23rd August | 2019 | Friday | 3:01:58 PM

गाडी खरिदमा अनियमितता छानबिन गर्न बनेको लेखा समितिलाई सकस

चन्द्रकान्त खनाल   POSTED ON : माघ २४, २०७५ (२:५२ PM)

गाडी खरिदमा अनियमितता छानबिन गर्न बनेको लेखा समितिलाई सकस

रुपन्देही । प्रदेश नं ५मा गाडी खरिदमा भएको अनियमितता आशंकामा छानबिन गरिरहेको सार्वजनिक लेखा समितिलाई ठोस प्रतिवेदन निकाल्न सकस भएको छ । उपसमितिले दिएको प्रतिवेदनमा कतिपय विषयहरु छानबिन हुन बाँकी रहेपछि मुल समितिमै छलफल सुरु भएको छ ।

सार्वजनिक लेखा समितिको बुधबार बसेकोे बैठकले गाडी खरिदकर्ता र विक्रेताको बयान लिनेबारे छलफल गरेको थियो । प्रतिवेदनमाथि मूल समितिमै छलफल गरी प्रतिवेदन तयार गरिने सार्वजनिक लेखासमितिका सभापति डिल्ली चौधरीले बताए ।

उपसमितिको प्रतिवेदनमा अझै केही कुराहरु अनुसन्धान गर्न बाकी  रहेकोले  मुल समितिले नै बयान लिने र प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने काम गर्छ चौधरीले भने । बुधबार ३ घन्टा  समितिको बैठक बसेपनि कुनै ठोस निर्णय लिनसकेको छैन । लेखासमितिका सभापति  चौधरीले एउटै गाडीको मूल्य फरक हुनुको कारणमाथि अनुसन्धान गर्ने बताएका छन् ।

 प्रदेशका मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीमा करिव एक लाखको अन्तर रहेको छ । उपभोक्ता मुल्य ६५ लाख ५५ हजार रहेको छ । प्रदेश सभाले ११ र मन्त्रालयहरुले चार वटा गाडी खरिद गरेका छन् । मन्त्रालयले करिव ७३ लाख, प्रदेशसभाले ७२ लाखमा गाडी खरिद गरेका छन् ।  आजको बैठक गोप्य भनिएपनि प्रदेश सभाकै लेखापाल रामचन्द्र मरासिनी सहभागि भएको बुझिएको छ । 

गाडी खरिद गर्ने प्रक्रियाका प्रमुख व्यक्ति नै समितिको गोप्य बैठकमा बस्दा छानबिन प्रभावित हुने आशंका देखिएको छ । सभापति चौधरीले भने कागजात शिलबन्दी गरिएकाले बैठकमा बस्दैमा निर्णय प्रभावित नहुने बताए । 

 बैठक आज पनि बस्ने बताइएको थियो ।


Views: 113