24th July | 2019 | Wednesday | 2:09:46 PM

मलेसिया खुल्न अझै दुई महिना

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७५ (७:१४ AM)

मलेसिया खुल्न अझै दुई महिना

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको पहिलो गन्तव्य बनेको मलेसियाको रोजगारी खुल्न अझै कम्तीमा दुई महिना समय लाग्ने भएको छ । मलेसिया सरकारका मानव संसाधन राज्यमन्त्री महफुज ओमारका अनुसार नेपाली कामदार लैजान अझै दुई महिनाको समय लाग्ने भएको हो । 

विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन आएपछि मात्रै समस्या समाधान हुने ओमारले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया सरकारले विदेशी कामदारहरूका लागि नयाँ नीति बनाउन एक कार्यदल नै गठन गरेर अध्ययन गरिरहेको उनले बताए । कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक भएपछि नेपाली कामदार लैजान सुरु गरिने उनले बताए । द सन डेलीको अनलाइन संस्करणले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘प्रतिवेदन छलफलका चरणमा छ । वैदेशिक कामदारसम्बन्धी नीति सोही कार्यदलको सुझाव अनुसार कामदार आपूर्तिका विषयमा टुंगो लाग्ने छ ।’

समझदारी अनुसार सहमति जुटेन 

नेपालबाट मलेसिया कामदार पठाउने प्रक्रिया गत जेठबाट बन्द छ । लामो समय कामदार पठाउन बन्द गरिएपछि मलेसिया सरकार र नेपाल सरकारबीच श्रम समझदारी भएको थियो । गत कात्तिक १२ गते कामदारको भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारीपत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका तर्फबाट मानव संसाधन मन्त्री एमकुला सेगरनले हस्ताक्षर गरेका थिए ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदार मलेसिया जान थालेको दुई दशकपछि भएको समझदारी अनुसार कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्बन्धित रोजगारदाताले नै बेहोर्नुपर्ने छ । उक्त समझदारी अनुसार मलेसिया अगाडि नबढ्दा नेपाली कामदार पठाउन समस्या भइरहेको छ । 

त्यसो त मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेको थियो तर नेपाल सरकारले त्यसलाई अस्वीकार गरेको थियो । कामदारमाथि बिचौलिया संयन्त्र खडा गरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही संयन्त्रमार्फत मलेसिया पठाउन नसकिने जवाफ श्रम मन्त्रालयले दिएको थियो ।

नेपालको अडान र अन्य श्रमिक पठाउने देशको चासोपछि मलेसियाले कामदार आपूर्ति नीति परिमार्जन गर्ने गरी कार्यदल बनाएर काम गरिरहेको छ । अब यो कार्यदलले प्रतिवेदन दिएपछि मात्रै नेपाली कामदार लैजाने तयारीमा मलेसिया छ ।

तत्काल केही भन्न सकिन्न : सचिव दाहाल

मलेसिया कामदार पठाउने विषयमा तत्काल केही भन्न सक्ने अवस्था नरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल बताउँछन् । 

मलेसिया सरकारले कामदार आपूर्ति नीति परिवर्तन गरिरहेको बारेमा केही जानकारी आफूले पनि प्राप्त गरेको तर पछिल्लो समय सरकारी पक्षसँग कुनै पनि प्रकारको सम्पर्क नभएको उनले बताए । ‘सरकारले नेपाली कामदारको हितमा मलेसिया सरकारसँग समझदारी गरेको छ । नेपाली कामदारलाई त्यही समझादारी अनुसार पठाइन्छ,’ उनले भने, ‘बरु केही महिना अझै ढिला होला तर नेपाली कामदारको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी नभएसम्म कामदार पठाउने कुरा आउँदैन ।’


Views: 120