19th December | 2018 | Wednesday | 1:38:48 AM

शेयरमा दोहोरो अंकको गिरावट

हिमालय टाइम्स   POSTED ON : Monday, 03 December, 2018 (2:49:37 PM)

शेयरमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का अनुसार आइतबार कारोबार मापक नेप्से परिसूचक १७.७३ अंकले घटेर ११३०.६३ पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले घटेर २४०.२६ पुगेको छ । 

आइतबार कुल १५६ कम्पनीको १४ लाख ४२ हजार १३८ कित्ता शेयर ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । कारोबार भएका कुल ११ समूहमध्ये व्यापार समूहको मात्र शेयर २.९६ अंकले बढेको छ । तर बंैकिङ १५.५८, होटल ३३.२६, विकास बैंक ११.३३, जलविद्युत् १६, फाइनान्स ५.०७, निर्जीवन बीमा १३९.५१, उत्पादन २.७३, अन्य ७.७३, लघुवित्त २८.८५ र जीवन बीमा १०५.६७ अंकले घटेको छ ।

विजय लघुवित्त वित्तीय संस्था, तिनाउ डेभलपमेन्ट बैंक, विशाल बजार कम्पनी, कालीका पावर कम्पनी र रैराङ हाइड्रो पावर कम्पनीको शेयर मूल्य बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, बरुण हाइड्रोपावर र नागबेली लघुवित्त विकास बैंकको घटेको छ ।

यसैबीच आइतबार विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र इन्भेष्ट एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

उल्लिखित कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको नेप्सेले जनाएको छ । कोषले आव २०७४÷७५ मा गरेको नाफाबाट २२.०६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रतिकित्ता एक हजार ७९१ हुने गरी शेयरमूल्य समायोजन गरेको हो । 

त्यस्तै नेशनल माइक्रोफाइनान्स कम्पनीले पनि २५ प्रतिशत शेयर लाभांश दिएसँगै प्रतिकित्ता एक हजार ४१३ हुने गरी शेयरमूल्य समायोजन गरेको छ । उक्त कम्पनीको औसत आधार मूल्य एक हजार ३८६ कायम भएको छ । इन्भेष्ट एण्ड फाइनान्स कम्पनीले १.२३ प्रतिशत शेयर लाभांश कर प्रयोजनसहित ८.७७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । लाभांश वितरणपछि नयाँ शेयर मूल्य १४२ हुने गरी मूल्यमा समायोजन भएको छ ।


Views: 42