18th February | 2019 | Monday | 5:08:10 PM

मेलम्चीका नेपाली कामदार आन्दोलित

हिमालय टाइम्स   POSTED ON : Monday, 11 February, 2019 (2:24:18 PM)

मेलम्चीका नेपाली कामदार आन्दोलित

काठमाडौं । मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्ची आयोजनामा कार्यरत करिब आठ सय कर्मचारीको तलब तथा पारिश्रमिक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । सुरुङभित्र धुवाँ धूलोमा काम गरेका कर्मचारीले तीन महिनाको तलब तथा सञ्चयकोष नपाएको समितिका संयोजक श्रीराम न्यौपानेले दाबी गरेका छन् । कर्मचारीलाई पारिश्रमिक उपलब्ध नगराएसम्म काम गर्न नदिने उनले चेतावनीसमेत दिएका छन् । न्यौपानेका अनुसार आयोजनामा कर्मचारीसहित एक हजारभन्दा बढी व्यक्ति पीडित रहेका छन्, उनीहरुले एक अर्ब ६२ करोड भुक्तानी पाउन बाँकी रहेको छ । उच्च तहका कर्मचारीले मेलम्चीलाई अनुचित लाभको स्रोत बनाउन मेलम्ची आयोजना रद्द गरेको भन्दै न्यौपानले भुक्तानी नभएसम्म ‘नो सप्लाइ नो वर्क’ अभियान थाल्ने चेतावनी दिएका छन् । समितिका सचिव विष्णुमणि आचार्यले आयोजनासँग ३८ करोड भुक्तानी नगरी सरकारले आयोजनासँगको करार तोडेको बताएका छन् । सब कन्ट्रयाक्टरले पाएको १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको छ । त्यस्तै मेसिनरी सामान र सप्लायरले भुक्तानी पाएका छैनन् । सिएमसीले भुकम्पलगायतलाई आधार बनाएर १ अर्ब ६५ करोड रुपैयाँ भेरिएसन माग गरेको थियो । विवाद निरुपण समितिले २१ दिनभित्र ३६ करोड रुपैयाँ भुक्तानी दिनेबारे २६ अक्टोबरमा निर्णय गरेको थियो । आयोजना पक्षबाट ३६ करोड भुक्तानी नपाएर कन्ट्रयाक्ट क्लज १६ बमोजिम  ठेक्का तोड्ने सूचना सिएमसीले ४ डिसेम्बरमा दिएको थियो । आयोजना प्रमुखले ३६ करोड रुपैयाँ दिनका लागि १४ औं दिन पुग्नुभन्दा २ दिनअघि १५ डिसेम्बरका दिन बोर्ड बैठक बोलाएका थिए । तर बोर्ड अध्यक्ष बैठकमा उपस्थित नै भएनन् ।



Views: 33