24th July | 2019 | Wednesday | 3:01:30 PM

ढिलासुस्ती र भष्टाचारमुक्त सेवामा जोड

हिमालय टाइम्स   POSTED ON : पुष २४, २०७५ (७:१८ AM)

ढिलासुस्ती र भष्टाचारमुक्त सेवामा जोड

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । उनलाई सरकारले पुस १९ गते प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोहीअनुसार ३ वर्षका लागि उनी नियुक्त भएका हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनका आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे । उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजना अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अघि बढ्न कर्मचारीलाई निर्देशन दिए । काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमिततालगायतका कुरामा कसैसँग सम्झौता नगरिने पनि उनले बताए ।

परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकूल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमै सम्पन्न गरिने, १ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई तत्काल सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउने कार्यक्रम ल्याइने, एफटिटिएच सेवालाई मुख्य सहर तथा पकेट क्षेत्रमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने जानकारी दिए । त्यस्तै कर्पोरेट र इन्टरप्राइज बिजनेसलाई विशेष जोड दिइने, मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कलाई तीव्रता दिइने र मोबाइल फाइनान्सियल सेवा तथा आइपी टिभी सेवालाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने प्रतिवद्धतासमेत व्यक्त गरे । अधिकारी यसअघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धकमा कार्यरत थिए । तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरेका उनी २०६५ मा वरिष्ठ इन्जिनियर, २०७० मा उपप्रबन्धक र २०७५ वैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत थिए । यसबीचमा उनी कम्पनीका विभिन्न निर्देशनालय र विभागमा कार्यरत थिए । उनीसँग एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सहप्रवक्ता र नोडल अधिकृतसमेतको कार्यानुभव रहेको छ । 


Views: 109