25th June | 2019 | Tuesday | 6:25:20 AM

निगम नसुध्रिए इन्धनको कारोबार निजी क्षेत्रलाई, एलपी ग्यासमा दुईथरी मूल्यको तयारी

हिमालय टाइम्स   POSTED ON : पुष २७, २०७५ (७:१२ AM)

निगम नसुध्रिए इन्धनको कारोबार निजी क्षेत्रलाई, एलपी ग्यासमा दुईथरी मूल्यको तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले एलपी ग्यासमा दुईथरी मूल्य छिटै कार्यान्वयनमा ल्याइने बताएका छन् । व्यावसायिक प्रयोजनको ग्यासमा अब सरकारले अनुदान दिन नसक्ने भन्दै रातो र निलो सिलिन्डर छिटै कार्यान्वयनमा ल्याउन नेपाल आयल निगमलाई सुझावसमेत दिएका छन् । आयल निगमको ४९ औं वार्षिकोत्सवको उद्घाटन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । उनले भने– २० रुपैयाँमा चिया बिक्री गर्ने होटल र एक सय रुपैयाँमा चिया बिक्री गर्ने होटलले प्रयोग गर्ने ग्यासमा एउटै मूल्य छ, अब साहेवहरूले प्रयोग गर्ने र विपन्नले प्रयोग गर्ने ग्यासमा एउटै मूल्य हुन सक्दैन, साहेबहरूले ग्यासमा अनुदान लिनु हुँदैन, अब सरकारले पनि दिँदैन ।

सरकारले विपन्न समुदायलाई भने सहुलियतमै ग्यास उपलव्ध गराउने उनको भनाइ थियो । विगतदेखि नै सरकारले घरायसी र व्यवसायी प्रयोजनका लागि भन्दै रातो र निलो सिलिन्डर कार्यान्वयनमा ल्याउने निर्णय गरेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन, जसका कारण निगमले विगतमा प्रतिसिलिन्डर झण्डै तीन सय रुपैयाँ घाटा व्यहोर्दै आएको थियो भने अझै पनि प्रति सिलिण्डर ८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । मन्त्री यादवले निगमभित्रको विकृति र विसगति हटाउनु चुनौतीपूर्ण हरेको भन्दै चुनौतीको सामना गर्ने पनि बताएका छन् । विगतमा निगमको कर्मचारीदेखि मन्त्रीसम्मको खाने भाँडो बन्दै आएको निगमको शुद्धीकरणमा समय लागेको भन्दै उनले अब त्यस्तो नचल्ने पनि बताए । उनले भने– विगतमा तेलमा प्वालै प्वाल थियो, ड्राइभर, कर्मचारी र सचिवदेखि मन्त्रीसम्मले भाँडो थाप्ने गरेका थिए, जसका भार उपभोक्ताले व्यहोर्नुपर्ने अवस्था थियो तर अहिले सबैको सहयोगले सबै प्वाल टाल्न काम गरेका छौं ।

निगम सञ्चालक समितिका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अब परम्परात ढंगले चल्न नसक्ने भन्दै प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहन सचेत गराए । निगमसामु पेट्रोलियम भण्डारण विस्तार, पाइपलाइन विस्तार, सहज आपूर्तिलगायत धेरै जिम्मेवारी रहेको भन्दै नवनियुक्त कार्यकारी निर्देशकको कार्यकालमा निगम सवल र प्रतिस्पर्धीरूपमा अगाडि जाने विश्वासमेत व्यक्त गरे । उनले भने– अहिलेको अर्थतन्त्रले माग गरेको विषय प्रतिस्पर्धा हो, निगमले त्यो जिम्मेवारी पूरा गर्न सकेन भने बजारलाई खुला गर्नुपर्ने अवस्था पनि आउन सक्छ । 

निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमभित्रका विकृति र विसंगति हटाएर सुदृढ बनाउने बताए । निगमको सुधारका लागि शून्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिने उनले बताए । आयल निगमलाई अघि बढाउनका लागि योजना बनाएर कार्यान्वयन गर्दै लगिने उनको भनाइ थियो । निगमले गत आर्थिक वर्षमा सरकारलाई करिब ५५ अर्ब रुपैयाँ राजस्व तिरेको र २७ अर्ब रुपैयाँ पूर्वाधार करमार्फत बुढीगण्डकी जलाशययुक्त आयोजनाका लागि उठाएको जानकारीसमेत दिए ।

निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने अपचलन र मिसावट रोक्न निगमको करारमा सञ्चालित एक हजार ९ सय ट्रक तथा ट्यांकरमा लकिङ प्रणाली लागू गरिएको जानकारी दिए । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले निगमको संरचनालाई व्यावसायिक बनाउँदै दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए भने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले निगमलाई पव्लिक, प्राइभेट, पार्टनरसी (पीपीपी) मोडलमा सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुलप्रसाद भण्डारीले नेपाली ग्यास उद्योगीले खरिद गरेका ग्यास बुलेट तत्काल सञ्चालनका लागि पहलका लागि आग्रह गरे । उनले नेपाली व्यवसायीले खरिद गरेका ५३ वटा ग्यास बुलेट भारतका विभिन्न स्थानमा अलपत्र अवस्थामा रहेको गुनासोसमेत गरेका थिए । 


Views: 91