25th May | 2019 | Saturday | 3:38:55 AM

टेलिकमको विद्यार्थी अफर

हिमालय टाइम्स   POSTED ON : बैशाख १३, २०७६ (६:५९ AM)

टेलिकमको विद्यार्थी अफर

काठमाडौं । नेपाल टेलिकमले एसइइ दिएका र अन्य विद्यार्थीका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले एसइइ दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि ‘विद्यार्थी अफर’ निरन्तरता दिइएको हो । 

अफरअन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालुको सिम निःशुल्क उपलब्ध गराइनेछ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिनेछ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिनेछ । यी सबै सुविधा ३० दिनभित्र उपयोेग गरिसक्नुपर्नेछ । 

त्यसैगरी सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसका रूपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध हुनेछ । यो सुविधाको समयावधि ७ दिनको हुनेछ । 

रजिष्टार गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिनेछ । रिचार्जपछि यो सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

अफरअन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिनेछ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्षसम्म उपलब्ध हुनेछ । 

एसइइका विद्यार्थीहरूले सिमका लागि विद्यालयको आइडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनुपर्नेछ भने उच्च मावि र सोभन्दा माथिका विद्यार्थीले नागरिकताको प्रमाणपत्र, फोटो र कलेजको परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउनुपर्ने नेपाल टेलिकमले जनाएको छ । 


Views: 164