24th April | 2019 | Wednesday | 10:27:39 PM

कफी व्यवसाय प्रवद्र्धन सम्मेलन : विशेष बजेटको व्यवस्था गर्न आग्रह

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (६:१९ AM)

कफी व्यवसाय प्रवद्र्धन सम्मेलन : विशेष बजेटको व्यवस्था गर्न आग्रह

काठमाडौं । नेपाली कफीको उत्पादनका साथै बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि काठमाडौंमा नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलन २०७६ सुरु भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा नेपालको कफी क्षेत्रममा संलग्न विभिन्न निजी, सहकारी एवं गैरसरकारी संघसंस्थाको सहकार्यमा सुुरु भएको दुईदिने सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आयात प्रतिस्थापन र व्यापारघाटा न्यूनीकरणका लागि कफी क्षेत्रले महŒवपूर्ण भूमिका खेल्नसक्ने भन्दै कफीको प्रवद्र्धनका लागि सरकारले लगानी बढाउनुपर्ने बताए । चिया कफी मात्र नभई कृषिक्षेत्रको प्रवद्र्धन गर्नसके मात्रै छिटो समृद्धि हासिल हुनसक्ने उनको भनाइ थियो । विकासको मुख्य मेरुदण्ड कृषि रहेको भन्दै उनले स्वदेशमै श्रम गर्ने पद्धति विकास नभएसम्म कृषिमा आत्मनिर्भर चुनौतीपूर्ण हुने पनि बताए । युवाहरू स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको भन्दै उनीहरूलाई स्वदेशमै काम गर्न प्रोत्साहित गरिनुपर्ने बताए । पढेका युवाहरूले नेपालमा श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठान्नुमा नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको पनि उनले बताए । उनले भने, ‘नपढेका हाम्रा बाआमाले हामीलाई आत्मनिर्भर नेपाल दिए, हामीलाई स्वाधीन बनाए, अर्गानिक खानेकुरा दिए तर पढेलेखेका हामीले न आधुनिक खेती गरेर विदेश निर्यात गर्न सक्यौं न खाद्यान्नमा आत्मनिर्भर हुन सक्यौं, यत्तिका वर्ष हामीले के ग¥यौं, के पढ्यौं, कस्तो मान्छे बनायौं हामीले ? कफी जस्तो धेरै सम्भावनायुक्त क्षेत्रलाई उपेक्षा गरेको भन्दै उनले निजीक्षेत्रलाई कफीमा लगानी गर्न आग्रहसमेत गरे । जसका लागि सरकारले पूर्वाधार तयार गरिदिने पनि उनले बताए । सरकारले कफीक्षेत्रको प्रवद्र्धनका लागि सडक, विद्युत्, अध्ययन अनुसन्धान, तालिमलगायत पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाइ छ । साथै उनले कफीक्षेत्रको प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षदेखि विशेष बजेटको व्यवस्थाका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत जनाएका छन् ।

महŒवपूर्ण कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्रीका साथै निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाको उपस्थिति नदेखिएको भन्दै उनले असन्तुष्टि प्रकट गरेका थिए । कार्यक्रममा उपस्थित कृषि तथा पशुपक्षी विकासराज्यमन्त्री रामकुमारी चौधरीले भने कफीको उत्पादन बढाउन प्रधानमन्त्री कृषि अधुनिकीकरण आयोजनाअन्तर्गत कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएकी थिइन् । सो अवसरमा कफी विज्ञ बद्रीप्रसाद बस्ताकोटीले कफीको विश्वव्यापी माग र अवस्था विषय कार्यपत्र प्रस्तुत गरेका थिए । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमको सभापतित्वमा भएको कार्यक्रममा बोर्डका निर्देशक दीपक खनाल, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले व्यापारघाटा न्यूनीकरणका लागि गुणस्तरीय कफी उत्पादन र बजारीकरणमा जोड दिएका थिए । 

बोर्डका अनुसार नेपालमा कफी खेतीको सुरुवात लगभग ८० वर्षअघि वि.सं. १९९५ सालमा गुल्मी जिल्लाबाट भएको थियो । देशका सीमित जिल्लामा किसान स्वामित्वका थोरै जग्गामा न्यून पुँजी लगानी गरी लगाइँदै आएको कफी रोपणलाई व्यावसायिक बनाउने प्रयास हुँदै आएको छ । किसानको सीमित स्रोतसाधन र लगानीबाट प्रतिवर्ष उत्पादन भइरहेको करिब १३ मेट्रिक टन ‘स्पेसियालिटी कफी’ आन्तरिक खपत तथा विश्वबजारमा उच्चमूल्यमा बिक्री हुँदै आएको छ । तथापि, विश्वबजारको मागको तुलनामा नेपाली कफीको उत्पादन अत्यन्तै न्यून रहेको छ । गतवर्ष विश्व कफी गुणस्तर परीक्षण प्रक्रियामा प्रवेश गरेको नेपालको कफीले ९० अंक प्राप्त गरेको थियो । जसबाट नेपाली कफी उच्च गुणस्तरीय रहेको पुष्टि भएको छ । गुणस्तर बोर्डले हालै अध्ययन गरी प्रकाशित गरेको ‘एनालाइसिस अफ हयाविटाट सुटेवलिटी अफ नेपाल’ नामक प्रतिवेदनमा पनि नेपाल कफी खेतीको प्रचुर सम्भावनाको मुलुक भएको उल्लेख छ । हालको अवस्थाबाट कफीक्षेत्रलाई व्यावसायिकतामा रूपान्तरण गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको ठहर गर्दै बोर्डले नेपाल सरकार, निजीक्षेत्रका स्थापित व्यावसायिक प्रतिष्ठान, किसान, सहकारी, गैरआवासीय नेपाली संघसंगठन तथा गैरसरकारी क्षेत्रका संस्थाबीच एउटै साझा मञ्चमा छलफल गरी नेपाली कफीको प्रवद्र्धनका सम्मेलनको आयोजना गरिएको बोर्डले जनाएको छ ।

सम्मेलन नीतिगत पक्षमा छलफल गर्दै खासगरी कफी रोपणलाई देशव्यापीरूपमा लैजान सम्पूर्ण साना एवं ठूला लगानीकर्तालाई राज्यस्तरबाट सहजीकरण र सम्बोधन गर्ने कुराप्रति केन्द्रित रहने बताइएको छ । साथै कफी व्यवसायले सामाजिक, आर्थिकरूपमा खेल्ने भूमिका, विकसित मुलुकको राष्ट्रिय अर्थतन्त्रमा कफी योगदान, कफीसँग सम्बन्धित स्वदेशी तथा विदेशी विज्ञहरूको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । विश्वबजारमा ६ हजारदेखि ८ हजार मेट्रिकटन कफीको माग भए पनि नेपालमा वार्षिकरूपमा करिब ५ सय मेट्रिकटन मात्रै उत्पादन हुँदै आएको छ ।


Views: 219