26th March | 2019 | Tuesday | 1:28:48 AM

सहकारीमार्फत महिला शसक्तीकरणमा जोड

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २७, २०७५ (५:२९ AM)

सहकारीमार्फत महिला शसक्तीकरणमा जोड

काठमाडौं । सहकारीमार्फत महिला सशक्तीकरणमा बढाउने उद्देश्यका साथ सहकारीमा महिला सशक्तीकरण र समाबेशिता विषयक कार्यशाला सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित कार्यशालको आइतबार उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले महिला आर्थिकरूपमा सवल भए मात्र स्वतन्त्र र सशक्त हुने बताइन् । सहकारीमा महिलाको सशक्तीकरण भइरहेकोले अब क्षमता वृद्धि गर्दै आत्मनिर्भरताको अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् । सबै जग्गा एकीकरण गरेर सामूहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्ने र त्यसका लागि सरकारले सहुलियत, औजार र अनुदान दिने पनि उनले बताइन् । 

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले महासंघले वार्षिक कार्यतालिका बनाएरै महिला सशक्तीकरणका लागि तालिम र गोष्ठी आएको बताए । महासंघ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संविधान महिलामैत्री रहेको र यसमा लेखिएको कुरा कार्यान्वयनमा जोड दिनुपर्ने बताइन् ।

महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी संस्था आफंैमा असल अभ्यासका कार्यस्थल भएको भन्दै सात सिद्धान्तलाई अक्षरस पालना गरेमा अनुगमनजस्ता कार्य गरिरहनु नपर्ने बताइन् । महासंघकी कामु महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बा, राष्ट्रिय सहकारी बैंककी सञ्चालक सतिरा तिमल्सिना, नेफ्स्कुनकी प्रशासन अधिकृत राधा पौडेल र केन्द्रीय चिया सहकारी संघकी सञ्चालक जुना तामाङ विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । दुईदिने कार्यशालमा देशभरिका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला सहकारी संघ र विषयगत केन्द्रीय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकका महिला सञ्चालक एवं प्रतिनिधिको सहभागिता छ । नेपालको सहकारीमा ५०.९६ प्रतिशत महिला सहभागिता रहेको छ । ६३ लाख ५ हजार ५ सय ८१ सदस्यमध्ये महिलाको सख्या ३२ लाख १३ हजार ५ सय १४ छ । सहकारीमा कुल कर्मचारीमध्ये ४७.९९ प्रतिशत महिला छन्् ।


Views: 40