18th February | 2019 | Monday | 3:51:52 PM

सर्वोच्चको परमादेश : लाभकर एनसेल र एक्जिएटाबाटै उठाउनू

हिमालय टाइम्स   POSTED ON : Thursday, 07 February, 2019 (1:40:03 PM)

सर्वोच्चको परमादेश : लाभकर एनसेल र एक्जिएटाबाटै उठाउनू

काठमाडौं । सर्वोच्च अदालतले लामो समयदेखि विवादमा रहेको एनसेलको खरिद–बिक्री प्रकरणमा बुधबार फैसला गर्दै एनसेल र मलेसियन कम्पनी एक्जिएटाबाटै लाभकर उठाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको बृहत् पूर्ण इजलासले सरकारका नाममा परमादेश जारी गरेको हो । 

रिनोल्ड्स होल्डिङ्स लिमिटेड, एनसेल प्रालि, पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित ५ जना र अधिवक्ता भवेश गौतमसमेत २ जनाले दायर गरेका ४ वटा छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले फैसला गरेको हो । पूर्वसचिव ढुंगेलसहित ५ जनाले दायर गरेको सार्वजनिक सरोकारको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले एनसेल खरिद–बिक्री प्रकरणको लाभकर तत्कालीन एनसेल प्रालि र खरिदकर्ता एक्जिएटाले तिर्नुपर्ने ठहर गरेको हो । सर्वोच्चले एनसेल कर विवाद प्रकरणका ३ वटा रिट निवेदन खारेज गर्ने फैसला गरेको छ । रिनोल्ड्स होल्डिङ्स लिमिटेड र एनसेल प्रालिले तथ्य लुकाएर अदालत आएको भन्दै सर्वोच्चले दुवै कम्पनीका तर्फबाट दर्ता भएको रिट निवेदन खारेज हुने ठहर गरेको हो । 

यस्तै अधिवक्ता भवेश गौतमसहित २ जनाले दायर गरेको जरुरी सरोकारको रिट पनि सर्वोच्चले खारेज गरिदिएको छ । 

टेलियासोनेराले एनसेलको आफ्नो स्वामित्वमा रहेको सेयर मलेसियाको एक्जिएटालाई बिक्री गरेवापतको पुँजीगत लाभकर कसले तिर्ने भन्ने विषयमा विवाद भएको थियो । दुवैले पुँजीगत लाभकर तिर्ने दायित्व आफ्नो नभएको दाबी गर्दै आएका थिए ।

२०७२ साल पुसमा टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर मलेसियाको एक्जिएटा कम्पनीलाई बेचेको थियो । सो खरिद–बिक्रीमा सरकारलाई उक्त कम्पनीले ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको अर्थ मन्त्रालयले मंसिर २१ गते संसद्को लेखा समितिलाई जानकारी गराएको थियो ।


Views: 59