18th February | 2019 | Monday | 4:03:09 PM

फोरजी ठेक्काविरुद्ध अख्तियारमा उजुरी

  POSTED ON : Monday, 11 February, 2019 (2:28:32 PM)

फोरजी ठेक्काविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्कामा १२ अर्ब घोटला भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । नेपाल टेलिकमले पछिल्लो समय देशव्यापीरूपमा फोरजी सेवा विस्तार गर्ने क्रममा गुणस्तरहीन काम गर्ने चिनियाँ कम्पनी हुवावेलाई लागत मूल्यभन्दा तीन गुणा बढीमा ठेक्का दिएर १२ अर्ब अनियमितता गरी उच्च तह र मन्त्री, सचिव र टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशकलगायत अन्य विचौलिया र गिरोहले अर्बौं रुपैयाँ हात पार्न खोजेको भन्दै युवराज नेकपा असन्तुष्ट समूहका संयोजक युवराज सफल र नागरिक अनुसन्धान व्यूरो (सिआइवी) ले अख्तियारमा आइतबार सयुक्त उजुरी दर्ता गरेका हुन् ।
अख्तियारले ठूला–ठूला ठेक्कामा हुने करोड र अर्बौंको भ्रष्टाचार प्रकरणमा तदारुकताका साथ छानविन गर्न नसकेको आरोपसमेत लगाइएको छ । वाइडबडी विमानभन्दा पनि ठूलो भ्रष्टाचार काण्ड नेपाल टेलिकमको फोरजी सेवा विस्तारको ठेक्कामा भएको उजुरीपत्रमा उल्लेख छ । एनसेलले हाल टेलिकमले हुवावेलाई दिएको फोरजीको ठेक्का ६ अर्बभन्दा कममा गरेको तर टेलिकमले त्यही प्रकृतिको ठेक्का १८ अर्बमा हुवावेलाई दिएको दाबी गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ५४औं नम्बरका कनिष्ट अधिकारीलाई प्रवन्ध निर्देशक बनाउनासाथ अधिकारीले नै टेलिकमको फोरजीको ठेक्का हुवावेलाई दिलाउने निर्णय गराएको उजुरीमा उल्लेख छ । यसअघि पूर्वप्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १८ अर्बमा हुवावेलाई नै ठेक्का दिन खोज्दा घोटाला गर्न खोजेको भन्दै उनलाई वर्खास्त गरिएको आरोपसमेत लगाइएको छ ।
अर्थ समितिको केही दिनअघि बसेको बैठकमा फोरजी ठेक्काको अनियमितताको बारेमा मन्त्री बास्कोटा र नेकपाका सांसद रामकुमारी झाँक्रीबीचको आरोप प्रत्यारोपको प्रसंग पनि उजुरीमा उल्लेख गरिएको छ । उजुरीकर्ताका अनुसार यसअघि नेपाल टेलिकमले हुवावेलाई काठमाडौं र पोखराको फोरजीको ठेक्का दिएको थियो । हुवावेले ठेक्का लिएको काठमाडौं र पोखराको फोरजी सेवा गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि सार्वजनिक लेखासमितिले छानविन गरेको थियो ।
छानविनका क्रममा काठमाडौंका विभिन्न ठाउँमा परीक्षण गर्दा थ्रीजी बराबर पनि सेवा नभएको पाइएको थियो । काठमाडौं र पोखरामा फोरजी सेवा गुणस्तरहीन भएकाले हुवावेलाई पुनः ठेक्का नदिन र कालोसूचीमा राखी कारबाही गर्नका लागि लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको थियो । हुवावेलाई फोरजी सेवाको ठेक्का दिने तत्कालीन प्रवन्ध निर्देशक राजभण्डारीलगायत दोषी कर्मचारीमाथि कारबाही गर्न लेखा समितिले अख्तियारलाई निर्देशनसमेत दिएको थियो ।
तत्कालीन प्रबन्ध निर्देशक राजभण्डारीले मागेजति कमिशन नदिएको झोकमा प्रबन्धक निर्देशक हटाई नियमावलीसमेत संशोधन गरी टेलिकमका ५४ नम्बरका कनिष्ट कर्मचारी डिल्लीराम अधिकारीलाई मन्त्री र सचिवले करोडौंको चलखेल गरी प्रबन्ध निर्देशक बनाएको दाबी गरिएको छ । फोरजी सेवा विस्तारमा अनियमितता भएको संसदीय समिति र अख्तियारमासमेत उजुरी परिसकेकाले उजुरीको टुंगो नलाग्दासम्म नेपाल टेलिकम र हुवावेवीच भएको टेण्डर यथास्थितिमा राख्नसमेत माग गरिएको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले उल्लिखित आरोपहरूको खण्डन गर्दै आएका छन् । हालै नेपाल टेलिकमको वार्षिकोत्सव कार्यक्रममा पनि उनले फोरजी ठेक्काबारेमा विभिन्न पक्षबाट टिकाटिप्पणीमा कुनै तुक नरहेको बताएका थिए । फोरजी ठेक्का सम्बन्धमा आफूलाई फोन थर्काउने र तर्साउने गरेको भन्दै उनले नेपाल टेलिकमको फोरजी सेवा विस्तार हुन नदिने मनसायका साथ यस्ता गतिविधि भएको दाबी गरेका थिए । उनले कसैको दबाब र थर्काइले फोरजी परियोजना नरोकिने पनि स्पष्ट पारेका थिए । कतिपय कर्मचारीले सत्रुको कित्तामा उभिएर टेलिकमको हितमा क्रान्तिकारी कुरा गर्ने गरेको आरोप लगाउँदै उनले अव द्धैध चरित्रको पर्दाफास गर्दै जाने पनि चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘टेलिकमको हितमा काम गर्दा कतिपयले फोनमा थर्काउने गरेका छन्, कि यो संस्था चाहिँदैन भन्नु प¥यो कि काम गर्न दिनुप¥यो । जति तर्साए पनि म घुँटा टेक्दिन, गल्ती नगरेसम्म डराइन्नँ ।’


Views: 29