27th May | 2019 | Monday | 5:17:29 AM

चेम्बर पनि विदेशी लगानीविरुद्ध

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २९, २०७५ (६:०५ AM)

चेम्बर पनि विदेशी लगानीविरुद्ध

काठमाडौं । कृषिसँग सम्बन्धित उद्यमी व्यवसायीले आत्मनिर्भरोन्मुख क्षेत्रमा विदेशीको विरोध गर्दै आएकोमा नेपाल चेम्बरले पनि उनीहरूलाई साथ दिएको छ । नेपाल चेम्बर अफ कमर्शले संसदमा विचाराधीन अवस्थामा रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा व्यवस्था गरिएको प्रावधानप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

चेम्बरले आत्मनिर्भरोन्मुख क्षेत्रमा विदेशी लगानी खुला नगर्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । राष्ट्रको समग्र विकासका लागि वैदेशिक लगानी अपरिहार्य भए पनि आन्तरिक पुँजी परिचालन गरी स्वदेशी सीपको जगेर्ना, प्रयोग र विकाससँग सम्बन्धित कतिपय क्षेत्रमा नेपालीहरू नै सक्षम रहेकोले सबै क्षेत्रमा वैदेशिक लगानी खुला गरिनु नहुने चेम्बरको भनाइ छ ।

वैदेशिक लगानी आन्तरिक पुँजीले सम्भव नहुने उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डष्ट्रि’मा उपयुक्त हुने भन्दै स्वदेशी ज्ञान, सीप र प्रविधिको परिचालन गर्न सकिने क्षेत्रहरू लघु उद्योग र घरेलु उद्योगअन्तर्गत कृषिका प्राथमिक उत्पादनका क्षेत्र, पशुपालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन, कार्गो सेवा एवं शैक्षिक परामर्शलगायत अति महŒवपूर्ण व्यवसायमा वैदेशिक लगानी भिœयाउँदा राष्ट्रलाई लाभभन्दा हानी बढी हुने चेम्बरले जनाएको छ । 

उल्लिखित क्षेत्रमा क्रियाशील स्वदेशी जनशक्तिमा निराशा पैदा हुँदा पुँजी निष्क्रिय हुने, जनशक्ति विस्थापन र पलायन हुनुका साथै स्वदेशी उद्यमशीलतामा कमी आउने चेम्बरको भनाइ छ । स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रबद्र्धन नगर्न नेपाल चेम्बरले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ । चेम्बरले विभिन्न मुलुकका उद्यमी व्यवसायी तथा लगानीकर्तासँग नेपालमा लगानी गर्न आग्रह गर्दै आएकोमा पछिल्लो समय वैदेशिक लगानीको विरोध गर्न थालेको हो ।


Views: 64