26th March | 2019 | Tuesday | 1:30:08 AM

ब्याजदर विवाद उद्योगी र बैंकर आफैं मिलाउने

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २८, २०७५ (५:२८ AM)

ब्याजदर विवाद उद्योगी र बैंकर आफैं मिलाउने

काठमाडौं । बैंक ब्याजदर विवाद उद्योगी र बैंकर मिलेर आफै समाधान गर्ने भएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच भएको बैठकले बैंक ब्याजदरलाई आपसी समझदारीमा मिलाउने निर्णय गरेको होे । बैंठकले महासंघ र बैंकरका प्रतिनिधि सम्मिलित कार्यदलसमेत गठन गरेको छ । कार्यदलले एक हप्ताभित्र छलफल गरेर ब्याजदरसम्बन्धी विवाद अन्त्य गर्ने प्रस्ताव तयार पारेर नेपाल राष्ट्र बैंकमा पेश गर्नेछ । सोही आधारमा राष्ट्र बैंकले ब्याजदरको विषयलाई समाधान गर्नेछ । बैठकले बैंकर र उद्योगी मिलेर अघि नबढ्दा दुवै पक्षलाई नोक्सानी हुने निष्कर्षसमेत निकालेको छ । तरलता बढी भएमा स्वतः ब्याजदर घट्नेमा दुवै पक्ष सहमत भएका छन् । बैठकले सबै बैंक तथा वित्तीय संस्थामा उद्योगीले बुझाउनुपर्ने विवरणमा एकरूपता ल्याउने सहमति पनि गरेको छ । दुवै पक्ष प्रत्येक तीन महिनामा आफैं छलफल गरेर बजारको अवस्था बुभ्mन र सम्भावित जोखिमबाट जोगिने उपायको खोजी गर्न पनि सहमत भएका छन् । बैठकमा महासंघ अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, उमेशलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो । त्यस्तै बैंकरका तर्फबाट बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालगायतको सहभागिता थियो । चैत मसान्तभित्र ब्याजदरको विवाद पूर्णतः समाधान हुने महासंघले दाबी गरेको छ । 

बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी र बैंकरबीच जुहारी चल्दै आएको थियो । उद्योगीहरूले ब्याजदर घटाउन सरकार तथा नेपाल राष्ट्र बैंकसँग लबिङ गर्दै आएका थिए । उनीहरूले ब्याजदर घटाउन राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्रीलाईसमेत गुहारेका थिए । सरकारले बैंकर्सलाई ब्याजदर घटाउन दबाब दिँदै अन्यथा हस्तक्षेप गर्ने चेतावनी दिएको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले पटकपटक व्यवसायी र बैंकर मिलेर समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा हस्तक्षेप हुनसक्ने बताएका थिए । उद्योगीको चर्को दबाबछि राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै स्प्रेडको गणनाविधि परिवर्तन गरेको थियो । तर बैंकर्स संघले असन्तुष्टि व्यक्त गरेको थियो ।

ब्याजदर घटाउन दबाब दिँदै आएको नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लोपटक ब्याजदर घटाउन नेपाल राष्ट्र बैंकलाई पाँचबुँदे सुझावसमेत दिएको थियो । बैंकहरूले कर्जाको ब्याजदर दोब्बर बढाएर १४ प्रतिशतसम्म पु¥याएपछि उद्योग व्यवसाय क्षेत्रमा प्रतिकुल असर परेको भन्दै महासंघले राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाललाई पत्र लेखी कर्जाको ब्याजदर एकल अंकमा झार्न सुझाव दिएको हो । महासंघले कूल कर्जाको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्ने, बैंकको आधार दर (बेसरेट) मा बढीमा ४ प्रतिशतमात्र प्रिमियम थप्ने पाउने र कर्जा अवधिभर दर परिवर्तन गर्न नहुने सुझाव दिएको छ । अनिवार्य नगद अनुपात (सिआरआर) मा बैंकलाई ब्याज दिने व्यवस्था गरिएमा बैंकको निक्षेप लागत घटी आधारदर पनि कम हुने महासंघले उल्लेख गरेको छ । त्यस्तै उद्योगी व्यवसायीले पाउँदै आएको पुनरकर्जाको सीमा ३५ अर्बबाट बढाएर १ खर्ब रुपैयाँ पु¥याउनुपर्ने, प्रत्येक ६÷६ महिनामा पुनरकर्जाको नवीकरण गर्ने व्यवस्थालाई दीर्घकालीन बनाइनुपर्ने, संस्थागत निक्षेपको ब्याजदर साधारण वचतकर्ताको हाराहारीमा ल्याउनुपर्ने र अनौपचारिक क्षेत्रमा रहेको रकमलाई औपचारिक च्यानलमा ल्याउन १० लाखभन्दा कमको केवाइसी फारम भर्ने व्यवस्था खारेज गरिनुपर्ने सुझाव दिएको थियो ।

यसैबीच नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर तत्काल हटाउन माग गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो । साथै नेपाल–चीनको प्रमुख नाकाका रूपमा रहेको केरुङसम्म जान सहजताका साथ निश्चित समयका लागि पासको व्यवस्थाको समेत माग गरेको छ । महासंका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योगी व्यवसायीलाई त्यस क्षेत्रको आवश्यक नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । सातै प्रदेशमा निजी क्षेत्र र सरकार सम्मिलित औद्योगिक करिडोरको स्थापना गर्दै चीनसँग जोडिएका तातोपानीलगायत सबै नाका यथाशीघ्र सञ्चालनका लागि पहल गर्न, नेपाल भारत खुला सिमाना रहेका कारण दिनप्रतिदिन चोरीपैठारी बढ्दै गइरहेकोले त्यसलाई तत्काल रोक्न पनि महासंघले माग गरेको छ ।


Views: 46