञवाली, परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थ वाग्लेलगायतको सहभागिता रहने छ । प्रत्येक ६ वर्षमा हुने गरेकोमा यो दोस्रो बैठक हो । हाल डब्लूटीओमा नेपाललगायत विश्वका १६४ सदस्य राष्ट्र आबद्ध रहेका छन्, जसमा ३६ वटा कम विकसित मुलुक रहेका छन् ।  


Views: 52