19th December | 2018 | Wednesday | 12:32:40 AM

लुम्बिनी एक्स्पो–२०७५ मा पर्यटनलाई बिशेष प्राथमिकता

चन्द्रकान्त खनाल   POSTED ON : Tuesday, 04 December, 2018 (8:45:00 PM)

लुम्बिनी एक्स्पो–२०७५ मा पर्यटनलाई बिशेष प्राथमिकता

रुपन्देही । रुपन्देही व्यापार संघको आयोजनामा आगामी पुस ५ गतेबाट बुटवलमा हुने लुम्विनी एक्स्पो–२०७५ मा पर्यटनलाई बिशेष प्राथमिकता दिइने भएको छ ।

यसक्रममा बिभिन्न भ्रमण योजनाहरु बनाइ  बाह्य पर्यटकहरुलाई यस क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहको जानकारी गराउने र स्थानीय बासिन्दालाई पर्यटन क्षेत्रमा  आकर्षित गर्न र लगानीका सम्भावना खोजीगर्न गोष्ठि अन्तक्र्रिया लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।

पर्यटन प्रवद्र्धनका लागि मेला स्थलमा नेपाली सेनाको सहयोगमा ऐतिहासिक जीतगढी किल्लाको झल्को दिने गरी स्थल पार्क निर्माण, पर्यटनमा लगानीका सम्भावनाको खोजीका लागि बिभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी भईरहेको संघका महासचिव तथा मुल समितिका सदस्य सचिव प्रकाश ढकालले जानकारी दिए।

संघले लुम्बिनी एक्स्पोका उद्देश्यमा ३ वटै तहका सरकारको ध्यान केन्द्रीत गराइ यस क्षेत्रलाई व्यापारिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनि उल्लेख गरेकोमा त्यसलाई अगाडी बढाउने गरी गतिविधि गर्ने गरी योजना बनाइएको संघले जनाईएको छ ।

पौष ५ गतेदेखि १८ गतेसम्म बुटवलमण्डपमा आयोजना हुने मेलामा स्टल दर्ताको काम धमाधम भईरहेको छ । करिव ६ सय स्टल निमार्ण गरिएकोमा अहिलेसम्म आधाभन्दा बढी स्टल दर्ता भईसकेको स्टल दर्ता उपसमितिका संयोजक यमलाल लोहनीले बताए।

मेलाको ८ लाखले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार गर्ने लक्ष लिईएको छ । मेलास्थल बुटवलमण्डपमा सचिवालय स्थापना गरी आयोजनाका सबै काम त्यहीबाट भैरहेको छ । बुटवलमण्डपमा सरसफाई गरी स्टल, सचिवालय, खानेपानी, शौचालय, मञ्च लगायतका निर्माणको काम भैरहेको छ । मेलामा प्रबिधि तथा उत्पादनमुलक कृषि जन्य उद्योग, अटो, घरेलु, हस्तकला, गार्मेन्टहरुको सहभागिताका लागि अहिले बिशेष पहल गरिरहेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी दिए ।


Views: 46