22nd March | 2019 | Friday | 8:17:51 AM

आयल निगमको १५ दिनको नाफा एक अर्ब ३३ करोड

हिमालय टाइम्स   POSTED ON : पुष २५, २०७५ (७:३७ AM)

आयल निगमको १५ दिनको नाफा एक अर्ब ३३ करोड

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएपछि नेपाल आयल निगम पनि नाफामा जान थालेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही मजबुत भएका कारण इन्धनको मूल्य घट्न गएकाले नाफा बढ्ने क्रममा रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् । 

सोही कारण निगमले १ जनवरीदेखि १६ जनवरीसम्म १५ दिनमा एक अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गर्ने भएको छ । चालु आर्थिक वर्षको डिसेम्बरसम्मको घाटा भने २ अर्ब २७ करोड रहेको थियो । चालु आर्थिक वर्षको विगत केही महिना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्यधिक घाटा हुन गएका कारण करिब २ अर्ब ३७ करोड रुपैयाँ घाटामा रहेको निगमको भनाइ छ ।

निगमले गत जनवरी २ मा मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको थियो । मूल्य समायोजनसँगै पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ छ । मूल्य समायोजनपछि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन मुनाफामा रहेको भए पनि एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ८० रुपैयाँ ९० पैसा घाटा रहेको निगमले जनाएको छ । 

निगमका अनुसार मूल्य समायोजनपछि पनि भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्य पेट्रोल प्रतिलिटर १० रुपैयाँ ४१ पैसा र डिजेल प्रतिटिर १२ रुपैयाँ सस्तो छ । निगमले गत पुस ३ गते अर्थात् डिसेम्बर १८ मा पनि मूल्य समायोजना गर्दै पट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको थियो । त्यतिबेला निगम करिब ३ अर्ब २६ करोड घाटा रहेको थियो । तत्कालीन मूल्यअनुसार पेट्रोललमा प्रतिलिटर १३ रुपैयाँ ७१ पैसा, डिजेलमा प्रतिटिलर ९ रुपैयाँ ८५ नाफा र एलपी ग्याँसमा प्रतिसिलिण्डर २८४ रुपैयाँ ८३ पैसा घाटामा रहेको थियो ।


Views: 62