27th May | 2019 | Monday | 5:08:11 AM

कोरियाली भाषा परीक्षा आगामी जेठमा

  POSTED ON : फाल्गुन २८, २०७५ (११:०९ AM)

कोरियाली भाषा परीक्षा आगामी जेठमा

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । 

आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । 

भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइटबाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ । 


कोटा बढ्यो 

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । 

पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ । रासस


Views: 81