25th May | 2019 | Saturday | 2:59:39 AM

मर्जरमा जाने बीमा कम्पनीलाई प्रोत्साहन

हिमालय टाइम्स   POSTED ON : बैशाख ३१, २०७६ (९:०३ AM)

मर्जरमा जाने बीमा कम्पनीलाई प्रोत्साहन

काठमाडौं । विमा समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका २०७६ जारी गरेको छ । बीमक गाभ्न वा गाभिन निवेदन दिनुपर्नेछ । जीवन बीमा व्यवसाय गर्ने बीमकले समान प्रकृतिको बीमा व्यवसाय गर्ने कुनै अर्को बीमकमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले समान प्रकृतिको बीमा व्यवसाय गर्ने कुनै अर्को बीमकमा गाभ्न वा गाभिन चाहेमा दुई वा सोभन्दा बढी बीमकले आ–आप्mनो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक सहमतिका लागि समितिमा संयुक्तरूपमा निवेदन दिनुपर्नेछ ।

गाभ्ने, गाभिने तथा प्राप्तिका लागि स्वीकृति प्राप्त बीमकलाई गाभिएको वा प्राप्ति गरेकै कारणले निर्देशनमा उल्लेखित र समितिले जारी गरेका अन्य निर्देशन पूरा गर्न कठिनाइ भए आवश्यकता र औचित्यको आधारमा समितिले तोकेअनुसार छुट दिन सक्नेछ । गाभ्ने, गाभिने तथा प्राप्तिअघि बहाल रहेको बीमकका प्रमुख कार्यकारी अधिकृतको हकमा कुलिङ पिरियड लागू हुनेछैन । दुई वा दुईभन्दा बढी बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने कार्य गर्दा बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्तापुँजी अपुग हुन गएमा एक वर्षसम्मको अवधि प्रदान गर्न सकिनेछ । बीमकलाई गाभेको कारणबाट गाभ्ने बीमकको शेयर संरचनामा कुनै एक व्यक्ति, समूह वा संस्थाको नाममा चुक्तापुँजीको १५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व कायम हुन गएमा त्यस्तो शेयर स्वामित्वलाई १५ प्रतिशतको सीमाभित्र ल्याउन दुई वर्षसम्मको अवधि प्रदान गरिनेछ । बीमक गाभिएकै कारण गाभ्ने बीमकको वार्षिक व्यवस्थापन खर्च तोकिएको सीमाभन्दा बढी भएमा आवश्यक छुट दिन सकिनेछ । गाभिएकै कारण गाभ्ने बीमकको सञ्चालक समितिमा समानुपातिक प्रतिनिधित्व रहन नसक्ने अवस्था भएमा समितिको स्वीकृति लिएर बढीमा दुईजना व्यक्तिलाई सञ्चालकसरह सुविधा पाउनेगरी दुई वर्षसम्म सल्लाहकार नियुक्त गर्न सकिनेछ । एकापसमा गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने अवस्थामा बीमालेखको अवधिसम्मका लागि छुट प्रदान गर्न सकिनेछ भने त्यस्तो बीमालेखमा एक वर्षसम्म सहबीमामार्पmत कुल बीमालेखको ३० प्रतिशतसम्म अंश धारण गर्न स्वीकृति प्रदान गर्न सकिनेछ । दुई वा दुईभन्दा बढी बीमक एकापसमा गाभिए वा प्राप्तिपछि नयाँ बीमकका रूपमा स्थापना हुने अवस्थामा गाभ्ने, गाभिने तथा प्राप्ति हुने बीमकमा कार्यरत प्रमुख कार्यकारी नयाँ बीमकमा प्रमुख कार्यकारी हुँदा निजका लागि पहिलो कार्यकाल गणना हुनेछ । समितिले जारी गरेको लगानी निर्देशिका २०७५ को सीमा फरक पर्न गएमा एक वर्षभित्रमा लगानीको सीमाभित्र ल्याउनुपर्नेछ भने बीमकहरू एकापसमा गाभिए वा प्राप्तिपछि त्यस्तो बीमकको सल्भेन्सी मार्जिन समितिले तोकेको सीमाभन्दा कम हुन गएमा आगामी एक वर्षसम्म सीमाभित्र ल्याउनुपर्नेछ ।

छानविन गर्दा बीमक गाभ्दा वा गाभिँदा  वा प्राप्ति गर्दा बीमाक्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको वातावरण, कुनै बीमकको एकाधिकार वा नियन्त्रित अभ्यास कायम हुनसक्ने, नसक्ने तथा समग्र बीमकको संरचना, वित्तीय अवस्था तथा बीमितलाई गम्भीर असरपर्ने सम्भावना तथा गाभिएपछिको बीमकमा उल्लेख्य स्वामित्व कायम हुने संस्थापक बीमकको उपयुक्तता परीक्षणसमेत गरी समितिले बीमकलाई एकापसमा गाभ्न, गाभिन तथा प्राप्ति गर्न सर्त वा सीमा तोकी अन्तिम स्वीकृति दिन सक्नेछ । तर, स्वीकृति दिन उपयुक्त हुने नदेखिएमा समितिले कारण खुलाई सोको जानकारी ४५ दिनभित्र सम्बन्धित बीमकलाई दिनेछ । 

निर्देशिकाका अनुसार बीमक एकापसमा गाभ्नु, गाभिनुको आवश्यकता तथा औचित्य, सोबाट बीमा क्षेत्रमा पर्ने असरको सामान्य प्रक्षेपण, गाभ्ने र गाभिने बीमकको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षणको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, खुद सम्पत्तिलगायत वित्तीय विवरणसहितको लेखापरीक्षकको प्रतिवेदन, गाभ्ने र गाभिने बीमकले कर्जा लिएका साहुको हित सुरक्षार्थ गरिएको व्यवस्था, गाभिने बीमकको चल अचल सम्पत्ति र दायित्वको भुक्तानी अवधिसहितको यथार्थ विवरण, गाभ्ने र गाभिने बीमकका कर्मचारीको व्यवस्थापनको विवरण, गाभ्ने र गाभिने प्रयोजनका लागि प्रचलित कम्पनी तथा धितोपत्रसम्बन्धी कानुनबमोजिमको स्वीकृति प्रक्रिया, बीमकले गाभ्ने, गाभिनेसम्बन्धी गरेको प्रारम्भिक सम्झौतापत्र र समितिले तोकेका अन्य विषयको विवरणसहित निवेदन दिनुपर्नेछ । प्राप्ति गर्ने कार्यअन्तर्गत कुनै पनि जीवन बीमा व्यवसाय गर्ने बीमकले समान प्रकृतिको कार्य गर्ने अर्को बीमक तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले समान प्रकृतिको कार्य गर्ने अर्को बीमक प्राप्ति गर्न चाहेमा सम्बन्धित दुई वा सोभन्दा बढी बीमकले आ–आप्mनो साधारणसभाको विशेष प्रस्तावबमोजिम आ–आप्mनो सञ्चालक समितिबाट निर्णय गरी सैद्धान्तिक सहमतिका लागि समितिमा संयुक्तरूपमा निवदेन दिनुपर्नेछ ।

बीमक प्राप्तिको आवश्यकता तथा औचित्य, सोबाट बीमा प्रणाली तथा बीमा क्षेत्रमा पर्ने असरको सामान्य प्रक्षेपण, मूल बीमक तथा लक्षित बीमकको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण, खुद सम्पत्तिलगायत वित्तीय विवरणसहितको लेखापरीक्षकको प्रतिवेदन, मूलबीमक तथा लक्षित बीमकका कर्मचारीको व्यवस्थापनको विवरण, प्रचलित कम्पनी तथा धितोपत्रसम्बन्धी कानुनबमोजिम स्वीकृत प्रक्रिया, बीमक प्राप्ति सम्बन्धमा गरेको प्रारम्भिक सम्झौतापत्र र समितिले तोकेका अन्य विवरणसहित निवेदन दिनुपर्नेछ । समितिले प्राप्त निवेदनउपर छानविन गर्नेछ र छानविनका क्रममा समितिले आवश्यकताअनुसार निवेदकसँग छलफल गर्न र थप कागजातसमेत माग गर्न सक्नेछ । बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्राप्त निवेदनउपर छानविनबाट बीमक गाभ्दा वा गाभिँदा वा बीमक प्राप्ति गर्दा राष्ट्रको बीमा तथा वित्तीय प्रणालीको विकास, स्वच्छ प्रतिस्पर्धा तथा प्रचलित कानुनको पालनामा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने कुरामा बीमा समिति सन्तुष्ट भएमा त्यस्तो बीमकलाई गाभ्ने वा गाभिने वा बीमक प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन समितिले सैद्धान्तिक सहमति दिन सक्नेछ । सैद्धान्तिक सहमति प्राप्तिपछि त्यस्ता बीमकले आ–आप्mनो सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गर्न कम्तीमा बीमकको लेखापरीक्षण गर्न योग्य रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई आपसी सहमतिमा मूल्यांकनकर्ता नियुक्त गरी सो को जानकारी समितिलाई दिनुपर्नेछ तर जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा सम्पत्ति र दायित्वको मूल्यांकनअघि अनिवार्यरूपमा बीमांकीय मूल्यांकन गर्नुपर्नेछ । बीमकले प्राप्ति गर्ने सैद्धान्तिक सहमतिपछि लक्षित बीमकले आप्mनो सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो मूल्यांकन गर्न आप्mनो साधारणसभाबाट नियुक्त वा साधारणसभाको अख्तियारीबमोजिम सञ्चालक समितिले नियुक्त गरेको लेखापरीक्षकबाट सम्पत्ति र दायित्व तथा कारोबारको पछिल्लो अवधिको मूल्यांकन गराउनुपर्नेछ तर जीवन बीमा व्यवसाय गर्ने बीमकको हकमा सम्पत्ति, दायित्वको मूल्यांकनअघि अनिवार्यरुपमा बीमांकीय मूल्यांकन गर्नुपर्नेछ । बीमकले लक्षित बीमकको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन गराउन सक्नेछ । मूल्यांकनकर्ताको काम कारबाही विश्वसनीय नलागेमा समितिले निजलाई हटाई अर्को मूल्यांकनकर्ताको नियुक्त गर्न सम्बन्धित बीमकलाई आदेश दिन सक्नेछ । मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व, खुद सम्पत्ति तथा समग्र कारोबारको मूल्यांकन गर्दा सो सम्बन्धमा स्थापित मान्यता, आधार र विधिबमोजिम गर्नुपर्नेछ । सम्पत्ति तथा दायित्व मूल्यांकन गर्ने विधि, मूल्यांकनका आधार र क्षेत्रका सम्बन्धमा समितिले आवश्यक निर्देशन दिन सक्नेछ ।


Views: 64