25th May | 2019 | Saturday | 3:20:57 AM

एनसेलसँग कर नअसुल्न अन्तरकालीन आदेश : दुई पक्षबीच छलफल २४ गते

हिमालय टाइम्स   POSTED ON : बैशाख १३, २०७६ (६:३३ AM)

एनसेलसँग कर नअसुल्न अन्तरकालीन आदेश : दुई पक्षबीच छलफल २४ गते

काठमाडौं । सर्वोच्च अदालतले एनसेलसँग तत्काल कर असुल नगर्न ठूला करदाता कार्यालयलाई आदेश दिएको छ । सो कार्यालयले निर्धारण गरेको करप्रति असहमति जनाउँदै एनसेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार तत्काल कर असुल उपर नगर्न र नगराउन अन्तरकालीन आदेश जारी गरेको हो ।

ठूला करदाता कार्यालयले एनसेलमाथि कर, जरिवाना र ब्याजसहित जम्मा साढे ६२ अर्ब रुपैयाँ कर निर्धारण गरी सात दिनभित्र उक्त रकमको बाँकी अंश ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार चुक्ता गर्न वैशाख ३ गते निर्देशन दिएको थियो ।

ठूला करदाता कार्यालयको निर्देशनपछि एनसेलले पुँजीगत लाभकर बुझाउने तर कर निर्धारण नियम विपरीत र बढी भएको जिकिर गर्दै वैशाख ९ गते रिट दायर गरेको थियो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कर निर्धारणको निर्णय थयास्थितिमा राख्न अल्पकालीन आदेश दिँदै दुवै पक्षलाई वैशाख २४ गते छलफलका लागि बोलाएको छ । त्यतिन्जेलसम्म एनसेलसँग कर असुल नगर्न इजलासले ठूला करदाता कार्यालयलाई आदेश दिएको हो ।

एनसेलले ठूला करदाता कार्यालयबाट समयमै कर निर्धारण नहुँदा कति रकम बुझाउने भन्ने टुंगो नभएकाले कर बुझाउन नपाएको जिकिर गरेको छ । ठूला करदाता कार्यालयले कर नतोकेका कारण दाखिला गर्न ढिला भएबापत आफूसँग ब्याज र जरिवाना असुल गर्नु न्यायसंगत नहुने उसको जिकिर छ ।

सर्वोच्चले चैत २६ गते एनसेललाई तीन महिनाभित्र पुँजीगत लाभकर बुझाउन आदेश दिएपछि ठूला करदता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ कर निर्धारण गरेको थियो । अहिलेसम्म कर नबुझाएका कारण मुख्य कर अंकमा थप ५० प्रतिशतले हुन आउने १८ अर्ब ३३ करोड ७ लाख ३६ हजार ७२३ रुपैयाँ जरिवाना र ८ अर्ब ३९ करोड ८ लाख १२ हजार ३४२ रुपैयाँ ब्याजसहित साढे ६२ अर्ब कर निर्धारण भएको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९०० र विलम्ब शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ ठूला करदाता कार्यालयमा बुझाइसकेको छ । 

एनसेलको जिकिरअनुसार टेलिया सोनेराले एक्जिएटालाई १ खर्ब ४४ अर्ब ७८ करोड २५ लाख ६ हजारमा एनसेल बेचेको थियो । टेलियाले १ अर्ब १२ करोड ८८ लाखमा एनसेल लिएको थियो । टेलियाको लागत मूल्य उसले बेचेको मूल्यमा घटाउँदा हुन आउने १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार रकम एनसेलबाट टेलियालाई भएको पुँजीगत लाभ अर्थात नाफा भएको एनसेलको तर्क छ । एनसेल बेच्दा सरकारलाई पूँजीगत लाभको २५ प्रतिशत कर तिर्नुपर्ने जिकिर गर्दै उसले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार पाँच सय रुपैयाँ नै वास्तविक कर हुन आउने दाबी गरेको छ । 

यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार भ्रातृ संगठनहरूले एनसेलको सिम प्रयोग नगर्न अपिल गरेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), युवा संघ नेपाल र वाइसीएल नेपालले संयुक्त विज्ञप्ति निकालेर एनसेलले राज्यलाई तिर्नुपर्ने लाभकर नतिरेको भन्दै सिम प्रयोग नगर्न अपिल गरेका हुन् ।

ती संगठनहरूले २४ घण्टाभित्र कर नतिरे एनसेलविरुद्ध दबाबका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएका छन् ।


Views: 172