18th February | 2019 | Monday | 3:55:03 PM

६ महिनामै ४४ प्रतिशत राजश्व उठ्नु सकारात्मक : पूर्व गभर्नर क्षेत्री

  POSTED ON : Wednesday, 06 February, 2019 (8:45:27 PM)

६ महिनामै ४४ प्रतिशत राजश्व उठ्नु सकारात्मक : पूर्व गभर्नर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकुल रहेको स्पष्ट पारेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले भने,‘२÷४ वटा पक्षहरु नकरात्मक छैनन् । मुल्यवृद्धि ३.७ प्रतिशत छ, यो असाध्यै अनुकुल हो ।’ त्यस्तै उनले राजश्वपनि यो ५÷६ महिनामा ४४ प्रतिशत उठिसकेको सुनाए । उनले भने,‘यो राम्रो पक्ष हो । सालभरिमा उठाउनुपर्ने राजश्वमध्येबाट यो ६ महिनामा ४४ प्रतिशत उठिसकेको छ ।’ 

आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सुनाए । उनले भने,‘सन् २०२० सम्म २० लाख पर्यटकहरु ल्याउने सरकारको तयारी छ । त्यसको लागि अब पर्यटन पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्छ । मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्छ ।’

सरकारले उद्योग धन्धालाई प्रसय दिनुपर्नेमा पनि उनले जोड दिए । व्यापार घाटा डरलाग्दो रहेकोले यसलाई घटाउनेतर्फ सरकार अघि बढ्नुपर्ने क्षेत्रीको धारणा छ । उनले भने,‘७ खर्ब प्लस व्यापार भएको छ, तर ५ खर्ब ९९ अर्ब व्यापार घाटा भएको छ। हाम्रो निर्यात अत्यन्तै निराशजनक छ । ३७ अर्बमात्रै निर्यात भएको छ । यसमा सुधार गर्नुपर्छ ।’

क्षेत्रीले राष्ट्र बैंकको आँकडा सुनाउँदै उनले माघ २२ गतेसम्म ३४ अर्बको तरलता रहेको सुनाए । उनले राज्यको ढुकुटीमा १ खर्ब ७० अर्ब जम्मा भएपनि सरकारले खर्च गर्न नसकेको पनि गुनासो पोखे । उनले भने,‘खर्चको अनुपात हेर्दा जम्मा ३८.४८ प्रतिशत देखिएको छ । अझ पुँजीगत खर्च त २०.४७ प्रतिशत छ ।’

बैंकहरुलाई राष्ट्र बैंकले कडाईका साथ नियमन गनुपर्ने क्षेत्रीको भनाई छ । 

पूर्व अर्थसचिव युवराज भुषालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘सरकार साना तिना कुरामा नअल्भिएको भए हुन्थ्यो ।’

उनले वर्तमान अर्थमन्त्री आँफै विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भएकोले अहिले देखिएको बैंकहरुको व्याजदरको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए ।

उनले भने,‘अर्थमन्त्री आँफैमा विज्ञ हुनुहुन्छ, अब उहाँभन्दा जान्ने अरु को होला र ? बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन् ।’ राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ । ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो ।’

नेपालमा नीति निर्देशिका स्पष्ट नभएको सुनाउँदै भुषालले यसतर्फपनि सरकारले सोच्नुपर्ने धारणा राखे । उनले भने,‘अहिले देखिएको बैंकहरुको व्याजदरको समस्याको समाधान गर्न अर्थ मन्त्रालय, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ र बैंकर्स एशोसिएशन चार वटै पक्ष एक ठाउँमा बसेर टेबलु टक गर्नुपर्छ ।’

नेपालको निर्यातको अवस्था अत्यन्तै चिन्ताजनक रहेको पनि उनले सुनाए । उनले भने,‘हाम्रो टोटल एक्सपोर्टले त हामीलाई फ्युल ल्याउनपनि पुग्दैन् ।’ उनले सरकारले भ्यु–टावर नबनाएको भए हुन्थ्यो भन्ने धारणा पनि राखे । 

फागुण १ गतेबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु हुन लागेको सुनाउँदै तामझाम नगर्न पनि भुषालले सुझाए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई ईस्यु बनाएर आन्दोलित हुनुपर्ने अवस्था आउनसक्नेतर्फ सरकारको ध्यानाकार्षण गराए । 

उनले भने,‘विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ । उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ । भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं । माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ । अब सरकारले छिट्टै यो समस्या समाधान गर्न पहल गरोस् ।’

प्रधानले मुलुकमा व्यापार घाटा आकाशिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘नेपाललाई चाहिने विस्कुट र चाउचाउ देशकै उत्पादनले पुग्छ, तर बाहिरबाट आयात भैरहेको छ । घरेलु र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ । यतातर्फ सरकारले सोच्नुपर्छ ।’

देशको आर्थिक अवस्था यस्तै रहि रहे नेपाल असफल राष्ट्र बन्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘आर्थिक अवस्था यस्तै रहीरहे नेपाल ‘फेलियर–स्टेट’ हुन्छ । त्यतातर्फ सबैले ध्यान दिन जरुरी छ ।’

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने सवालमा नेपाल सरकारकै मन्त्रीहरुवीच कुरा बाझिएको प्रति टिप्पणी गर्दै भने,‘कुन मन्त्रीले के बोल्ने ? भन्ने कुरा पोलिसी लेभलमै राख्नुपर्छ ।’

मार्चमा लगानी सम्मेलन हुन लागिरहेको सुनाउँदै उनले योभन्दा अघि भएको लगानी सम्मेलनको प्रतिफल के आयो ? भन्नेबारेपनि फलो–अप गर्नुपर्ने बताए । 

उनले भने,‘विदेशी लगानी भित्र्याउनु राम्रो कुरा हो । त्यसको लागि नेपालमै लगानीको वातावरण बनाउनुपर्छ । यहाँकै उद्योगीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।’

उनले नेपालमा औषधी उत्पादन प्रशस्त भएको सुनाए । प्रधानले थपे,‘नेपालमा अधिक औषधी उत्पादन भएका छन् । तर, अण्डर टेबल रिलेशनका कारण स्वदेशी उत्पादन खपत हुन सकिरहेको छैन ।’

नेपाल कृषि प्रधान देश भनिएपनि १०० अर्बभन्दा बढिको भारतबाट कृषिका वस्तुहरु नेपाल आयात हुने गरेको उनको भनाई थियो । उनले आफ्नो मुलुकमा साना तथा मझौला उद्योग (एसएमई) हरूको विकास र तिनको प्रवर्द्धनका लागि ध्यान दिनुपर्ने सुझाव दिए । 

प्रधानले सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने,‘अनिमात्रै आर्थिक विकास हुन्छ । समृद्धिको सपना पूरा हुन्छ । दुवै पक्षबीच विश्वासको वातावरण बनाउनुपर्छ ।’


Views: 56