25th June | 2019 | Tuesday | 3:09:11 AM

राजविराज बसपार्कको काम फेरि अवरुद्ध

अनिल पोखरेल   POSTED ON : पुष २५, २०७५ (७:४० AM)

राजविराज बसपार्कको काम फेरि अवरुद्ध

राजविराज । चौथोपटक सिलान्यास गरिएको ‘राजविराज बसपार्क’ निर्माणको काम पुनः अवरुद्ध भएको छ । निजी जग्गा हडपेको भन्दै स्थानीय केही व्यक्तिले राजविराज नगरपालिकाविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि निर्माण कार्य प्रभावित भएको हो ।

उच्च अदालत जनकपुरले गत कात्तिक २६ गते नगरपालिकाका नाममा निशेधाज्ञा जारी गरेको छ । सुरुती कुमारी, शुभ नारायण दास, विष्णुप्रसाद सिंह, रीता दास, घनश्याम दास, रामकुमार दास ललितादेवी दासले बसपार्क निर्माणका क्रममा आफूहरूको जग्गा हडपेको भन्दै नगरपालिकाविरुद्ध मुद्दा दायर गरेका छन् ।

क्रमिकरूपमा एक पछि अर्को मुद्दा पर्न थालेपछि काम गर्ने वातावरण नभएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख रमेश थिङले बताए । उनले भने, ‘एकैपटक पाँचवटा मुद्दा खेप्दैछौं’, निवेदकले माग दाबी नगरेको भागमा काम हुँदै थियो । २०४४ साल माघमा पहिलोपटक राष्ट्रिय उद्यानसहितको बसपार्क निर्माणका क्रममा नगरपालिकाले व्यक्तिसँग पनि जग्गा सट्टापट्टा गरेको र तिनै व्यक्तिले अहिले पुरानो जग्गामा दाबी गर्न थालेपछि समस्या बढेको थिङले बताए ।

नगरपालिकाले दिएको जग्गा पनि उनीहरू नै भोगचलन गरिरहेका छन । उनले भने, ‘कागजीरूपमा नगरपालिका कमजोर हुँदा समस्या आयो ।’ बसपार्क निर्माणका लागि वडा २ मा ४ बिघा १४ कठ्ठा जग्गामध्ये २०३६ सालपछि मात्रै राजविराज नगरपालिकाको स्वामित्वमा आएको हो । ४÷५ वर्षअघिसम्म पनि जग्गाको स्वामित्वको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलेको थियो । 

पुराना जमिन्दारले आफन्त र कामदारका नाममा जग्गा राख्ने चलनअनुसार काम गर्ने मानिसको नाममा राखिएको जग्गा जबरजस्ती कब्जा गरिएको भन्दै २०५१÷५२ मा सर्वोच्चमा मुद्दा परेको थियो । तर २०६९÷७० सर्वोच्चले मुद्दा खारेज गरेपछि जग्गाको स्वामित्व नगरपालिकामा आएको थियो । एक पूर्वजनप्रतिनिधिका अनुसार २०२४÷२५ सालसम्म तत्कालीन राजविराज–१ निवासी अमरसिंह चौधरीको नाममा रहेको साढे ३ बिघा जग्गा जिम्दारी (पोत) नबुझाएका कारण लिलाम भएको थियो । 

मलेठ निवासी मोहन मण्डलले लिलाम सकारे पनि सो अनुसारको रकम नबुझाउँदा लिलाम खारेज भयो । स्वतः सरकारी स्वामित्वमा गएको सोही जग्गा यतिबेला बसपार्कका लागि तयार गरिएको हो । सहरी विकास मन्त्रालयको १७ करोड लागतमा निर्माण हुन लागेको बसपार्कको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले २०७४ माघ २६ गते संयुक्तरूपमा शिलान्यास गरेका थिए । 

२०७७ पुस १८ भित्र सम्पन्न गर्ने गरी काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालिले निर्माणको ठेक्का लिएको छ । बसपार्कमा सेड, घन्टाघर, भित्री सडक, सर्भिस सेन्टर, शौचालय, टर्मिनल भवन तथा वाउन्ड्रिवालसमेत गरी भ्याटबाहेक १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँ लागतको योजना छ ।

बसपार्क निर्माणको काम फेरि रोकिएपछि स्थानीयवासी चिन्तित बनेका छन् । २०४४ साल माघमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली र २०५२ साल असारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बसपार्कको शिलान्यास गरेका थिए ।


Views: 88