25th April | 2019 | Thursday | 7:58:42 AM

बेरोजगारलाई निर्वाह भत्ता दिने तयारी

हिमालय टाइम्स   POSTED ON : माघ २९, २०७५ (५:३४ AM)

बेरोजगारलाई निर्वाह भत्ता दिने तयारी

काठमाडौं । सरकारले आगामी चैतबाट बेरोजगारको सूची तयार गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । चालु आर्थिक वर्षभित्र उक्त कार्यक्रम सञ्चालनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रम शुभारम्भ गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । ७५३ वटै स्थानीय तहमा रोजगार प्रतिनिधि छनोट प्रक्रिया चलिरहेको जानकारी गराउँदै उनले फागुनभित्र रोजगार प्रतिनिधि छनोट गर्ने र चैतभित्र बेरोजगारको तथ्यांक संकलन गरिसक्ने बताए । संकलित तथ्यांकलाई प्रमाणीकरण गरिसकेपछि घरको कुनै पनि सदस्यले आयआर्जन नगरेको खण्डमा त्यस्ता व्यक्तिलाई विभिन्न सरकारी आयोजनामा रोजगारी दिइने छ । त्यसरी रोजगारी दिन नसकेमा बेरोजगार भत्ता दिइनेछ ।
कुनै पनि व्यक्ति बेरोजगार नरहोस् भन्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको उनले बताए । आगामी पाँच वर्षभित्र कुनै पनि युवा बाध्यताबाहेक वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुने उनले बताए । बेरोजगार व्यक्तिलाई सय दिन बराबरको रोजगारी सरकारले दिने र सो कार्यक्रममार्फत पनि समावेश नभएका व्यक्तिलाई सोही दिन बराबर ज्यालाको ५० प्रतिशत रकम बैंकमार्फत भुक्तानी गरिने उनको भनाइ छ । निर्वाह भत्ताको हकमा भने परिवारका कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएको, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएको, परिवारको कुनै सदस्य स्वरोजगार नभएको तथा वैदेशिक रोजगारीमा नभएको, सरकारी तथा कुनै पनि संस्थाबाट निवृत्तिभरण वा अवकाससम्बन्धी सुविधा नलिएको भएमा रकम प्रदान गरिनेछ । श्रम बजारमा शारीरिक मात्र नभई बौद्धिक श्रम पनि बिकाउने तयारीका साथ मन्त्रालयको तयारी छ । उनले आइटी क्षेत्रको सम्भावना र चुनौतीको विषयमा अध्ययन गरिरहेकाले त्यस्ता व्यक्ति र समूहलाई एकीकृत गरी लैजाने तयारी रहेको मन्त्री विष्टले जानकारी दिए ।


Views: 76