19th December | 2018 | Wednesday | 12:54:39 AM

जनशक्तिको प्रक्षेपण गर्दै सरकार

हिमालय टाइम्स   POSTED ON : Tuesday, 04 December, 2018 (2:23:32 PM)

जनशक्तिको प्रक्षेपण गर्दै सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीलाई उच्च प्राथमिकता दिएको बताएका छन् । उनले सरकार स्वदेशमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्दै जाने लक्ष्यका अघि बढिरहेको बताए । सोमबार राजधानीमा आयोजित सूचना प्रविधि क्षेत्रमा रोजगारीका अवसर विषय अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री विष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए । मुलुकमा बढ्दो व्यापारघाटा न्यूनीकरण गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सिर्जनाको विकल्प नभएको उनको भनाइ थियो । मन्त्री विष्टले सूचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशस्त रोजगारीको अवसर सृजना गर्न सकिने भन्दै आगामी आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रको विकासका लागि पर्याप्त बजेटको व्यवस्था गरिने बताए । साथै उनले सूचना प्रविधि क्षेत्रको विकास र विस्तार गरी रोजगारी सिर्जनाका लागि आवश्यक सुझाव पेश गर्न पनि उनले निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले भने– अन्य क्षेत्र जस्तै सूचना प्रविधि क्षेत्रमा पनि लाखौंको रोजगारी सिर्जना संभव छ, त्यसका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नेछ । उनले नेपालमा रहेको मध्यमस्तरको जनशक्तिमा चरम निराशा रहेको भन्दै मध्यमस्तरीय जनशक्तिको व्यवस्था चुनौतीपूर्ण बन्दै गएको पनि बताएका छन् ।

सरकारले आगामी पाँच वर्षभित्र सूचना प्रविधिको क्षेत्रमा ८५ हजार जनशक्तिका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले नेपालको कुन क्षेत्रमा कति जनशक्ति आवश्यक रहेको छ भन्ने बारेमा मन्त्रालयले अध्ययन सुरु गरेको बताए । जसका लागि जनशक्ति प्रक्षेपण कार्यदल गठनसमेत भइरहेको उनले जानकारी गराए । यसअघि २०२१ सालमा नयाँ शिक्षा लागू भएसँगै जनशक्तिको प्रक्षेपण गरिएको थियो । त्यसयता शिक्षण संस्थाहरूले आफूखुशी जनशक्ति उत्पादन गर्दै आएका छन् । सचिव बरालले नेपालमा रेल सञ्चालनको तयारी रहे पनि रेलसँग सम्वन्धित जनशक्तिको अभाव रहेकोले वाहिरैबाट आपूर्ति गर्नुपर्ने अवस्था रहेको उनले बताए । त्यस्तै सरकारले हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिएकोमा त्यस्तो शिक्षालयका लागि पनि दक्ष जनशक्ति अभाव रहेको उनले जानकारी गराए । प्रविधि र सम्बन्धित क्षेत्रको पूर्वाधार अभावका विदेश पलायन भएको जनशक्तिलाई पनि स्वदेश फर्र्काएर काम गराउनक्ने अवस्था नरहेको उनले बताए । सोही कारण विदेशमा अध्ययन पूरा गरेर फर्किएकाहरू फेरि उतै जाने गरेको उनको भनाइ थियो । उनका अनुसार गत आर्थिक वर्षमा नेपालमा ५७ हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विदेशिएका थिए, जसमध्ये ३१ हजार विद्यार्थीको गन्तव्य अष्टे«लिया रहेको थियो । उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले सूचना प्रविधि क्षेत्रमा ठूलो रोजगारी सिर्जनाको सम्भावना रहेको भएपनि हालसम्म सूचना प्रविधिसम्बन्धी ४६ वटा उद्योगमात्रै दर्ता भएको जानकारी गराए । उनका अनुसार हालसम्म विभिन्न क्षेत्रका कुल ७ हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । सो अवसरमा प्रधानमन्त्रीका सूचना प्रविधि सम्बन्धी सल्लाहकार अस्गर अली, पूर्वमन्त्री गणेश शाह, क्यान महासंघका पूर्व अध्यक्ष विनोद ढकाल, विप्लवमान सिंह, अध्यक्ष अजय चौरसियालगायतले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएका थिए । 


Views: 44