24th March | 2019 | Sunday | 8:33:54 AM

दुग्ध क्षेत्रमा विदेशी लगानी नभई प्रविधि माग

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २७, २०७५ (५:२७ AM)

दुग्ध क्षेत्रमा विदेशी लगानी नभई प्रविधि माग

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघ पनि दुग्ध क्षेत्रमा वैदेशिक लगानी विरोधमा देखिएको छ । संघले डेरी क्षेत्रमा वैदेशिक लगानीमात्र नभई गाई आयातकोसमेत विरोध गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारको चिनिँया गाई खरिदसम्बन्धी समझदारी र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको विरोध गरेको हो । 

हालैमात्र विभिन्न प्रदेश सरकारले चीनबाट गाई आयात गर्ने सम्झौता गरेको भन्दै गाई आयात नेपालको डेरी क्षेत्रका साथै दुग्ध किसान विस्थापित हुने संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताएका छन् । दुग्ध सहकारी संघ संस्था र सरोकारवालासँगको छलफलबिना नै चिनियाँ गाई ल्याउने सम्झौता ग्रामीण गरिबी निवारण गर्ने नाममा स्वदेशी उद्योग र किसानलाई पेशाबाटै पलायन बनाउने उद्देश्यले प्रेरित रहेको उनको आरोप छ । विदेशी लगानीभन्दा पनि विदेशी सीप र प्रविधिमा जोड दिनुपर्ने भन्दै उनले आत्मनिर्भरोन्मुख डेरी क्षेत्रमा विदेशी लगानी आवश्यक नरहेका बताए । विदेशी प्रविधि भिœयाएर नेपालकै उपलव्ध गाइबाट दूधको उत्पादन बढाउन सकिनेको उनले दाबीसमेत गरेका छन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष भगीरथ तिमल्सिनाले नेपालका लागि आवश्यक गाई एक वर्षभित्रै उत्पादन गर्न सकिने दाबी गरेका छन् । आयाति गाई नेपालको हावापानी अनुकुल हुन नसक्ने भएकाले बचाउन गाह्रो हुने उनले बताए । गाई आयातभन्दा नेपालमै रहेको बाच्छीहरूको व्यवस्थापनमा लगानी गर्नुपर्ने उनको भनाइ छ । दुग्ध उत्पादक किसानका समस्या बेवास्ता र स्वदेशी डेरी क्षेत्रमा भएको विदेशी लगानी खुला गर्ने निर्णय नसच्याए चरणबद्ध आन्दोलन सुरु गर्ने संघले चेतावनीसमेत दिएको छ । 

संघले डेरी क्षेत्रमा वैदेशिक लगानीको निर्णय सच्याउन माग गर्दै प्रधानमन्त्री, कृषिमन्त्री र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । डेरी उद्योगीले पनि डेरी क्षेत्रमा वैदेशिक लगानीको विरोध गर्दै आएका छन् । संघका महासचिव रामप्रसाद आचार्यका अनुसार हाल दैनिक दुग्ध क्षेत्रबाटै शहरबाट ५ करोड पुँजी सहकारीमार्फत गाउँमा जाने गरेको र करिब ११ लाख परिवार दुग्ध क्षेत्रमै निर्भर रहेका छन् । 

सरकारद्वारा प्रवद्र्धित उन्नत नस्ल विकासका लागि कृत्रिम गर्भाधान (एआई) कार्यक्रमबाट एक वार्षिकरूपमा एक लाख हाइब्रीड बाच्छी जन्मिने गरेकाले सोही बाच्छीको संरक्षण सम्बद्र्धनका लागि स्रोत केन्द्र विकास गरी सहकारी, साझेदारीमा स्वदेशमै उन्नत नस्लका गाई उत्पादन गर्न सकिने पनि संघको जिकिर छ । संघका अनुसार हाल वार्षिक करिब २१ लाख मेट्रिकटन दुध उत्पादन हुने गरेको छ भने वार्षिक बृद्धिदर ४ देखि ५ प्रतिशत रहेको छ । दुग्ध उत्पादक सहकारीमार्फत दैनिक ९ लाख लिटर दूध संकलन हुँदै आएको छ । 


Views: 31

सम्बन्धित सामग्री:

पुष्प मेला सुरु

: चैत्र ८, २०७५ (१२:४७ PM)